भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया बोलाएर सम्मेलन गछौंः बाँस्कोटा

Advertisement

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताएका छन् ।

मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशनमा शनिबार बनेपामा बोल्दै भ्रमण वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने बताए । उनले भने, “भ्रमण वर्षका अवसरमा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई पार्टनर बनाएर अन्तर्राष्ट्रिय मिडिया समिट गर्नेछ ।”

बाँस्कोटाले होटल तथा पर्यटन व्यवसायीलाई मिडिया समिटका लागि सरकारसँगै ‘लिड गर्न’ पनि आग्रह गरे । उनले भने, “भिजिट ट्वान्टी ट्वान्टी भनेर तपार्इंहरु पनि लिड गर्नुस्, पक्कै सफल भइन्छ ।” बाँस्कोटाले सन् २००८ मा थाइल्याण्डमा भएको बाढीको उदाहरण दिँदै त्यतिबेला थाइल्याण्ड सरकारले अन्तर्राष्ट्रिय मिडिया समिट गर्दा खस्केको पर्यटन क्षेत्रमा व्यापक मात्रामा परिवर्तन भएको स्मरण गराए । उनले भने, “प्राकृतिक प्रकोप त जहाँ पनि हुनसक्छ, हामीले त्यसको सामना गर्ने हो ।”

मन्त्री बाँस्कोटाले भ्रमण वर्षका लागि सरकारले औपचारिकरूरुपमा मात्रै रु १० करोड छुट्याएको बताए । उनले भने, “भ्रमण वर्षका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायतले सहयोग गर्नेछन्, हामी सबै भ्रमण वर्ष सफल पार्न आ–आफ्नो क्षेत्रबाट जुट्नुपर्दछ ।”

मन्त्री बाँस्कोटाले ठूला होटलको अवधारणा ल्याउनेका लागि सरकारले सडक, बिजुली, इन्टरनेटलगायत पूर्वाधारको विकास गर्ने बताए । उनले भने, “ठूला होटल तथा पर्यटकीय संरचना तयार गर्न चाहनेलाई सरकारले आरक्षण क्षेत्रबाहेक उपयुक्त स्थानमा लिजमा पनि जमीन दिनसक्छ, योजना बनाएर आउनुहोस् ।”

Advertisement

Advertisement

Advertisement