नागरिक लगानी कोषले निजी क्षेत्रमा काम गर्ने संस्थालाई बचतवृद्धि योजना, पेन्सन, उपदान, बीमासहितको योजना दिएर भविष्यको बचतका लागि आकर्षित गर्ने काम गरिरहेको छ । सरकारले पछिल्लो समय सामाजिक सुरक्षा कोषमा योगदानकर्तालाई जान बाध्य बनाएपछि अब नागरिक लगानी कोष कसरी अगाडि बढ्छ ? यसै प्रश्नमा केन्द्रीत रहेर कर्पोरेट नेपालले कोषका कार्यकारी निर्देशक रमन नेपालसँग गरेको कुराकानीको अंश प्रस्तुत छः
सरकारले सामाजिक सुरक्षा कोषमा जान संगठित क्षेत्रलाई बाध्यकारी बनाउँदै गइरहेको छ । यसले स्वेच्छिक रूपमा मात्रै बचतकर्ता आउने गरेको नागरिक लगानी कोष कत्तिको प्रभावित भएको छ ?
सामाजिक सुरक्षा कोषको पाटो र नागरिक लगानी कोषको पाटो नै बेग्लै हो । सामाजिक सुरक्षा कोष श्रम ऐनअन्तर्गत स्थानपना भएको संस्था हो । हामी ‘नागरिक लगानी कोष ऐन, २०४७’ अन्तर्गत स्थापना भएको संस्था हौं । यसको सरोकारवाला निकाय अर्थ मन्त्रालय हो । मैले बुझेसम्म यस्तो कोष अर्थ मन्त्रालय अन्तर्गत हुनुपर्ने हो । सामाजिक सुरक्षामा यो सुविधा रोजगारदाताले दिनुपर्ने छ । यस्ता संस्थाले गर्ने काम र कामको प्रकृति अनुसार कुन संस्था के कामका लागि हो ? सरकारले नै भन्नुपर्ने हो । सरकारले नै श्रमिकको कोषको सदूपयोग गर्नुपर्ने हो । तर, अहिले त सरकारले नै कोष खडा गरेर पैसा जम्मा पार्ने काम भएको छ । अन्त जम्मा भएको पैसा पनि कोषमा जम्मा गर्नुपर्छ, नत्र कारवाही गर्छु भनेर जबरजस्ती सामाजिक सुरक्षा कोषमै आउनुपर्छ भनेको छ । अहिले हेर्नुस त, कोषमा जो आउनुपर्ने हो, ती आएका छैनन् । तिनीहरूको आकर्षण पनि देखिएको छैन् । पछिल्लो समय योगदानकर्ता नआएकै कारण कोषको ऐन नियममा धेरै परिवर्तन गरेर नागरिक वा संचय कोष जस्तै बनाइएको छ । योगदानकर्ताले आफ्नो पैसा चाहिएको बेला लिनसक्ने, आफ्नो रकम सुरक्षित हुनुपर्ने र जोखिम कम हुने क्षेत्र खोजेर लगानी गर्नुपर्छ ।
नागरिक लगानी कोषमै किन बचत राख्ने त ?
यो एउटा पूरानो संस्था हो । पूरानो संस्थाको आर्थिक अवस्था राम्रो छ भने पक्कै पनि त्यतै हेर्ने गरिन्छ । ब्याजदरलाई मात्रै आप्mनो रकम जम्मा गर्ने आधारमा हेरिदैँन् । सुरक्षित र मुनाफा दिनसक्ने ठाउँ हेरिन्छ । त्यसैले त पूराना बैंक तथा वित्तीय संस्था नै हेर्ने र त्यहाँ डिपोजिट राख्न जाने गरिन्छ । धेरै मुनाफा दिने मात्रै हेर्ने हो भने सहकारीमा बढी पैसा जम्मा हुनुपर्ने हो । तर पनि वाणिज्य बैंकमा नै धेरै पैसा जम्मा हुन्छ । त्यसैले सुविधा मात्रै नभएर सेवा, विश्वसनियता, दीर्घकालिन सोचाईसहितको पक्षलाई हुर्नुपर्छ । हामीले दिएको सेवा र सुविधाकै कारण नागरिक लगानी कोषतर्फ बढी आकर्षण छ । श्रम ऐन अन्तर्गत कहाँ पैसा राख्ने नराख्ने ? भन्ने आफ्नो ठाउँमा छ । तर हामीले पनि सामाजिक सुरक्षाका कार्य गर्न पाउँछौं । हाम्रो ऐनले दिएको व्यवस्था अनुसार जुनसुकै सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न पनि सक्छौं । हामीले कसैलाई पनि जबरजस्ती नै आउनुपर्छ भनेका छैनौं । स्वेच्छाल जो आउँछन् । आउन पाउँछन् । नियमित बचतकर्ता आइरहेका छन् । बचतकर्ता जुन दरमा बढ्नुपर्ने हो, बढिरहेकै छ ।
नागरिक लगानी कोषको उपदान कोष कत्तिको प्रभावकारी रुपमा चलिहरेको छ ?
नागरिक बचत वृद्धि योजना पछिको यो हाम्रो दोस्रो ठूलो योजना नै उपदान हो । कुनै पनि संस्थाले आफ्ना कर्मचारीको लामो समयको दायित्व आफूसँग नराखेर छुट्टै व्यवस्था गर्न र सुरक्षित रूपमा राख्नेको लागि गरिएको व्यवस्था नै उपदान कोष हो । यसको सेवा सुविधा राम्रो छ । मानिसहरूको आकर्षण छ ।
यसमा सहभागी हुनेले हामीले प्रवाह गर्ने कर्जा र दिने थप प्रतिफल पाउँछन । यो विश्वसनीय रूपमा चलाइएको कार्यक्रम पनि हो । थोरै सञ्चालन खर्च लिएर चलाइएको यो योजनामा संस्थामा वा सम्बन्धित व्यक्तिको खातामा पैसा राखेर सञ्चालन गर्न सकिन्छ । हामीले दुवै विकल्प दिएका छौं । यसको मूख्य उद्देश्य नै काम गर्न सकुन्जेल योगदान गर्ने र ऊर्जाशील समय सकिएपछि वा सेवाबाट अवकाश लिएपछि एकमुष्ट उपदानको रूपमा यो पैसा लिने भन्ने हो ।
यसमा चाहेको समयमा उपदान लिन सकिन्छ कि सकिन्न ?
बचतमा जस्तो यो पैसा कसैले चाहेमा सापटीको रूपमा लिन मिल्दैन् । हामीले दिँदैनौ पनि । बचतवृद्धिको तुलनामा यो योजना नै फरक छ । यो योजनाको लागि ऐच्छिक रूपमा आउन मिल्दैन् । यसको अर्थ संस्थागत रूपमा मात्रै आउन पाइन्छ । कुनै संस्थाले हामीसँग बचतवृद्धि योजनामा पैसा राखेको छ भने मात्रै त्यो संस्थाका कर्मचारी उपदान योजनामा आउन पाउँछन् । हाम्रोमा नागरिक पेन्सन योजना पनि छ । यसमा भने जुनसुकै व्यक्ति पनि स्वच्छाले आउन पाउँछन् ।
कोषले मुख्य लगानी कहाँ छ ?
अहिले पनि बैंक तथा वित्तीय संस्थाका मुद्दति निक्षेपमै लगानी भएको छ । विस्तारै बैंक तथा वित्तीय संस्थाले निकालेको डिभेञ्चर, प्रमोटर शेयर, दोस्रो बजारको शेयरमा लगानी गर्दै गएका छौं । सहभागीलाई सापटी, आवास कर्जा, सरल कर्जा दिइएको छ । यसको मुख्य लगानी भनेको जम्मा तीन ठाउँमा छ । सबैभन्दा बढी वायुसेवा निगमको वाइडबडी जहाज । दोस्रो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना । र तेस्रो जनक शिक्षामा ।
कुन आयोजनामा कति लगानी छ ?
जनक शिक्षामा जम्मा २९ करोड रुपियाँ छ । माथिल्लो तामाकोशीमा करिव चार अर्ब रुपियाँ लगानी पुगेको छ । अर्को सबैभन्दा ठूलो लगानी भनेको वायुसेवा निगमकै वाइडबडीमा हो । वाइडबडीमा करिब १४ अर्ब रुपियाँ लगानी छ ।
वायुसेवा निगममा गरेको लगानी त जोखिममा पर्यो नि ?
कोभिड सुरु भएपछि पर्यटनसँगै अन्य क्षेत्रमा पनि प्रभाव परेको छ । पर्यटनका अन्य क्षेत्र पनि कोभिडले प्रभावित भएका छन् । कोभिड सुरु हुनुभन्दा अगाडि निगमले पैसा तिरिरहेको थियो । केही तिर्न बाँकी भएपनि किस्ता आउने काम सुरु हुन थालेको थियो । नियमित गर्ने प्रयास गर्दागर्दै कोभिड सुरु भयो । जसका कारण जहाज राम्रोसँग चल्न सकेको छैन् । यसको ग्राउन्ड ह्याण्डलिङको आम्दानी पनि प्रभावित भयो । कोभिडपछि निगम आर्थिक समस्यामा परेकोले एक वर्षदेखि किस्ता आएको छैन् ।
किस्ता नआउने अनि पटक पटक ब्याज पुँजीकरण मात्रै हुँदै जाने गर्दा झन समस्या हुन्न ?
भदौदेखि किस्ता सुरु भएको भएपनि चैतसम्ममा निगमले ९० करोड रुपियाँ भुक्तानी गरेको थियो । जापान उडान गर्न सुरु गरेसँगै लकडाउन सुरु भयो । कोभिड सुरु भएपछि निगमले चार्टर्ड उडान गरेर पैसा कमायो । तर किस्ता तिरेन भन्ने पनि हल्ला आयो । त्यो विषयमा निगमसँग हामीले सोधपुछ गरेका थियौं । निगमले चार्टर्ड उडान गर्दा एकतर्फी आम्दानी हुने र खर्च बढी हुने देखायो । निगम सञ्चालन खर्च धान्न समस्या भएको हुँदा कोभिड सुरुसँगै यसले किस्ता तिर्न सकेको छैन् ।
अब कसरी अशुलउपर गर्नुहुन्छ त ?
सरकारले पैसा दियो भने दिन्छु भनेको छ निगमले । एक वर्षदेखि नै किस्ता तिर्न नसक्नु भनेको ठूलो समस्या हो । सरकार कर्जाको ग्यारेन्टी छ । हामी त ढुक्क छौं । निगममा १२ अर्ब रुपियाँ लगानी गरेको । अहिले १४ अर्ब रुपियाँ जति पुगिसक्यो । तर, पनि सरकार ग्यारेन्टी बसेपछि एकदिन पक्कै पैसा आउँछ भन्ने नै छ ।
जोखिमको विश्लेषण नगरी लगानी गरेको भन्ने आरोप पनि लाग्न थालेको छ नी ?
किन लगानी गरेको भनेर भन्न सक्ने ठाउँ छैन् । बजारमा जे पनि हल्ला आउँछ । जोखिम मूल्यांकन गरेरै लगानी भएको हो । म आउँनुभन्दा अगाडि भएको यो लगानी निगमले पेश गरेको योजना अनुसार नै हो । निगमले विजनेश गर्न सकेको भए मज्जाले पैसा तिर्न सक्ने थियो ।
उसो भए वायुसेवा निगमबाहेकको लगानीलाई सुरक्षित नै मान्नुहुन्छ ?
सबै लगानी सुरक्षित नै छन् । माथिल्लो तामाकोशीमा हाम्रो इक्विटी पनि छ । कर्जा मात्रै छैन् । जलविद्युत लगानी तथा विकास कम्पनी र विद्युत् उत्पादन कम्पनीमा प्रमोटर शेयर छ ।
दीर्घकालिन लाभ दिने विकास योजनामा कोषले लगानी बढाउन सकेको छैन् । किन होला ?
ऋण दिनलाई सम्बन्धित क्षेत्रबाट माग पनि आउनुपर्छ । हामीले व्यक्तिगत रूपमा दिने र प्राइभेट कम्पनीलाई दिन सक्दैनौ । सरकारले प्राथमिकता दिएको र पब्लिक कम्पनीलाई मात्रै ऋण दिने भएकोले त्यस्तो कम्पनीहरू आउनुपर्छ । उदाहरणको लागि आउने तयारीमा रहेका कालिगण्डकी, जगदुल्लासहितका आयोजना हाम्रो लगानीको क्षेत्र हुनसक्छ । ती कम्पनीबाट ऋण तथा शेयर लगानीको प्रस्ताव आयो भने जान सकिन्छ । विद्युत् उत्पादन भएर मात्रै हुँदैन् । खपत गर्ने राम्रा परियोजना पनि चाहियो । रोपवेजस्ता लगानीका क्षेत्र आयो भने त्यसमा पनि लगानी गर्न सकिन्छ । हामीले अध्ययन गर्दा लाभ हुने उपयुक्त देखियो भयो भने लगानी गर्न सकिन्छ । तर, २५ करोड रुपियाँ भन्दा कमका र निजी कम्पनीमा भने जाँदैनौ ।
नागरिक लगानी कोषको बीमा योजना कत्तिको प्रभावकारी भइरहेको छ ?
सरकारले राष्ट्रसेवक कर्मचारीलाई तलब भत्ता बढाउनुको विकल्पमा बीमा गर्ने भनेर यो योजना ल्याएको थियो । लामो समयको लागि सामाजिक सुरक्षा गर्ने गरी यस्तो कार्यक्रम आएको थियो । यो कार्यक्रम केही वर्ष अगाडि जम्मा दुई सय रुपियाँ सम्बन्धित कर्मचारीबाट र दुई सय सरकारले राखिदिने गरी कार्यविधि ल्याएर सुरु गरिएको थियो । यो कार्यक्रम अरुबाट सञ्चालन हुन नसकेपछि सरकारले नागरिक लगानी कोषलाई दिएको हो । नौ वर्षमा सञ्चालन नाफामा जान्छ भन्ने अनुमान गरेर गरिएको यो योजना ५–६ वर्षमै नाफामा जान थाल्यो । यसको लागि सञ्चालन नाफामा नआउँदासम्म सरकारले घाटा व्योहोर्ने भन्ने थियो । २०७५–६७ को बजेटबाट यसलाई प्रतिव्यक्ति चार सय रुपियाँको योगदान र सरकारबाट थप चार सय नै राख्ने गरी दुई लाख रुपियाँको बीमा बनाइएको छ । २०७६ साउन १ देखि जतिपछि यसमा बीमाको योजना छ, त्यो सबै बीमा संस्थानले सञ्चलन गर्ने गर्छ । अहिले यो योजना विभिन्न क्षेत्रको लागि सञ्चालनमा छ । हामीले सबै प्रकारका बीमा योजनाको रकम संकलन गर्ने र राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण गर्ने हो । यो योजनामा बीमितले २० वर्ष वा ७० वर्षको उमेरसम्मको लागि बीमा गर्न सक्ने व्यवस्था छ । यो योजनामा हरेक व्यक्तिको लागि निजी योजना भएकोले चाहेको बेलामा समर्पण गर्न र जम्मा भएको पैसा बोनससहित लिन पनि सक्छन् । यो बीमामा योगदान थोरै हुने, समूहमा गरिने भएकोले पनि थोरै रकममा नै बीमा हुन सकेको हो ।