एक महिनाभित्र सिन्धुपाल्चोकको लार्चा सुक्खा बन्दरगाह तयार हुने

Advertisement

काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महिनाभित्र तयार हुने भएको छ। नेपाल–चीन द्विपक्षीय सम्झौता भएर विसं २०६९ बाट निर्माण शुरु गरिएको बन्दरगाह वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि रोकिएको थियो । यो चीन सरकारको एक अर्ब २० करोड रुपियाँको लागतमा निर्माण हुन लागेको हो।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन्। अप्रिल महीनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ।

करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईतले भवन निर्माण गरिएको छ। भवनमा अध्यागमन, भन्सार, बैंक लगायतका कार्यालय रहनेछन्। दोस्रो भवन कर्मचारीको आवास हुनेछ।

मितेरी पुलदेखि छ किलोमिटर पश्चिम भोटेकोशी गाउँपालिकाको लार्चामा बनिरहेको बन्दरगाहमा १५८ ठूला मालवाहक ट्रक र २३ साना गाडी जाँच गर्न सकिने छ। १०० मेट्रिकटनसम्म सामान बोकेका गाडी एकै पटक तौलिन सक्ने मेसिन राखिने समितिले जनाएको छ।

बन्दरगाहमा आयात र निर्यातका लागि छुट्ठाछुट्टै टर्मिनल निर्माण गरिएको छ। बन्दगाहका लागि आवश्यक क्वारेनटाइन, गोदाम घर, जाँचपास याड, चेकपोष्टलगायतका संरचना निर्माण भइरहेका छन् । अरनिको राजमार्गबाट बन्दरगाह जोड्नका लागि भोटेकोशी नदीमाथि पुल निर्माण भइरहेको छ।

चिनियाँ सरकारकै सहयोगमा मितेरी पुलदेखि बन्दरगाहसम्मको सडक स्तरोन्नति भइरहेको छ। नेपाल–चीन जोड्ने मितेरी पुल धमाधम निर्माण भइरहेको छ। योसँगै तातोपानी नाका खुल्ने सुनिश्चित भएको छ। द्विपक्षीय छलफलले मे १ मा नाका खोल्ने मौखिक सहमतिसमेत गरेको छ।

Advertisement

Advertisement

Advertisement