तस्करीको सुन भागबण्डा प्रकरणः चार महिना हिरासतमा राखेपछि १२ प्रहरी निर्दोष

Advertisement

काठमाडौं । तस्करीको सुन भागबन्डा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब चार महिना हिरासतमा राखेका १२ प्रहरी निर्दोष देखिएका छन् । गत फागुनदेखि अख्तियारको हिरासतमा रहेका १६ मध्ये चारजनाको मात्रै संलग्नता देखिएको छ । शंकाकै आधारमा सानो मुद्दामा यसरी लामो समय हिरासतमा राख्ने प्रवृत्तिले अख्तियारको अनुसन्धान प्रणालीमाथि प्रश्न उठाएको छ ।

अख्तियारले रसुवास्थित सीमा प्रहरी कार्यालय, टिमुरेका तत्कालीन इन्स्पेक्टर खेम नेपालसहित चारजनाविरुद्ध ५ असारमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अन्य १२ जना प्रहरीलाई मुद्दा चलाउन सक्ने प्रमाण नभएको भन्दै अख्तियारले छाड्ने निर्णय गरेको हो । तस्करीको सुन लुकाउने घटनामा प्रत्यक्ष संलग्नता नदेखिएपछि १२ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उनीहरू ५ असारमा हिरासतबाट छुटेका छन् ।

गत १४ फागुनदेखि अख्यितारले इन्स्पेक्टर नेपालसहित सइ भोजबहादुर सेन वली, असइ रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ, जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्पा मोक्तान र ताराबहादुर प्रजा तथा कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठलाई निलम्बन गरी हिरासतमा लिएको थियो । उनीहरू सबैले तस्करीकोे सुन लिएको अख्तियारको आशंका थियो ।

गत २२ मंसिरमा केरुङबाट नेपाल आउँदै गरेको ना।६ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्दा अवैध सुन बरामद गरिएको थियो । चालक फुर्वा तामाङलाई समेत प्रहरीले पक्राउ गरेको थियो । सुनसहित उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउनुपर्नेमा चालकलाई छाडेका थिए भने सुन आफूहरूले राखेका थिए । बरामद सुन त्यो दिन ड्युटीमा रहेका सबै प्रहरीको मिलेमतोमा बाँडीचुँडी लिएको भन्दै अख्तियारले सबैलाई हिरासतमा लिएको थियो । तर, १२ प्रहरीको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेपछि उनीहरू ५ असारमा छुटेका छन् । घटनामा संलग्न नै नहुँदा पनि यति लामो समय थुनामा राख्दा ठूलो यातना भोग्नुपरेको उनीहरूको गुनासो छ ।

आयोगले इन्स्पेक्टर नेपाल, हवल्दार रामकाजी लामा, पुरुषोत्तम खत्री र रामशरण रिमाललाई मात्र मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ६ लाख ७७ हजार पाँच सय ९९ रुपियाँ बिगो दाबी गरिएको छ । उनीहरूले चार सय २२ ग्राम सुन बरामद गरी हिनामिना गरेको अख्तियारको दाबी थियो, तर मुद्दा दर्ता गर्दा एक सय ११ ग्राम मात्रै पुष्टि भएको जनाएको छ । इन्स्पेक्टर नेपालको निर्देशनमा हवल्दारद्वय रामकाजी र पुरुषोत्तमले सुन काठमाडौंमा बिक्री गरेको र त्यसमा अर्का हवल्दार रामशरण रिमालले सहयोग गरेको तथा अन्यले पैसा लिएको प्रस्ट प्रमाण नदेखिएको आयोगको निष्कर्ष छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement