काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र विद्यालय खोल्न दिने निर्णय गरेको छ । महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको शिक्षा समितिको बैठकले विद्यालय खुला गर्ने अनुमति दिएको हो ।
निर्णयअनुसार विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यायलय खोल्न पाउनेछन् । विद्यालयको आफ्नो भौतिक पूर्वाधारको अवस्था, विद्यार्थीको संख्या हेरेर स्वास्थ्य सुरक्षाका मापदण्ड तथा विद्यालय सञ्चालन कार्यविधि पालना गर्दै विद्यालय सञ्चालनको निर्णय व्यवस्थापन समिति आफैले गर्न सक्नेछन् ।
मेयर महर्जनले सामुदायिक विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क महानगरपालिकाले उपलब्ध गराउने बताएका छन् । महानगरले विद्यालय सञ्चालनको अवस्था थाहा पाउन अनुगमन समेत गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् ।
ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे पनि यसैसँग जोडिएको काठमाडौं महानगरपालिका भने विद्यालय खोल्न दिने विषयमा अझै मौन देखिन्छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिमपछि विगत नौ महिनादेखि विद्यालय बन्द छन् । विद्यालय बन्द हुँदा हजारौं विद्यालय पढ्न लेख्न पाएका छैनन् । तर, काठमाडौं महानगरपालिका भने अझै पनि पर्ख र हेरको अवस्थामा रहेको छ ।
काठमाडौंमा सबैभन्दा धेरै विद्यालय र विद्यार्थीहरु रहेका छन् । अभिभावकहरु विद्यालय सञ्चालनको निर्णय सरकारले चाँडै गरिदियोस् भन्नृ पक्षमा रहेका छन् । लामो समयसम्म विद्यार्थीहरु विद्यालय जान नपाउँदा विद्यार्थीहरुले पढेको बिर्सिने, गलत क्रियाकलापमा लाग्ने समस्या देखिएको छ ।