नेपाल टेलिकमका पूर्वएमडी सुनिल पौडेलविरुद्ध कीर्ते मुद्दा पनि दर्ता

Advertisement

काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्धक निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्र तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध कीर्ते मुद्दा पनि दर्ता भएको छ । 

यसअघि नै सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका उनीविरुद्ध सरकारी वकिलको कार्यालयले लिखतसम्बन्धी कसुरमा पनि मुद्दा दर्ता भएको हो ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रपछि प्रहरीले कीर्तेसम्वन्धमा उनमाथि अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले पौडेलले कर चुक्ता प्रमाणपत्र कीर्ते गरेको निष्कर्ष निकाल्दै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा २ असोजमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उजुरीपछि अख्तियारले पौडेलको निवासमा छापा मार्ने क्रममा गत माघ १० विभिन्न कागजात बरामद गरेको थियो । बरामद कागजाजमध्ये पौडेलको कर चुक्ता प्रमाणपत्र नक्कली रहेको पाइएको हो । उनले करदाता सेवा कार्यालय पुतलीसडकबाट लिएको भनिएको कर चुक्ता प्रमाणपत्रहरु सक्कली नभएको पुष्टि भएपछि उनीमाथि थप अनुसन्धान र कारवाहीका लागि मुद्दा दायर गरिएको प्रहरीको भनाई छ । 

पौडेलविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ को उपदफा ३ को खण्ड (ग)को कसुर अनुसार कारबाही गर्न माग गरिएको छ । 

Advertisement

Advertisement