‘बीमा संस्थानमा आएर मैले के के गरें ?’ अब बीमा संस्थान अरुले पछ्याउने कम्पनी बन्छ

Advertisement

काठमाडौं । कविप्रसाद पाठक सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान प्रशासक हुन् । उनले संस्थानमा विगत तीन वर्षदेखि प्रशासकको रूपमा काम गरिरहेका छन् । पाठकको कार्यकाल अन्तिम समयमा छन् । उनले आफ्नो कार्यकालमा संस्थान सुधार र सबलीकरणका लागि थुप्रै योजना बनाएका थिए । ती मध्ये अझै केही पूरा हुन बाँकी छन् । पाठक आफ्नो कार्यकालको समीक्षा गर्दै लिएका लक्ष्यहरू नजिक आफू रहेको बताउँछन् । यद्यपी उनको कार्यकालमा बीमा संस्थानको एक दशक पुरानो वित्तीय विवरण पास गर्ने तथा सोही अवधिदेखि अड्किएको साधारण सभा अझै सम्पन्न हुन सकेको छैन् । तर पनि मुख्य कामहरूमा पाएका सफलताको आधारमा आफ्नो कार्यकाल सफल नै रहेको पाठकको ठहर छ । कर्पोरेट नेपालका नबिन पोखरलसँग कुराकानीमा गर्दै उनले भने, ‘छायाँमा परेको बीमा संस्थानलाई प्रतिस्पर्धामा जान घचेटिरहें । अब नजिता देखिन धेरै समय लाग्दैन ।’ 

मैले कृषि विकास बैंकमा लामो समय काम गरें । त्यहाँबाट अवकाश हुन करिब एक महिना मात्रै बाँकी हुँदा बीमा संस्थानमा विज्ञापन खुलेको देखें । अनि मेरो यात्रा यतै मोडिन पुग्यो । २०७५ साल जेठ ६ गते मन्त्रि परिषद्ले निर्णय गरे पश्चात मैले जेठ ९ गतेबाट बीमा संस्थानमा आफ्नो काम सुरु गरे । बाहिरबाट हेर्दा बैंक बीमा विशुद्ध फरक जस्तो पनि लाग्ने गर्छ । तर दुवै वित्तीय संस्था भएकाले यसले पालन गर्नु पर्ने कतिपय नीति नियमहरूमा समानता पनि रहेछन् । वित्तीय क्षेत्रमा परिचित नै रहेकाले मलाई बीमा क्षेत्रका काम पनि त्यति धेरै नौलो भने लागेन । बैकभन्दा बीमा अघि बढि प्राविधिक क्षेत्र चाहीं हो रहेछ । तर प्राविधिक कुराहरूमा अन्य साथीहरूले सघाएकाले आफूलाई व्यवस्थापन सम्हाल्न निकै सहज भयो । बीमा संस्थानमा काम गर्दा मलाई खासै समस्या भएन् ।

Advertisement

संस्थानमा आएर हेर्दा सुरुमा मैले समस्याहरू धेरै देखेको थिए । यहाँका विभिन्न समस्यामध्ये वर्षोदेखि गर्न बाँकी रहेको लेखापरीक्षण पनि एक थियो । संस्थानको धेरै बर्षदेखिको लेखापरीक्षण भएको छैन भन्ने कुरा मलाई यहाँ आवद्ध हुनुभन्दा पहिलेदेखि नै थाहा थियो । यहाँ आएर आफैले हेर्दा अवस्था ठ्याक्कै त्यस्तै नै पाए । बीमा क्षेत्रमा आउनु अगाडि लेखापरीक्षण भनेको काम सहजै हुने कुरा हो जस्तो लाग्थ्यो । त्यसैले लेखापरीक्षण त समयमै पूरा गर्न सकिन्छ भन्ने मैले सोचेको थिए । तर बीमा क्षेत्रमा केही फरक हुँदो रहेछ । बिमांकीबाट बिमाङ्कीय मूल्यांकन गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले लेखापरीक्षण अन्तभन्दा झन्झिटिलो नै हुने रहेछ ।

बीमा संस्थानको लेखा परिक्षणको काम अझै पनि बाँकी नै छ । लेखापरीक्षण गर्न बाँकी छ भन्ने थाहा पाएपछि करिब नौ वर्षको लेखापरीक्षण गराउछु भनेर मैले कोशिष पनि गरें । अहिले म नियुक्त भएर आएको करिव तीन वर्ष पूरा हुन लाग्दैछ । बिगत एक दशकदेखि रोकिएको बिमाङ्कीय मूल्यांकन हामीले सकेका छौं । त्यसमा ६ वर्षको चाहीं स्वीकृतिका लागि बीमा समितिमा पठाएका छौं । तीन वर्ष अगाडि पठाएको बीमांकीय मूल्यांकन २०७७ साल पुसमा मात्रै स्वीकृत भएर आएको थियो । त्यसले गर्दा हामीले काम गर्ने गतिमा असर पुर्यायो । अब त्योभन्दा पछाडिको पनि वित्तीय विवरण स्वीकृत हुँदैछ । यसको मतलब बीमा संस्थानको नौ वर्षको वित्तीय विवरणलाई बीमा समितिले स्वीकृति दिँदैछ । त्यो सम्पन्न भएपछि हाम्रो लेखापरीक्षणको काम पनि सँगसँगै अगाडि बढ्छ । बीमाङ्कीय मूल्यांकन प्रतिवेदन स्वीकृत नभई वित्तीय विवरण स्वीकृत हुँदैन । बीमा समितिमा पुरानै वित्तीय विवरणहरू रहेका थिए ।

अहिले बीमा समितिमा पनि नयाँ अध्यक्ष आउनुभएको छ । उहाँ आएपछि एक वर्ष स्वीकृतिको वित्तीय विवरणले तुरुन्तै स्वीकृति पाएको छ भने बाँकी रहेका पनि छलफलको क्रममा पुगिसकेका छन् । सोही छलफलकै लागि बीमा समितिले पनि आगामी ८ गते हामीलाई बोलाएको छ । हाम्रो छलफल भएअनुसार १५ देखि २० दिनको अन्तरमा संस्थानको हरेक वर्षको वित्तीय विवरण स्वीकृत गरिदिने तयारीमा बीमा समिति छ । यही रफ्तारमा काम गर्दा आगामी एक वर्षभित्र एक दशकको लेखापरीक्षण सकिन्छ । यसमा कुनै शंका नै छैन । आगामी आर्थिक वर्षमा यही कामलाई समितिले प्राथमिकता दिनेछ ।

बीमा संस्थान देख्दा अचम्म लागेको थियो
बैंकबाट आएको मान्छे मैले यहाँ आएर डसबेस सफ्टवेरमा काम भएको देख्दा निकै अचम्म लागेको थियो । त्यसको मतलब एउटा डेक्स टपबाट अर्कोमा कनेक्ट गर्न नमिल्ने गरी कामहरू भइरहेका थिए । सोही कारण एक ठाउँ अर्को ठाउँमा बीमालेखहरू जारी गर्न मिल्दैन्थ्यो । प्रधान कार्यालयबाट मात्रै बीमालेख जारी हुन्थ्यो । अन्य ठाउँबाट बीमालेख वितरण गर्न निकै समस्या थियो । बीमा संस्थान सञ्चालनमा आएको पाँच दशक नाघिसकेको छ । यस्तो संस्थानको त नेपालभरी शाखा सञ्जालहरू हुनुपर्ने हो । जम्मा एउटा कार्यालयबाट मात्र पूर्ण सेवा पाइने अवस्था थियो । त्यसलाई बिस्तार गर्नु जरुरी थियो । तर कार्यालय मात्र खोलेर भएन । खोलिएका शाखा कार्यालयहरूको मुख्य कार्यालयसँग पनि सिधा सम्पर्क जोडन आवश्यक हुन्छ । हामीले डसबेस सफ्टवेरबाट वेभबेस सफ्टवेरमा काम गर्न थालिसेको अवस्था छ । हामीले नयाँ व्यवसायहरूलाई नयाँ सफ्टवेरमार्फत नै काम हुने किसिमको व्यवस्था मिलाईसकेका छौं ।

अहिले बीमा संस्थानका २२ शाखा
अहिले हामीसँग २२ वटा कार्यालयबाट काम हुन थालेको छ । त्यहीबाट अहिले बीमालेख जारी गर्न थालेको छौं । पहिले म बीमा संस्थान आउँदा जम्मा आठ वटा संख्यामा शाखा कार्यालय थिए । तर अधिकांश कार्यालय सञ्चालनमा थिएन । अहिले बीमा संस्थानको नाम धेरैतिर सुनिन थालेको छ । मैले प्रवेश गर्दा बीमा संस्थान एक्लै थियो । अब प्रतिस्पर्धा गर्ने हैसियतमा पुगेको छ ।

अभिकर्ता थपिँदै
अभिकर्ताको सञ्जाल निर्माणमा पनि हामी लागेका छौं । हामीसँग सात हजार तीन सय अभिकर्ताहरू हुनुहुन्छ । तालिममार्फत नयाँ अभिकर्ता उत्पादनमा हामी लागेका छौं । 

कर्मचारी नियुक्तिमा ढिलाई
कर्मचारीको कुरा गर्दा हामीसँग स्थायी कर्मचारी ११५ जना हुनुहुन्छ । हाम्रो कुल दरबन्दी भनेको एक सय ६५ जना हो । लोक सेवामाफत मात्रै हामीले कर्मचारी राख्न मिल्छ । नियुक्ति प्रक्रियामा केही ढिलाई हुन्छ ।

बीमा प्रोडक्ट 
म आएपछि दुई वटा बीमा योजना सुरु गर्यो । पहिले ११ प्रकारको योजना थियो । हामीले हाम्रो जीवन बीमा सुरु गरेका छौं । व्यक्तिगततर्फको म्यादी बीमा पनि आउने अन्तिम तयारीमा छ । हामीसँग रहेको ‘जीवन सुरक्षा बीमा योजना’ सबैभन्दा बढी रुचाईएको योजना हो । हामीले बालबच्चाको बीमा गर्न चाहेका थियौं । पहिले बीमा समितिले स्वीकृति दिन रोकेको थियो । पछिल्लो समय त्यसका लागि पनि बाटो खुलेको थियो ।

मैले नसोचेको क्षेत्र हो बीमा
मैले कहिले पनि बीमामा काम गर्छु भनेर सोचेको थिइन । वास्तवमा अति जरुरीको क्षेत्र रहेछ बीमा । बीमा क्षेत्र छायाँमा परेको छ । बैकसँगै सुरु भए पनि बीमाको पहुँच कम छ । बीमा क्षेत्रका केही विकृति छन् । त्यसलाई सुधार गरेर अगाडि जानुपर्छ । अब बीमामा दोष लाउँदा त एउटाको मात्र कमजोरी छ भन्न मिल्दैन । बीमकले सुशासन पालन गर्दा धेरै समस्या आफै हल हुन्छ । अहिले बजारमा बीमा कम्पनीको संख्या ४० वटा रहेको छ । यसको व्यवस्थापन एउटा मात्रै बीमा समितिले गर्दा व्यवस्थापनमा चुनौती देखिएको हुनसक्छ । अहिले बीमा विद्ययेकमा छलफल भइरहेको छ।  त्यसले केही बढि खुल्ला र सहज बनाउला भन्ने हामीले अनुमान गरेका छौं । 

बीमामा काम गर्ने अभिकर्ताले नकारात्मक धारणा ननिकाल्ने हिसाबले काम गर्नुपर्छ । हामीले कर्मचारीका लागि प्रगति समीक्षा गर्दै आएका छौं । बीमितले बीमा आफूले बुझेर गर्नुपर्छ । तर सरकारी संस्थानमा चाही बीमितको विश्वास बढि हुने रहेछ । हाम्रो बीमा योजना हेरेर बीमितहरू आउनुहुन्छ । कुनै पनि कम्पनीमा बीमा गराउँदा सम्बन्धित् कम्पनीको सम्पूर्ण अवस्था मूल्यांकन गर्न जरुरी हुन्छ ।

बोनस दर
हाम्रो बोनस दर पनि नराम्रो छैन । नेपाली बीमा कम्पनीहरूमध्ये नै बीमा संस्थान एक्लैले मात्र सबै बीमा योजनामा समान बोनस दर प्रदान गरिरहेको छ । बीमांकीय मूल्याङ्कन भएपछि नयाँ बोनस दर कायम हुन्छ । हामीले आगामी दिनमा नयाँ बोनस दर कायम गर्ने योजना पनि बनाएको छौं । हाम्रोमा दाबी भुक्तानीमा केही पनि समस्या छैन् । हाम्रोमा दाबी भुक्तानीमा ढिलाई हुँदैन । काजगपत्र पुर्याएको अवस्थामा आधा घण्टाभित्र नै बीमाको दाबी भुक्तानी हुन्छ ।

वित्तीय अवस्था
साउनदेखि चैत महिनासम्ममा बीमा संस्थानको बीमाशुल्क आर्जन छ अर्ब ९७ करोड रुपियाँ रहेको छ । संस्थानले चालु आर्थिक वर्षमा आफ्नो सात अर्ब ५५ करोड रुपियाँ बराबरको टार्गेट राखेको थियो । बाँकी तीन महिनामा अनुमान गरेको बीमाशुल्क सहजै आर्जन गर्नेछ । मैले बीमा संस्थानमा आउँदा करिब तीन लाख ७२ हजार बीमालेख जारी भएको थियो । अहिले सात लाख ३९ हजार बीमालेख जारी भएको छ । यसको मतलब करिब दोब्बर बीमालेख जारी गर्न संस्थान सफल भएको छ ।

त्यस्तै, जीवन बीमामा बीमा कोष पनि महत्वपूर्ण कुरा हो । मैले संस्थानमा प्रवेश गर्दा आर्थिक वर्ष २०७४–७५ को असार मसान्तमा १५ अर्ब ७२ करोड रहेको थियो । अहिले जीवन बीमा कोष चैत मसान्तमा नै ३२ अर्ब रुपियाँ पुगिसकेको अवस्था छ । हाम्रो टार्गेट चाहीं असार मसान्तसम्ममा जीवन बीमा कोष ३० अर्ब रुपियाँ पुर्याउने थियो । आगामी असार समान्तसम्म हामी करिब करिब ३३ देखि ३४ अर्ब रुपियाँको हाराहारीमा पुग्ने स्थिति छ ।

यसरी नै बचतको कुरा गर्दा आर्थिक वर्ष २०७४–७५ को असार मसान्तमा एक अर्ब २० करोड रुपियाँ रहेको थियो । अहिले चैत मसान्तसम्म हाम्रो बचत पाँच अर्ब २० करोड रुपियाँ रहेको छ । वित्तीय सूचकांकको आधारमा हेर्दा बीमा संस्थानको अवस्था नराम्रो छैन । कूल बीमा बजारसँग तुलना गर्ने हो भने पनि हामी कुनैमा तेस्रो कुनैमा चौथो स्थानमा रहेका छौं । हामीले गर्दै गएको विकासले योभन्दा माथि उक्लिने योजना बनाईरहेका छौं । अबको तीन वर्षमा नेपाली बीमा बजारमा संस्थानलाई कहाँ राख्ने ? भन्ने हिसाबमा पनि हामीले काम गरिरहेका छौं । अर्गनाईजेसन एण्ड म्यानेजमेन्ट सर्भे (ओएनएम)को काम हामीले थालेका छौं । सार्वजनिक संस्थाको दरबन्दी स्वीकृत गर्नुभन्दा अगाडि यस्तो मूल्यांकन गर्नुपर्ने हुन्छ । त्यो काम भइरहेको छ । त्यसपछि कर्मचारी व्यवस्थापन थप सहज हुन्छ ।

नयाँ काम
बीमा संस्थाले मोलाइल एप पनि ल्याएको छ । त्यसमा प्रोडक्टको जानकारी लिन सकिन्छ । अहिले एसएमएसको सुविधा पनि हामीले सुरुवात गरेका छौं ।अनलाइन भुक्तानीको कामको पनि तयारी गरेका छौं । बीमितले दाबी गर्न तथा भुक्तानी दुबै मोवाइलबाट गर्न मिल्ने किसिमले काम गरिरहेका छौं । सो कामले छिट्टै नै पूर्णता पाउनेछ । वेभसाइट डसबेसबाट वेभबेसमा ल्याएको कुरा पनि नयाँ हो । कर्मचारी व्यवस्थापन तथा शाखा बिस्तार र अभिकर्ताको काम हामीले अघि बढाएका छौं । संस्थागत सुशासन महत्वपूर्ण काम हो । हामीले त्यसका लागि आन्तरिक नीति नियम समेत तयार रहेका छौं ।

त्यस्तै, २०३१ सालदेखि संस्थानले आफ्नो नाममा पाउन नसकेको जग्गाको काम पनि अघि बढेको छ । मैले आफू आउदादेखि पहल गरें । अब करिब एक साता भित्रमा हामीले तत्कालिन खाद्य संस्थानसँग विवादित रहेको जग्गा हाम्रो नाममा पाउँदैछौ । करिब ४६ सालदेखि अलपत्र अवस्थामा रहेको जग्गा मैरै कार्यकालमा नामसारी हुनुलाई महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छु ।
सम्पत्तिको भ्यालुयसनका लागि डीडीए गर्न हामीले सम्झौता गर्दैछौं । उक्त कामसँग सम्बन्धित सूचना समेत हामीले जारी गरेका छौं । त्यसले हाम्रो अहिलेको वास्तविक अवस्था कस्तो छ ? भन्ने कुरा पनि देखाउँछ ।

सात अर्ब रुपियाँ लगानी
हाम्रो लगानी क्षेत्र मुद्दती निक्षेपमा मात्र नभएर सेयरमा समेत रहेको छ । उर्जाको क्षेत्रमा पनि हाम्रो लगानी रहेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा हाम्रो लगानी रहेको छ । जलविद्युत लगानी तथा विकास कम्पनीमा समेत हाम्रो लगानी रहेको छ । त्यसले राज्यले लिएको नीतिअनुसार काम गर्न सघाउ पुर्याउछ । त्यस्ता क्षेत्रमा हाम्रो करिव सात अर्ब रुपियाँ जतिको लगानी रहेको छ । सेयरको कुरा गर्दा हामीले संस्थापक सेयर र साधारण सेयरमा लगानी गरेका छौं । यसरी सेयरमा हाम्रो करिब ३२ अर्ब रुपियाँ लगानी रहेको अडिटमा देखिएको छ ।

जब बाँकी रहेका वित्तीय विवरण आउँछ, त्यतिबेला नै हाम्रो वास्तविक अवस्था देखिन्छ । हाम्रो वास्तविक वित्तीय विवरण देखिँदा हामी बीमा बजारमा उत्कृष्ट बीमा कम्पनीको रुपमा पुग्न सक्छौं । 

नियामक बीमा समितिले जीवन बीमा कम्पनीहरूको पूँजी दुई अर्ब पुर्याउनु भनेको छ । तर हाम्रो पूँजी १८ करोड १० लाख रुपियाँ मात्रै रहेको छ । समितिले बीमा ऐन २०४९ अनुसार भनेको हो । तर हाम्रो बीमा संस्थान ऐन २०२५ मा अधिकृत पूँजी ५० करोड रुपियाँ मात्रै छ । सोही कारण हामीलाई एकै पटक पूँजी बढाउन पनि त्यति सहज छैन । संसदमा रहेको बीमा विद्ययेक आएपछि हामीले दुई अर्ब रुपियाँ पूँजी पुर्याउने छौं । विगतका आर्थिक बर्षको साधारण सभा सम्पन्न भएसँगै यी सबै कुराहरू मिल्दै पनि जानेछन् । बोनस सेयरमार्फत ५० करोड रुपियाँ हाम्रो पुग्छ । बीमा समितिलाई हामीले हाम्रो क्यापिटल प्यान (पूँजी योजना)समेत पेश गरिसकेका छौं । 
हामीले गर्नैपर्ने र गर्न नसकेको काम चाहीं के हो ? भने जबसम्म सबै तथ्यांक माइग्रट गरिदैन, तबसम्म पूरै डिजिटल्ली जानसक्ने अवस्था रहदैन । मैरै धेरै कुरा नसोचेको उपलब्धीहरू हाँसिल गरें । तर गर्दा गर्दै पनि लेखापरीक्षणको काम चाहीं सम्पन्न गर्न सकिएन । बीमा क्षेत्रका सरोकारवाला निकायले सहयोग गरेको भए यो पनि असम्भव भने चाहीं थिएन ।

अब बीमा संस्थान अरुलाई टक्कर दिने कम्पनी होइन्, अरुले पछ्याउने कम्पनी बन्छ । त्यसका लागि लामो समय पनि लाग्दैन । भोलि म यहाँ रहँदा होस वा मेरो ठाउँ अरु कोही आउँदा होस्, त्यो नतिजा अवश्य देखिन्छ । हामीले उत्कृष्ट जीवन बीमा प्रदायक बन्ने हिसाबले काम गरिसकेका छौं । 

भोलिका दिनमा यहाँ आउनेले बरु अन्य नयाँ समस्या भोग्लान् । तर अहिलेसम्म लामो समयदेखि रोकिएका समस्याहरू भने सरासर समाधान हुनेछन् । प्रतिस्पर्धी कम्पनीहरू थपिइरहेका छन् । बीमा समितिले पनि अबलम्बन गर्नुपर्ने नयाँ निर्देशिकाहरू निकाली रहेको छ । यहीअनुसार बीमा समिति अगाडि बढेमा समग्र बीमा क्षेत्रको हित हुन्छ ।

बीमा समितिलाई धन्यवाद
बीमा समितिले पछिल्लो चरणमा आएर जुन किसिमको कदम चालेको छ, त्यसका लागि म धन्यवाद दिन चाहान्छु । अब बीमा बजार सुधारतर्फ उन्मूख हुँदैछ भन्ने कुरा त पछिल्लो समयमा नै मैले थाहा पाए । अब बीमा क्षेत्र सुध्रिनेमा म ढुक्क छु । बीमामा नतिजामुखी कामहरू हुन्छन् ।

बेतिथि, कमजोरी र विकृतिहरू बीमा समितिले रोकेमा मात्रै बीमा कम्पनीहरू स्वस्थ प्रतिस्पर्धा गर्दै अगाडि बढ्न सक्छन् । 

Advertisement

Advertisement