काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीतिमार्फत रोक्का गरेको बैकास्योरेन्स पुनः सञ्चालन गर्नुपर्ने आवाज बीमा क्षेत्रमा उठेको छ । बैंकास्योरेन्समा केही समस्या रहे पनि त्यसलाई सुधार गरेर अघि बढाउन सकिए समग्र क्षेत्रलाई हित हुने बीमा कम्पनीहरू बताउँछन् ।
बीमा कम्पनीहरूले बैंकासुरेन्सको कुरा उठाएको बेला बीमा अभिकर्ताहरूले भने आफ्नो रोजीरोजीको चिन्ता उठाएका छन् । उनीहरूले आफूहरूको रोजगारी गुम्ने गरेर कुनै किसिमका योजना नल्याउन पनि चेतावनी दिएका छन् । आफूहरूले जनतालाई बीमा के हो ? भनेर बुझाएर ठिक्क पारेको व्यवसाय बैंकले खोस्दा सैह्य नहुने अभिकर्ताहरूको भनाई छ ।
विगतमा बैंकास्योरेन्समा समस्या देखिएको स्वयम बीमा कम्पनीहरूले पनि स्वीकार गरेका छन् । तर बैंकास्योरेन्सको समस्या कहिंकतै रहे पनि यति राम्रो कार्यक्रमलाई जरैदेखि नष्ट गर्न आवश्यक नरहेको बीमा कम्पनीका सीईओहरूको तर्क छ ।
राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने समय नजिकिरहेको छ । सोही सन्दर्भमा फेरि बैंकास्योरेन्स सञ्चालनमा आओस् भन्ने आशा उनीहरूमा पाइएको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा बीमा कम्पनीले बैंकास्योरेन्स सञ्चालनलाई राष्ट्र बैंकले पुर्नविचार गर्न आवश्यक रहेको बताएका छन् । बैकास्योरेन्स अन्तर्राष्ट्रिय बीमा बजारमा सञ्चालनमा छ । तर नेपालमा यसको थालनी भएसँगै केही समस्या पनि देखा परेकाले बन्द गरिएको थियो ।
मुख्यतया बीमा क्षेत्रका अभिकर्ताहरूले बैंकास्योरेन्स नेपालका लागि सही नभएको तर्क गरेका छन् । बीमा क्षेत्रमा बैंकास्योरेन्सले आफूहरूलाई समस्या सिर्जना गरेको उनीहरूले दाबी गरेका छन् ।
पेशागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले बैकास्योरेन्स अभिकर्ताको हकहितमा नरहेको बताउँछन् । उनले पहिले नै यसलाई बन्द गरिसकेकाले फेरि यो सञ्चालनमा आउने सम्भावना न्यून रहेको बताए । तिवारीले भने, ‘अब बैंकास्योरेन्स नल्याउने, यसबाट अप्ठ्यारो पर्यो भन्ने कुरा विगतमा उठेको थियो । सोही अनुसार बन्द पनि भो । त्यसले अभिकर्ताको रोजीरोटीमा हनन् गर्यो । हामी त यो नआओस् भन्ने नै चाहान्छौं ।’
उनले यसबाट बैंकका कर्मचारीहरूको बढुवामा समस्या हुने, अभिकर्ताले बीमा गर्न तयार बनाएका व्यवसाय बैंकले खोस्ने लगायका समस्या देखिएको अनुभव सुनाए । बैंकास्योरेन्सले व्यवसायको केही हिस्सा बढाउन सघाए पनि यो हटेपछि व्यवसाय झन राम्रो भएको तिवारीको दाबी छ ।
सन नेपाल लाइफका सीईओ राजकुमार अर्यालका अनुसार बैंकास्योरेन्स जरुरी रहेको र त्यसका लागि एउटा मापदण्ड भने तयार गर्न आवश्यक छ । उनले कर्पोरेट नेपालसँग भने, ‘बैंकास्योरेन्स बीमा बजारलाई आवश्यक कुरा हो । तर यसका लागि आवश्यक मापदण्ड भने बनाउनुपर्छ । बैंकास्योरेन्समा बैंकले के गर्ने ? र बीमा कम्पनीले के गर्ने ? भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ । कस्तो प्रोडक्ट बेच्न पाइने र कस्तो प्रोडक्ट बेच्न नपाइने ? भन्नेमा स्पष्ट हुनुपर्छ ।’
अर्यालले भोलि कुनै किसिमका विवाद सिर्जना भएमा त्यसलाई कसरी समाधान गर्ने ? भन्ने सन्दर्भमा पहिले नै तयार हुनुपर्ने बताए ।
सगरमाथा इन्स्योरेन्स कम्पनीमा सीईओ चंकी क्षेत्रीले भने, ‘बैकास्योरेन्स चाहिने कुरा हो । यो त अरुतिर पनि चलिरहेको कुरा हो । बैंक भनेको वितरणको माध्यम पनि हो । त्यस्तो माध्यम नै रोक्ने कुरा अलि सुहायन । भन्ने बेलामा ग्रामीण भेगसम्म पुग्ने र जनताको पहुँच बढाउने कुरालाई जोड दिइन्छ । तर माध्यम नै बन्द गरेर त कसरी पुग्नु ? बैंकास्योरेन्स नबुझेर मात्रै यसमा दिनुपर्ने जोड कम भएको हो ।’
सानिमा जनरल इन्स्योरेन्स कम्पनीका सीईओ सुध्युम्न उपाध्यायले भने, ‘मौद्रिक नीतिले नै बैंकास्योरेन्सलाई रोक्का गरेको हो । यसलाई बीमा समितिले रोकेको होइन । बैंकास्योरेन्सको अवधारण निर्जीवन बीमाभन्दा पनि जीवन बीमासँग केन्द्रित हुन्छ । जीवन बीमालाई नै यसले बढि प्रभाव पार्ने भएकाले निर्जीवनमाभन्दा उताको अवस्था अनुसार यो आउने नआउने निर्धारण हुन्छ ।’
यता बीमा समितिले भने बैंकास्योरेन्सको विषयमा आवश्यक परे राष्ट्र बैंकले केही सुझाव माग्नसक्ने बताएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कर्पोरेट नेपालसँग भने, ‘बैंकास्योरेन्स बैकको तर्फबाट रोकिएको हो । बीमा समितिले रोेकेको होइन । यदी यसलाई ल्याउन आवश्यक भएमा बीमा कम्पनीका सीईओहरूले बैंकसँग छलफल गर्न सक्छन् । आवश्यक परेको ठाउँमा हामी सहकार्य गर्न तयार छौं ।’
बैंकास्योरेन्स जीवन तथा निर्जीवन बीमा कम्पनी दुवैले गर्दै आएका थिए । बैंकास्योरेन्सबाट बीमा गर्नेको पोलिसि ‘ल्याप्स’ बढेकाले यसमा कम्पनी पनि केही हच्किएका थिए । तर व्यसायलाई निरन्तर बनाउने वातावरण सिर्जना गर्दै बैंकास्योरेन्स सञ्चालन गर्नुपर्ने पक्षमा बीमा कम्पनीहरू देखिन्छन् ।