काठमाडौ । नेपालमा नयाँ पुनर्बीमा कम्पनीको प्रक्रिया अघि बढ्दै गर्दा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु उत्साहित देखिएका छन् । विदेशी बीमा शुल्क नेपाल भित्रिने तथा बीमाको जोखिम धारण क्षमतासमेत वृद्धि हुने भन्दै सीईओहरु सकारात्मक भएका हुन् ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीका सीईओ सुधुम्न उपाध्यायका अनुसार नेपालमा पुनर्बीमा कम्पनी भित्रिनु भनेको समग्र बीमा उद्योगकै लागि राम्रो कुरा हो ।
‘नयाँ पुनर्बीमा कम्पनी स्थापना हुनु बीमा उद्योगकै लागि सकारात्मक कुरा हो, पुनर्बीमामार्फत बाहिरका पैसा नेपाल भित्रिन्छन्, नेपाली बिमा क्षेत्रको जोखिम धारण क्षमता पनि बढ्छ, केही कम्पनीले आफ्नो व्यवसाय नेपाल बाहिरकै पुनर्बीमा कम्पनीमा राख्न रुचाउलान, त्यो फेरि फरक पाटो हो तर यहाँ प्रतिस्पर्धा बढ्दै जान्छ,’ उपाध्यायले कर्पोरेट नेपालसँग भने ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ सुरेशप्रसाद खत्रीका अनुसार नेपालमा निजी क्षेत्रले पुनर्बीमा कम्पनी खोल्न सक्रिय रहनु राम्रो कुरा रहेको बताए ।
उनले भने, ‘अहिले निजी क्षेत्र नै नयाँ पुनर्बीमा कम्पनीको पक्षमा हुनुहुन्छ यो राम्रो कुरा हो, अहिलेसम्म बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा आकर्षित भईरहेको अवस्था छ, अब नयाँ पुनर्बीमा कम्पनीको स्थापना भएमा बाहिरका बीमा कम्पनीहरु नेपालमा आकर्षित हुने अवस्था पनि रहन्छ ।’
सीईओ खत्रीले पूर्णरुपमा सबै पैसा नेपालमै नराखिने र पुनर्बीमाका लागि फेरि पैसा बाहिर जाने भए पनि यसको आफ्नै फाइदा रहेको बताए । उनले एकै पटक धेरै वटा पुनर्बीमा कम्पनी ल्याउनुभन्दा पनि एक वा दुई कम्पनी सञ्चालनमा ल्याएर बिस्तारै अन्य कम्पनी थप्नु राम्रो हुने प्रतिक्रिया दिए ।
यस्तै, बीमा विज्ञ तथा प्राध्यापक डा. रविन्द्र घिमिरेका अनुसार पुनर्बीमा व्यवसायले स्वदेशको लोकल बीमा मात्र नभएर अन्तर्राष्ट्रिय बीमा व्यवसाय समेटने भएकाले नयाँ बीमा कम्पनी आउनुलाई सकारात्मक रुपमा हेर्न सकिने बताए ।
‘विगतमा राष्ट्रिय बीमा संस्थान मात्र सञ्चालनमा थियो त्यतिबेला बीमाको पहुँच निकै कम थियो, कम्पनीको बिस्तारसँगै बीमाकै बिस्तार बढ्यो, सरकारी भए पनि नेपाल पुनर्बीमा कम्पनीकोे प्रस्तुती त्यति बलियो छैन् । धेरै कम्पनी आएमा दायरा बढ्छ । एकाधिकार पनि तोडिन्छ’, बीमा विज्ञ घिमिरेले भने ।
उनले एक वा दुईको संख्यामा नयाँ पुनर्बीमा कम्पनी आउँदा बीमा समितिलाई नियमन गर्न असहज नहुने अनुमान गरे । हाल बीमा समितिले ४० वटा कम्पनीको नियमन गर्दै आएको छ । सो संख्यामा एकै पटक धेरै कम्पनी थपिँदा नियमनमा समस्या आउनसक्ने बीमा क्षेत्रका जानकारहरुको सुझाव छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ तथा प्रस्तावित नयाँ पुनर्बीमा कम्पनी काठमाडौं रि–इन्स्योरेन्सका सञ्चालक रमेशकुमार भट्टराइले नयाँ पुनर्बीमा कम्पनी आएमा नेपाल रि–इन्स्योरेन्स (पुनर्बीमा) समेत प्रतिस्पर्धा गर्न र गुणस्तर सुधार्न बाध्य हुने बताए ।
‘तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले स्वस्थ प्रतिस्पर्धासहित व्यवसाय वृद्धि गर्न नयाँ पुनर्बीमा कम्पनी आवश्यक छ भन्नु भएको थियो, अहिलेको नेपाल रीले बजारको अपेक्षाअनुसार काम गर्न सकेको छैन, आगामी दिनमा पुनर्बीमा कम्पनी २ वटा मात्रै भएमा पनि प्रतिपर्धा बढ्ने हाम्रो अनुमान छ, बीमा समितिले हामीलाई निवेदन हाल्ने अवसर दिएमा हामी तयारी अवस्थामा नै छौं’, भट्टराईले भने ।
अन्नपूृर्ण, प्रुडेन्सियल, जेन्युयन र काठमाडौं पुनर्बीका कम्पनीको अनुमतिका लागि पर्खाइमा छन् । थप पुनर्बीमा कम्पनीको आवश्यकता बुझ्न अध्ययन समिति समेत गठन भएको छ । दुई साता अघि गठन भएको ३ सदस्य टोलीले बुधबार प्रारम्भिक प्रतिवेदन बिमा समितिमा बुझाई सकेको छ ।
पुनर्बीमा कम्पनीको अध्ययन टोलीमा बीमा विज्ञ भोजराज शर्मा, शिखर इन्स्योरेन्स कम्पनीका सीईओ दीपप्रकाश पाण्डे तथा चार्टर्ड एकाउन्टेन्ट सुजन आचार्य छन् । समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन समितिमा बुझाइसकेको छ ।