अमानवीय ढंगले युद्धभन्दा चर्को नाकाबन्दी गरियोः सीपी मैनाली, ‘अब बहुद्धार प्रणालीमा जान्छौं’

Advertisement

काठमाडौं । उपप्रधानमन्त्री एवं महिला, बालवालिका तथा समाज कल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले भारतको आघोषित नाकाबन्दी नेपालबाट तराई टुक्राउने पहिलो चरण भएको दावी गरेका छन । 

रिपोर्टर्स क्लब शनिवार उनले समग्र मधेस एक प्रदेश वा दुई प्रदेश भने पनि मधेसलाई नेपालबाट डिस इन्ट्रीगेसन गरेर आफू तर्फ गाभ्ने डरलाग्दो योजनाको पहिलो चरण भएको भन्दै यो नेपाल भारत दुबै मुलुकको स्थिरताको हितमा नभएको दावी गरे । 

Advertisement


उपप्रधानमन्त्री मैनालीले भने,‘ईन्दीरा गान्धीको शासनकालमा सन् १९७५ मा ‘रअ’का प्रमुख रहेका आरके यादवले लेखेको पुस्तकमा त्यसबेलामा नेपालबाट तराईलाई छुट्याउन लागेको भनि लेखेका छन । त्यो सत्य होइन भने भारतले त्यसको खण्डन गर्नु पर्दथ्यो, यादवलाइई देशद्रोहको मुद्दा लगाएर जेलमा हाल्नु पर्दथ्यो तर त्यो भारतले अहिलेसम्म नगरेकोले हामीले त्यही नै सत्य हो भन्ने बुझ्नु पर्छ ।’


उनले त्यही ढंगले अहिले भारत अघि बढे यसले नेपाल र भारतमा नभई विश्वमै अशान्ति ल्याउने चेतावनी दिए । उनले मधेसमा दुई प्रदेश दिए नेपाल खण्डित हुने दावी गर्दै  यो कुनै पनि हालतमा दिन नहुने र उनीहरुले मागे जस्तो कैलाली कञ्चनपुर, सुनसरी, मोरङ र झापा मधेस प्रदेशमा दिन नहुने अडान ब्यक्त गरे । 


उपप्रधानमन्त्री मैनालीले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार गठनको बेला मधेसी सहितको गठबन्धन निर्माण गरेदेखि नै अहिलेकै ढंगले काम भईरहेको भन्दै भट्टराई पनि भारतीय स्वार्थ बोकेर हिडिरहेको आरोप लगाए । 

उनले २०४५ सालसम्म आन्दोलनमा सहयोगको नाममा नेपालका राजनीतिक दलहरुले भारतीय क्याप्सुमा के छ भनि हेर्दा समेत नहेरी खाएको र अहिलेका मधेसबादी दलहरुले त्यही क्याप्सुल खाइरहेको उल्लेख गर्दै यसले मधेसवादी दलहरुलाई नै हित नगर्ने भएकोले गलत भएको टिप्पणी गरे । 

उपप्रधानमन्त्री मैनालीले भने, ‘पहिला पनि यस्तो भएको थियो तर त्यो हामीले राजा विरुद्ध भन्ने बुझ्यौ तर त्यो हाम्रो विरुद्ध रहेछ । यसले अहिले हाम्रो आँखा खोलेको छ ।  हामी नेताहरु भारतले दिएको गाँजा खाएर सुत्यौ र हामी भारतप्रति परनिर्भर भयौ ।’

उनले नेपाल अब भारतमुखी नहुने भन्दै भारतको नाका पनि खोलेर चीन, पाकिस्तान सहितका विभिन्न मित्र राष्ट्रको ढोका खोलेर स्वाभलम्बन अर्थतन्त्र निर्माण गरेर अघि बढ्ने स्पष्ट पारे । मन्त्री मैनालीले भने, ‘हामी भारतको नाका बन्द गरेर चीन तिर जाने होईन । भारतको पनि खोल्ने अरुको पनि खोल्ने हो । चीनसँग स्थायीरुपमै द्धार खोल्छौ अब नेपाललाई बहुद्धार बनाउने हो ।’

स्थलमार्गदेखि सबै माग प्रयोग गरेर अहिलेको अभाव टार्न सरकारले प्रयत्न गर्ने भन्दै आवश्यक परे हवाई जहाज प्रयोग गरेर भए पनि तेल ल्याएर नेपाली जनतालाई उपलब्ध गराउने दृढता ब्यक्त गरे । उपप्रधानमन्त्री मैनालीले संविधानमा हस्तक्षेप र नाकाबन्दी राजनीतिक प्रहार भएको भन्दै अहिले मधेस आन्दोलनको नाममा आएका कुरा थोरै मधेसी जनताको र धेरै भारतको हितमा रहेको दावी गरे । 

उनले अहिलेको अवस्थाले नेपाल र भारतको सम्बन्ध र सहयोगमा पुर्नमुल्याङकन आवश्यक रहेको धारणा राख्दै नेपालको संविधान संशोधनको लागि नेपालमै उचाल्ने पछार्ने काम गर्नु आपत्तिजनक भएको टिप्पणी गरे ।

भारतले घोषित ढंगले नाकाबन्दी गर्न नसक्ने भएकोले मधेस केन्द्रीत दलहरुलाई प्रयोग गरेर नेपालमा असुरक्षा छ भनेर आपूर्ति बन्द गर्ने काम अन्यायपूर्ण भएको भन्दै उपप्रधानमन्त्री मैनालीले  अब नेपालले यो घटनालाई अन्तर्राष्ट्रियकरण गरेर भारतभित्रकै नेपालका मित्रहरुसँग पनि कुरा गर्नु पर्नेमा जोड दिए । 

उनले भने,‘नाकाबन्दीको विषयमा भारतसँग दह्रो ढंगले कुटनीतिक वार्ता गर्नु पर्छ तर भारतसँग नेपालको आन्तरिक मामिलामा कुरा गर्नु हुँदैन । भारतले विनाकारण, गौरकानूनी ठहर हुने गरी अमानवीय ढंगले यूद्ध भन्दा चर्को नकाबन्दी गरको छ ।’

उनले प्रधानमन्त्रीले हदैसम्म लचिलो भएर न्यायोचित मागलाई संबोधन गर्ने गरी सहमति जुटाउन राजनीतिक सहमति बनाउने कुरालाई समेत अगाडि बढाउन निर्देशन दिएको भन्दै नेपाललाई अहित नगर्ने गरी मधेसीको चासो संबोधन गर्न भनेको सुनाए । 

मैनालीले जनसंख्या र भुगोललाई समान महत्व दिएर निर्वाचन क्षेत्र निर्धारण गर्ने र समानुपातिक समावेशीलाई अगाडिबढाउने गरी काग्रेसले पेश गरेको संविधान संसोधन प्रस्तावलाई अगाडि बढाउन आफूहरु तयार रहेको भन्दै पूर्ण जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउन खोजे मुलुकको सबै संरचना भत्किने चेतावनी दिए । उनले भने,‘यस्तो संसारमा कतै पनि हुँदैन र छैन ।’ उनले नाकाबन्दीको आडमा कालाबजारी गर्नेलाई सरकारले कुनै पनि हालतमा नछाड्ने चेतावनी समेत थिए । 

 

Advertisement

Advertisement