२० हजार घुस लिने मालपोतका सुब्बा विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ । सेवाग्राहीसँग २० हजार घुस लिने मालपोत कार्यालय काभ्रेपलाञ्चोकका नायव सुव्बा रोसकाजी जस्पाउ विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार उनी बिरुद्ध मुद्दा दर्ता गरेको हो ।

नायव सुव्बा जस्पाउले खरिद बिक्री भएको जग्गाको राजस्व र लाभकरसमेत दाखिला गरी जग्गाधनी प्रमाण पूर्जा लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले बीस हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा उनले खरिद बिक्री भएको जग्गाधनी प्रमाणपूर्जा लिने प्रयोजनको लागि गएका सेवाग्राहीलाई राजस्व, लाभकर संकलन एवम् लिखत पारित लगायतको काम गरेको भनी नियमानुसार गरिसकेको कामको लागि विभिन्न वरबहाना बनाई घुस रकम माग गरी अप्ठेरोमा पारी घुस दिन बाध्य बनाई सेवाग्राहीबाट घुस लिएको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

आयोगका प्रवक्ता कोइरालाका अनुसार निज राष्ट्रसेवक कर्मचारीले घुस लिएको स–प्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो २० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन माग दाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

Advertisement

Advertisement

Advertisement