कोरोनाका बीच पोखरामा आन्तरिक पर्यटक निकै बढे

Advertisement

पोखरा । गत वर्ष हिउँदमा नै फेवा ताल किनारमा पाल्मबिच एन्ड लाउन्ज बार खोल्न यहाँका दुई युवा कम्मर कसेका थिए । बार निर्माण अन्तिम चरण हुँदै गर्दा चैत ११ देखि देशभर बन्दाबन्दी भयो । दुई करोड ३० लाख लगानी डुब्ने पीडा उनीहरूमा थपियो ।

अन्तर्राष्ट्रिय उडान रोकिएपछि पोखराका पर्यटकीय गतिविधि ठप्प बने । विदेशी र स्वदेशीले भरिभराउ हुने पोखरा सुनसान बन्यो । गत चैतदेखि दशैँ, तिहारको मौसममा समेत पोखरामा खासै रौनकता आउन सकेको छैन । विशेष गरेर सधैँ पर्यटकका लागि व्यस्त देखिने लेकसाइड अझै सुनसानजस्तै छ ।

Advertisement

सो रेस्टुरेन्टका सञ्चालक रवि तिमिल्सिना र अभिषेक गुरुङले दशैँ सकिएलगत्तै सञ्चालनमा ल्याए । यस्तो बेला रेस्टुरेन्ट चल्दैन कि भन्ने लागेकामा अहिले सेवा दिन नसकेर हैरान भएको उनीहरूको भनाइ छ । कोरोना भाइरसका कारण आन्तरिक र बाह्य पर्यटक नभएर लेकसाइडका होटल, रेस्टुरेन्ट सुनसान छन् । लेकसाइडबाट नजिकै रहेको यो रेस्टुरेन्ट गुल्जार छ ।

रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हप्ता दिन नपुग्दै यहाँ दैनिक चार सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । रेस्टुरेन्टको क्षमता दुई सय व्यक्तिलाई सेवा दिनसक्ने छ । सञ्चालक रवि तिमिल्सिनाले भने, “हामीले नयाँपन दिएका छौं । त्यसैले आन्तरिक पर्यटकको आगमन बढेको छ । अहिलेको अवस्थामा यस्तो होला भनेर सोचेका पनि थिएनौँ । हाम्रो रेस्टुरेन्टको कुनै टेबल–कुर्ची बिहानदेखि साँझसम्म खाली हुँदैनन् । हामीले ग्राहकलाई सेवा दिन सकिरहेका छैनौँ ।”

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement