सात लघुबीमा कम्पनीको नाफामा ७३ प्रतिशतको गिरावट, ट्रस्ट घाटामा, गार्डियन पहिलो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा सात लघुबीमा कम्पनीको कुल खुद नाफा १७ लाख ९४ हजार रुपियाँ मात्रै देखिएको छ । लघुबीमा कम्पनीहरुरुले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

यो गत आवको पहिलो त्रैमासको तुलनामा ७३ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा उनीहरुको नाफा ६७ लाख २६ हजार रुपियाँ थियो । गत आवमा भने सात लघुबीमा कम्पनीले तीन करोड १० लाख ४१ हजार रुपियाँ नाफा कमाएका थिए । 

Advertisement

हाल नेपालमा तीन जीवन र चार निर्जीवन गरेर सात लघुबीमा कम्पनी सञ्चालनमा छन् । २०७९ मंसिरमा नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिएपछि २०८० पुससम्म सात वटै कम्पनी सञ्चालनमा आएका थिए । तर, उनीहरुको व्यवसाय र नाफामा अझै उत्साह देखिन सकेको छैन् । 

समीक्षा अवधीमा ट्रष्ट माईक्रो इन्स्यारेन्स ७९ लाख ५३ हजार रुपियाँले घाटामै देखिएको छ । गत आवको पहिलो त्रैमासमा उक्त कम्पनी सञ्चालनमा थिएन । उक्त कम्पनी घाटामा हुँदा समग्र लघुबीमा कम्पनीको नाफा कम देखिएको देखिन्छ । यस बाहेक अधिकांश कम्पनीको नाफा बढेको छ । 

समीक्षा अवधीमा स्टार माइक्रो इन्स्योरेन्सले १४ लाख ४५ हजार रुपियाँ, नेपाल माइक्रो इन्स्योरेन्सले चार लाख १० हजार रुपियाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले तीन लाख ८१ हजार रुपियाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा स्टार माइक्रो इन्स्योरेन्स सञ्चालनमा आइसकेको थिएन । 

त्यसबेला नेपाल माइक्रो इन्स्योरेन्सले एक लाख ३५ हजार रुपियाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले तीन लाख २२ हजार रुपियाँ नाफा कमाएका थिए । त्योअनुसार उनीहरुको नाफा बढेको देखिन्छ । 
तर, समीक्षा अवधीमा लिवट्री माइक्रो लाइफ इन्स्योरेन्सको नाफा स्वाट्टै घटेको छ । गत आवको पहिलो त्रैमासमा उक्त कम्पनीले ५६ लाख तीन हजार रुपियाँ नाफा कमाएको थियो । चालु आवको पहिलो त्रैमासमा त्यो १० लाख ५८ हजार रुपियाँमा सीमित भएको छ । 

तर, क्रेष्ट माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफको नाफा भने बढेको छ । समीक्षा अवधीमा क्रेष्ट माइक्रो लाइफले ११ लाख ५३ हजार नाफा कमाएको छ । गत आवको समीक्षा अवधीमा उक्त कम्पनीको नाफा पाँच लाख २४ हजार रुपियाँ थियो । 

यसैगरि गत आवको पहिलो त्रैमासमा एक लाख ४२ हजार रुपियाँ रहेको गार्डियन माइक्रो लाइफको नाफा अहिले ५३ लाख रुपियाँ पुगेको छ । नाफा कमाउने मामिलामा गार्डिन माइक्रो लाइफ पहिलो नम्बरमा देखिएको छ । 

लाभांश क्षमता कम्जोर नै 
प्रतिवेदनअनुसार सात कम्पनीको औसत लाभांश क्षमता एक प्रतिशतभन्दा पनि कम छ । हाल सबै कम्पनीको चुक्तापुँजी प्रति कम्पनी ५२ करोड ५० लाख रुपियाँ छ । उनीहरुले आईपीओ जारी गरेर चुक्तापुँजी ७५ करोड पुर्याउनुपर्नेछ । तर, हालकै चुक्तापुँजीमा उनीहरुको प्रतिशेयर आम्दानी औसतमा ०.६० प्रतिशत मात्रै छ । 

समीक्षा अवधीमा गार्डियन माइक्रो लाइफको लाभांश क्षमता सबै भन्दा धेरै देखिएको छ । पहिलो त्रैमासमा उक्त कम्पनीको लाभांश क्षमता ४.०४ प्रतिशत छ । त्यसबाहेक अन्य कम्पनीको लाभांश क्षमता एक प्रतिशत भन्दा कम छ । त्यसमा समिक्षा अवधीमा घाटामा गएको क्रेष्ट माईक्रो इन्स्योरेन्सको लाभांश क्षमता १.५१ प्रतिशत ऋणात्मक छ । 
त्यो बाहेक स्टार माईक्रो इन्स्योरेन्सको ०.२८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेनसको ०.०८ प्रतिशत, प्राटेक्टीभ माईक्रो इन्स्योरेन्सको ०.२९ प्रतिशत, लिवट्री माईक्रो लाइफको ०.२० प्रतिशत र क्रेष्ट माईक्रो लाइफको ०.८८ प्रतिशत लाभांश क्षमता देखिएको छ । 

नेपालमा लघुबीमा कम्पनी नयाँ हुन् । २०७९ मा लाइसेन्स पाएपछि सात कम्पनीले गत आवमा मात्रै पुर्ण रुपमा कारोबार सुरु गरेका थिए । तर, उनीहरुको व्यवसाय विस्तार भइसकेको छैन । ठाउँ ठाउँमा शाखा खोल्ने, फर्निचर लगायतका सामग्री व्यवस्थापन गर्ने, कर्मचारी भर्ना गर्ने लगायतका कारण सुरुवाती समयमा खर्च बढी हुन्छ । सोहीअनुसार लघुबीमा कम्पनीको खर्च पनि बढी हुन गएको देखिन्छ । 

साथै, सुरुवाती समयमा व्यवसाय विस्तार गर्न पनि चुनौती हुन्छ । यी यस्ता कारण लघुबीमा कम्पनीहरुले धेरै नाफा कमाउन नसकेको बताइन्छ । अबका दिनमा लघुबीमा कम्पनीहरुले राम्रो व्यवसाय गर्ने र बीमा सेवा पनि विस्तार गर्ने अपेक्षा रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । 

Advertisement

Advertisement