प्रविधिले गर्दा सेयर बजार बढ्यो, प्रविधिले गर्दा बीमाको पहुँच पनि बढ्छः जीवन बीमक संघ

Advertisement

काठमाडौं । अहिले बीमाको पहुँच पाँच प्रतिशतले वृद्धि गर्न केही कठीन भए पनि असम्भव भने नभएको जीवन बीमक संघले दाबी गरेको छ । कोरोना महामारीका कारण आफ्ना योजना केही हदसम्म प्रभावित हुने सम्भावना रहे पनि बीमाको पहुँच वृद्धि नरोकिने संघले बताएको हो ।

अहिले बीमा कम्पनीहरू धमाधम पहुँच वृद्धिको योजनामा जुटिरहेका छन् । सरकारले बीमाको पहुँच ३३ प्रतिशत पुग्ने लक्ष्य वार्षिक कार्यक्रममा पनि समावेश गरेको छ । बीमा समितिले दिएको जानकारीअनुसार बीमाको पहुँच अहिले २७ प्रतिशत छ । यो पहुँच भनेको वैदेशिक रोजगारीमा जानेहरूलाई समेत समेट्दाको तथ्यांक हो ।

Advertisement

बीमा क्षेत्रका जानकारहरूले धेरै नागरिकले धेरै वटा बीमा गर्ने भन्दापनि एउटै व्यक्तिले धेरै बीमा खरीद गर्ने गरेको बताएका छन् । यसबाट बीमा बुझ्ने धेरै भएर पहुँच बढेकोभन्दा सीमित व्यक्तिले धेरै बीमा गरेर पहुँच बढेको उनीहरूले बताएका छन् ।

जीवन बीमक संघका उपाध्यक्ष पोषकराज पौडेलका अनुसार प्रविधिमैत्री वातावरण बन्दै गए बीमाको पहुँच वृद्धि असम्भव छैन । उनले सेयर बजारको उदाहरण दिँदै भने,‘अहिले प्रविधिमा ग्राहकहरूको आकर्षण राम्रो छ । हामीले त्यसका लागि सयेर बजारलाई हेरे पुग्छ । विगतमा सेयर बजारको पनि पहुँच कम थियो । अहिले प्रविधिको पहँुच बढेसँगै सेयर बजारमा ग्राहकको सहभागीता उल्लेख्य रूपमा बढेको छ । बीमा क्षेत्रमा पनि प्रविधि भित्रिँदा आकर्षण बढ्छ भन्ने हाम्रो अनुमान हो ।’

अहिले घरमा बसेर नै प्रविधिसँग जोडिएर कोरोबार गर्न चाहने तथा बीमा गर्न चाहने नागरिकको संख्या धेरै रहेको संघको अनुभव छ । 

बीमा पहुँच वृद्धिसम्बन्धी जीवन बीमक संघको धारणा
प्रविधि भनेको जानेकोले नजानेकोलाई सिकाउने विषय वस्तु हो । सेयर बजारमा अनलाईनबाटै लगानी गर्नसक्ने लगानीकर्ताहरूले सोही माध्यमबाट बीमा पनि गर्न सक्छन् ।  बीमा लक्षित अनलाइनको सुविधा सिर्जना गर्नुपर्ने समयमा हामी प्रवेश गरिसकेका छौं ।

अहिलेको नागरिक पनि प्रविधिको ज्ञान लिन अग्रसर छन् । सोही कारण बीमितलाई केही कुरा सिकाएको अवस्थामा मात्रै पनि प्रविधिबाटै बीमा गर्ने बीमितको संख्या बढ्दै जान्छ । अहिले हामीले ठूला ठूला परिवर्तन भएको पाउन सक्छौं ।

सरकारले करको दायरा वृद्धि गर्नु अहिलेको आवश्यकता थियो । प्रविधिको पाटोबाट सबैले आ–आफ्नो ठाउँबाट केही गर्न पाएको भए हुन्थ्यो । तर अहिले त्यस्तो भएन । अब कम्पनी, बीमा समिति र अभिकर्ताहरू मिलेर काम गरेमा अझै पनि राम्रो हुन्छ ।

कुल ग्राहस्थ उत्पादन (जीडीपी) बढाउनका लागि बैंकहरूलाई पनि सरकारले केही टार्गेट तोकेको हुन्छ । तर बैंकले सोही टार्गेटअनुसार काम त गर्ने होइन । बैंकले आफ्नो काम गरेको अवस्थामा सरकारको टार्गेट भेट्ने हो । त्यस्तै, बीमा कम्पनीले पनि सरकारको जीडीपीको लागि काम गर्ने होइन । तर कम्पनीले पनि आफ्नो योजनाअनुसार सही ढङ्गले काम गर्दा सरकारका उद्देश्यसमेत पूरा हुने हो ।

संघको आँखामा पहुँच वृद्धिमा चुनौति
बीमा गर्दा पाइने छुटको दायरा निक साँघुरो छ । उक्त दायरालाई बढाउँदै लैजानुपर्छ । त्यस्तो बनाईएमा ठूलो  लगानी गर्नेहरूको पनि बीमामा आकर्षण बढ्छ । अहिले सरकारले बीमा जागरणका लागि काम गर्नुपर्ने अवस्था छ । सरकारले बीमा चेतना बढाउनका लागि काम गर्नुपर्ने अवस्था छ । 

बीमा जागरणको काम गर्न सरकारले कन्सुस्याइँ गर्दै आएको छ । निजी क्षेत्रले सबै काम गर्छन् भनेर सरकार ढुक्क बसेको अवस्था छ । विगतमा बैंकिङ पहुँच कमजोर हुँदा त्यसमा सरकारले सुविधा र प्रोत्साहन दिँदै आएको थियो । तर बीमामा त्यस्तो सुविधा र पहुँच छैन् । अहिले अधिकांश राष्ट्रिय संरचनाहरू नै बीमाको पहुँच बाहिर छन् ।

अघिल्लो आर्थिक वर्षमा ३०–३२ बुँदामा बजेटले बीमालाई समेटेको थियो । यस पटक भने १०–१२ बुँदामा मात्र सीमित रहेको छ । एकातिर बीमा चेतना बढाउन जरूरी छ भने अर्कोतिर बीमा वितरणका माध्यमहरूलाई आधुनिकीकरण गर्न जोड दिन जरूरी छ ।

मुख्य कुरा भनेको बीमामा डिजिटल्ली काम हुने बाटो खुल्ला गर्न आवश्यक छ । अहिले प्रविधिमा जोड दिने भनिए पनि सेमि–डिजिटलरूपमा मात्रै काम भइरहेका छ । अनलाईन पोलिसि इस्यू गर्न मिल्ने किसिमले पूर्ण डिजिटल वातावरणको सिर्जना गर्न आवश्यक छ । त्यसमा पनि केही समस्या विद्यमान छन् । उक्त पोलिसि नै अनलाईनबाटै इस्यू गर्न मिल्ने हिसाबले बाटो फुकुवा गर्न जरूरी छ । यसका लागि बीमा समितिलगायत हामी बीमा कम्पनीहरू पनि जागरुप हुन जरुरी छ । 

प्रविधिले कसरी बढाउँछ बीमाको पहुँच ?
प्रविधिको प्रयोग बढ्दा बीमाको पहुँच बढ्दै जान्छ । यसमा हामीले अहिलेकै परिस्थितिलाई जोडेर हेर्न सक्छौं । अहिले नागरिकहरू लकडाउनको कारण घरबाहिर निस्किने अवस्थामा छैन्न् । तर पनि अहिले कतिलाई त बीमा गर्नुपर्ने भएको हुनसक्छ । प्रविधिबाटै बीमा सम्भव भयो भने त बीमितले अहिले पनि बीमा गर्थे । त्यस्तै, अन्य बेलामा पनि बीमा कम्पनीमा आएर लाइन बसेर बीमा गर्नुभन्दा आफ्नै मोवाइल, कम्प्यूटरबाट बीमा गर्न सर्वसाधारणलाई सहज हुन्छ ।  

अभिकर्ताहरूले घरघरमा गएर मात्रै बीमाको बारेमा भन्नुपर्ने बाध्यता छ । अनलाईनबाटै बीमा गर्न र दाबी भुक्तानी लिन मिल्यो भने अभिकर्ताले बीमाका लागि हातमा पर्चा बोकेर बीमितको घर दैलोमा दौडिनुपर्ने अवस्थामा कम हुन्छ । 

सबै अभिकर्ताले प्रविधिको अवरोध गरेका छैनन्
केही पूराना अभिकर्ताले प्रविधिमैत्री हुन असहज मानेकोले प्रविधिको विरोध गरेको हामीले पाएका छौं । तर सबै अभिकर्ताले विरोध गरेका छ्रैनन्् । विगतमा पनि पूराना बैंकमा कम्प्यूटर राख्नेभन्दा विरोध भएको थियो । १० जनाको काम कम्प्यूटरले गर्छ र कर्मचारीको जागिर धरापमा पर्छ भन्ने भ्रम विगतमा पनि थियो । तर यसरी प्रविधिले रोजगारी खोस्छ भन्नु त अभिकर्ताको बुझाईमा कमजोरी मात्रै हो ।

अभिकर्ताको जागिर प्रविधिले खाँदैन । यसले उनीहरूलाई नै थप सहज हुन्छ । फेरि यो कुरा नयाँ अभिकर्ताले बुझेका छन् । केही पूराना अभिकर्तालाई यसमा अभ्यस्त हुन समस्या देखिएको छ । जीवन बीमक संघ पूराना अभिकर्ताले पनि बिस्तारै सबै कुरा बुझ्दै जाने विश्वासमा छ । तर यसका लागि केही समय लाग्ने देखिन्छ । 

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सुरू गर्दा धेरै विरोध आएको थियो । तर बिस्तारै एक दशकपछि मात्रै यो कर प्रणाली निर्वाधरूपमा सञ्चालन भएको छ । कुनै नयाँ कुरा ल्याउँदा बजारले केही समय लिने र त्यसले बिस्तारै पूर्णता पाउँने विश्वास हामी जीवन बीमकहरूको छ ।

एकै वर्षमा पाँच प्रतिशत बीमा पहुँच बढाउन अहिलेको समयमा कोरोना महामारीले असर गर्ने भए पनि बिस्तारै त्यो सम्भव हुने छ । अहिले वैदेशिक रोजगारीको बीमा करिब बन्द जस्तै रहेको र कोरोना महामारीको प्रभाव कहिलेसम्म रहने हो ? भन्ने टुंगो नहुँदा बीमाको पहुँच विस्तार सहज छैन् । यद्यपि सरकारको लक्ष्यअनुसार ३३ प्रतिशत पहुँच विस्तार हुने आशाका साथ हामीहरू पनि लागिपरेका छौं । 

Advertisement

Advertisement