काठमाडौं । सन् २०१५ मा नेपालमा महाभूकम्प नआइदिएको भए काठमाडौंको कान्तिपथमा पाँचतारे होटेल सेराटन सञ्चालनमा आएको दुई वर्ष भइसक्थ्यो । गैरआवासीय नेपाली शेष घलेको लगानी रहेको सेराटन सन् २०१८ फेब्रुअरीमा सञ्चालन गर्ने उद्देश्यले तीव्रताका साथ निर्माण भइरहेको थियो ।
तर, भूकम्प र लगत्तै भारतीय नाकाबन्दीले होटेल निर्माणमा अवरोध पुर्याएपछि होटेल सञ्चालनको भाका २०२० को अन्तिमतिर सारियो । तर, यो वर्षको पनि सुरुवातमै सम्पूर्ण मुलुकसँगै नेपालले पनि कोभिड महामारीको सामना गर्नुपरेपछि निर्माणमा फेरि ब्रेक लाग्यो । पुनः सञ्चालन मिति धकेलिएर २०२२ फेब्रुअरी पुगेको छ ।
विभिन्न कारणले होटेल निर्माणमा भइरहेको ढिलाइले लागत बढ्दै गइरहेको एमआइटी ग्रुप होल्डिङ्स नेपालका अप्रेसन म्यानेजर सुरेश चित्रकारले बताए । उनले भने, ‘८ अर्ब लगानीमा निर्माण गर्न सकिने आकलन गरिएको होटेलको लागत भूकम्प र नाकाबन्दीले १० अर्ब पुग्यो । तर, अहिले कोभिडका कारण पुनः लागत बढेर १२ अर्ब पुग्ने अनुमान छ ।’ तीन तला बेसमेन्टसहित २१ तलाको होटेलमा २ सय २२ कोठाहरू हुनेछन् ।
नयाँपत्रिका दैनिकबाट ।