लगातार १२६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ तोड्ने बन्दनाको घोषणा

Advertisement

काठमाडौं । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को लागि १२६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् ।

सोमबार पत्रकार सम्मेलन गरेर बन्दनाले १२६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको लागि आफू तयार रहेको बताइन । नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि बताइन ।

उनले भनिन्, ‘म सानैदेखि नृत्यकर्ममा रुचि राख्ने माान्छे हुँ । आजको दिनसम्म म यसै क्षेत्रमा लागिरहेकी छु । हाम्रो सभ्यता र संस्कृतिलाई पश्चिममा संस्कृतिले आक्रमण गरिहरहेको छ । यसलाई हामीले रोक्नुपर्छ । हाम्रो संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ । त्यो कर्तव्य हाम्रै हो । हरेक नेपालीहरुले देशको शीर माथि उठाउने काम गर्नुपर्छ । म आँफैमा ढुक्क छु । तर पनि सम्पूर्ण नेपालीहरुको आशिर्वाद लिएर यस कर्ममा होमिन चाहान्छु ।’

विगत १५ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी बन्दना हाल नयाँ बानेश्वरस्थित चेल्सी इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले आफूमा सानैदेखि गीत, संगीत र नृत्यमा विशेष रुची रहेको पनि सुनाइन् । बन्दनाले थपिन्, ‘जसको फलस्वरुप मैले विद्यालय तहमा नृत्य सिकें । अहिले नृत्य कक्षा खोलेर बसेकी छु । मैले प्रयास गरेकी छु । म सफल हुन्छु ।’

बन्दनाले भनिन्, ‘यूवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक तथा दोहोरी गीत एवं नेपाली लोक संगीतप्रतिको बितृष्णाप्रति मेरो यो प्रयास योग्य सावित हुने आशा लिएकी छु । नेपाली लोकसंस्कृतिलाई विश्वमा चिनाउने र नेपाललाई विश्वमा परिचित गराउने एउटा भगिरगथ प्रयासमा साथ, सहयोग, हौसला र माया गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु ।’

Advertisement

Advertisement

Advertisement