काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को चार महिनामा १९ अर्ब ८० करोड १२ लाख २९ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ ।
अटोमेटिक रुट, कागजी प्रक्रिया र शेयर खरीद तथा सदस्यता सम्झौतामार्फत सो बराबरको विदेशी लगानी प्रस्ताव आएको हो ।
उद्योग बिभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार समीक्षा अवधीमा अटोमेटिक रुटबाट एक अर्ब ६२ करोड ७३ लाख ५७ हजार रुपियाँ लगानी प्रस्ताव आएको छ । बिभिन्न १०९ परियोजनामा सो बराबरको लगानी प्रतिवद्धता अटोमेटिक रुटबाट आएको हो ।
त्यसमा उत्पादनमुलुक क्षेत्रका छ परियोजनामा ३५ करोड ५० लाख रुपियाँ लगानी प्रस्ताव आएको छ भने पर्यटन क्षेत्रका १३ परियोजनामा ४२ करोड ९० हजार रुपियाँ, सेवा क्षेत्रका आठ परियोजनामा ३८ करोड रुपियाँ, पूर्वाधार क्षेत्रका दुई परियोजनामा चार करोड १० हजार रुपियाँ र आईटी (सूचना प्रविधि)को ८० परियोजनामा ४३ करोड २२ लाख ५६ हजार रुपियाँ लगानी प्रस्ताव आएको छ । अटोमेटिक रुटतर्फ संख्याको आधारमा आईटीमा बढी आर्कषण देखिन्छ ।
सरकारले गत बैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको अवसरमा अटोमेटिक रुटबाट पनि विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो त्यस माध्यमबाट ५० करोड रुपियाँसम्मको लगानी स्वीकृत गर्न सकिन्छ । यस प्रणालीले साना लगानीकर्तालाई सहजता मिलेको विभागको भनाई छ ।
यस्तै, समीक्षा अवधीमा कागजी प्रक्रियाबाट थप १७ अर्ब तीन करोड ७७ लाख ५६ हजार रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ । बिभिन्न १५४ परियोजनामा सो बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा दुई ठूला, एक मझौला र १५१ वटा साना परियोजना छन् ।
तथ्यांकअनुसार पर्यटनमा मात्रै ११३ वटा परियोजनामा विदेशी लगानी प्रस्ताव आएको छ । उक्त परियोजनाहरुमा ११ अर्ब १८ करोड रुपियाँ लगानी प्रस्ताव गरिएको छ । रकमका आधारमा पर्यटन क्षेत्रमा लगानी आर्कषण उच्च देखिन्छ ।
यस्तै, सेवामा २० परियोजनामा तीन अर्ब ८५ करोड रुपियाँ, आईटीमा सात परियोजनामा १७ करोड ४० लाख, उत्पादनमा १३ परियोजनामा एक अर्ब २२ करोड रुपियाँ र कृषिमा दुई परियोजनामा ५८ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ ।
खनिजसम्वन्धी दुई परियोजनामा चार करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ । यो प्रतिवद्धताअनुसार लगानी आएर परियोजना सञ्चालनमा भएमा सात हजार ६६७ जनाले रोजगारी पाउनेछन् ।
यस्तै, समीक्षा अवधीमा शेयर खरीद र सदस्यता सम्झौतामार्फत भने थप एक अर्ब १३ करोड ६१ लाख १५ हजार रुपियाँ लगानी प्रस्ताव भएको छ । यो उद्योग बिभागमा दर्ता भएको वैदेशिक लगानी प्रतिवद्धता मात्रै हो । लगानी बोर्डमा आउने लगानी प्रतिवद्धता यसमा समावेश छैन ।
कति बाहिरियो लाभांश ?
नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले समीक्षा अवधीमा छ करोड ४० लाख ४२ हजार रुपियाँ लाभांश लगेका छन् । यो गत आवको सोही महिनाको तुलनामा कम हो । गत आवको सोही अवधीमा एक अर्ब ४१ करोड ६ लाख ८८ हजार रुपियाँ लाभांश लगेका थिए ।
पछिल्लो समय देखिएको आर्थिक शिथिलताले नेपालका अधिकांश व्यापार व्यावसाय प्रभावित भएका छन् । त्यस कारण लाभांशबापत बाहिरिने रकम पनि घटेको छ ।
रोयल्टीमार्फत कति बाहिरियो ?
विदेशी लगानीकर्ताले रोयल्टीबापत नेपाली रुपियाँमा ३८ करोड २२ लाख ५४ हजार लगेका छन् । यसैगरि, डलरमा आठ लाख १५ हजार ५२१, भारुमा २० करोड पाँच लाख एक हजार र युरोमा १० हजार २०० थप रोयल्टी लगेको तथ्यांकमा उल्लेख छ ।
सेवा शुल्कबापत कति बाहिरियो ?
यस्तै, सेवा शुल्कमार्फत समीक्षा अवधीमा नेपाली रुपियाँमा ३८ करोड आठ लाख ६८ हजार, डलरमा २८ लाख ६८ हजार ६४४ र भारुमा पाँच करोड ७६ लाख १५ हजार बाहिरिएको छ । परियोजना स्थापना तथा सञ्चालनमा बिभिन्न सेवा दिएबापत पनि विदेशीहरुले सम्झौताअनुसारको शुल्क पाउने गर्छन् ।