काठमाडौं । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको खुलासा भएको छ । न्यायका लागि १२ वर्षयता कानुनी लडाईं लड्दै आएका मृतक ओसी अख्तरका ससुरा समसुल मियाँले राज्यको सबै निकायलाई घटना लुकाउन र दोषीलाई उन्मुक्ति दिन दुरुपयोग गरेको खुलासा गरेका हुन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै मियाँले जतिसुकै समय लागेपनि सत्यको जीत हुने बताउँदै दोषीलाई कारबाही गराएरै छाड्ने बताए । उनले भने, ‘राज्य नै घटना लुकाउन र दोषीलाई बचाउन लागेको प्रमाण मसँग छ ।’ तत्कालिन सरकार, प्रहरी प्रशासन सबै मिलेर घटना दबाएको मियाँको भनाई थियो ।
उनले भने, ‘म यही मञ्चमा उभिएर न्यायको भीख माग्न आएको थिएँ तर सुनुवाई भएन ।’ १२ वर्ष अगाडि यही घटनाबारे सबैलाई जानकारी गराउँदा पनि कहीं कतैबाट सुनुवाई नहुँदा दोषीले टाउको उठाएर हिंडेको मियाँले बताए । उनले भने, ‘घटनामा महताब आलम, अफताब आलम, शेख भदै (सेराज), कृष्ण लामालगायतको प्रत्यक्ष संलग्नता छ ।’
घटनामा नेपाली काँग्रेसका तत्कालिन संविधानसभा सदस्यका उम्मेदवार अफताब आलमको प्रत्यक्ष निर्देशनमा बम बिष्फोटमा घाइते भएकाहरुलाई जिउँदै ईट्टाभट्टामा हालिएको मियाँले बताए । घटनामा तत्कालिन सशस्त्र प्रहरीका एसपी कृष्ण लामा प्रत्यक्ष संलग्न भएको र रौतहट प्रहरीका प्रमुख एसपी लक्ष्मण न्यौपानेले पनि भूमिका खेलेको उनले आरोप लगाए ।
मियाँले भने, ‘प्रहरी प्रशासनको संलग्नतामा सबै मिलेर ट्याक्टरबाट घाइते बोकेर जलाइएको थियो ।’ घटनाको विस्तृत विवरणबारे जानकारी दिदैं मध्यराततिर राजा ईटाभट्टा पुर्याइएको सुनाए । उनले भने, ‘बोराबाट सिधै ईटा पोल्ने भट्टाभित्र हालेर मारेको हो । त्यहाँ जिवित रहेका व्यक्तिलाई समेत जिउँदै मारिएको छ ।’ हत्या हुँदा सशस्त्रका तत्कालिन एसपी कृष्ण लामा पनि राजा ईंट्टा भट्टामै रहेको मियाँको दाबी छ ।
घटनाबारे आफुसँग प्रशस्त प्रमाण रहेको जनाउँदै उनले सो प्रमाणहरु अनुसन्धानमा सघाउन प्रहरीलाई सबै दिइसकेको बताए । मियाँले घटना भएको समयमा आफू सर्लाहीमा भए पनि घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको, तर प्रशासनले बिष्फोट भएको ठाँउमा जान नदिएको खुलाए । उनले भने, ‘आफ्नो मान्छे मारिएको भन्दा पनि हामीलाई घटनास्थलसम्म पुग्न दिइएन । रातभर गहँुबारीमा लुकेर हेरेर बसें ।’ घटनामा एक एक गरेर ईंट्टाभट्टामा मानिसलाई जिउँदै हालेको देखेको मियाँले सुनाए । केही घाइते भाग्न सफल भएको उनको भनाई छ ।
घाईतेमध्ये एक जना अहिले पनि जिवितै रहेको बताउदै मियाँले ती घाइतेबाट प्रमाण जुटाएको बताए । उनले घटनापछि हत्याको सबै दृश्य देखेको सुनाउँदै विहान चार बजेको समयमा गण्डक नहर हुँदै ज्यान जोगाएर भागेको बताए । मियाँले आफ्नो ज्वाईंलाई जिउँदै भट्टामा हालेर मारेको प्रत्यक्ष देख्ने अर्को व्यक्ति पनि जिवितै रहेको बताए ।
मियाँले भने, ‘मेरो ज्वाईं र श्रीनारायणको छोरो पिन्टु सिंह भन्ने व्यक्ति बमबिष्फोट भएको ठाँउ बाहिर रहेको भएको तथा उनीहरु घाइते मात्रै भए पनि त्यही उपचार गराउने बहानामा बेहोस बनाउने सुई लगाएर मारिएको हो ।’ उनले भने ‘बेहोसी अवस्थामै बोरामा हालेर इटा भट्टामा हालेर मारिएको हो ।’
ज्वाईंको अवस्थाबारे जानकारी लिन खोज्दा उल्टै आफूहरुलाई ज्यान मार्नेसम्मको धम्की आएको उनले बताए । मियाँले आफ्नो ज्यानसम्बन्धी खतरा बढदै जाँदा न्यायको आशा मारिसकेको बताउदै उक्त घटनाका घाइतेहरुलाई औषधिउपचार गराएको भए बाँच्ने सम्भावना रहेको बताए ।
उनले भने, ‘सोही घटनामा घाइते भएकाहरुले पनि घटना भएको भन्दै साविती बयान दिईसकेको छ ।’ मियाँले भने, ‘उपलब्ध प्रमाणको आधारमा उचित न्यायको माग गरेका छौ । ’
विष्फोटबाट भत्केको घर निमार्ण गरेर पूरानो देखाउन राता–रातगाँउकै मान्छेलाई प्रयोग गरेको समेत उनको भनाई रहेको छ । मियाँले अहिले उक्त घर निर्माण गर्ने मिस्त्रीले समेत विष्फोटबाट भत्केको घर निर्माण रातको समयमा आफूहरुले गरेको भन्दै बयान दिईसकेको सुनाए ।
उनले भने, ‘घर बनाउने मिस्त्रीले नयाँ घरलाई पूरानो देखाउन माकुराको जालो तथा गहुँको भुसको प्रयोग गरेको र ईंट्टाभट्टाभित्र लास देखेको बयानमा बताइसकेको छ ।’ घटनालाई लुकाउन आफू र आफ्नो परिवारलाई पनि लोभ लालच, डर त्रास देखाएको उनले सुनाए । मायाँले भने, ‘मेरो निर्दोष ज्वाईंको हत्या गर्ने अपराधीहरुसँग सम्झौता गर्दिन भनेर १२ वर्षयता न्यायका लागि लडिरहेको छु ।’
यसैगरी, २०६४ साल १२ महिना २७ गते रौतहटको राजपुर फरदवा साविकको राजपुर नगरपालिकामाभएको बम विष्फोटको घटनामा आफ्नो ज्वाईं ओसी अख्तरलगायतको निर्मम तरिकाले हत्या भएको भन्दै मियाँले न्यायको माग गरेका छन् । उनले घटनाको सत्य–तथ्य छानविन भएमा सबै छर्लंग हुने बताए ।
घटनामा १८ जनाले अनाहकमा ज्यान गुमाएको भन्दै उनले पीडितलाई न्याय र अपराधीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने बताए । मियाँले आफू जिउँदो रहुन्जेलसम्म न्यायको लडाईमा लागिरहने जनाउँदै घटना भएको केही दिनभित्रै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गराएपछि घटनाबारे राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, संयुक्त राष्ट्र संघलगायतले चासो देखाएको बताए ।
पत्रकार सम्मेलनमार्फत घटनाबारे अन्तर्राष्ट्रिय चासो बढ्दै जाँदा इन्सेकमा कार्यरत मिस सोनिया, नेपालबार एशोसियसनका दिपेन्द्र झालगायतमाथि आरोपी महताभ आलमले हातपात गरेको समेत मियाँले बताए ।
प्रशासनले चिम्नीको मोटो परिक्षणको लागि लगेको जानकारी पाए पनि कुन चिम्नी ?, कहाँको चिम्नीबाट माटो लगेको हो ? आफूहरुलाई थाहा नभएको समेत मियाँले बताए ।आफूसँग बम विष्फोटका घाइतेबारे पनि प्रमाण रहँदा अहिलेसम्म प्रशासनले प्रमाणित नगरेको उनले बताए । हालसम्म आफूहरुले न्याय नपाउनुको पछाडि राजनीतिक चलखेल रहेको जनाउँदै पीडित मियाँले राजनीतिक दबाब कै कारण प्रमाणलाई नष्ट गर्ने प्रयास भएको आरोप लगाए ।