काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूका लागि यसअघि तोकेको चुक्तापूँजीको सीमा बढाउने भनेपछि कम्पनीहरू झस्किएका छन् । समितिले पूँजीको सीमा अहिले साँघुरो भइसकेको भन्दै बढाउने भनेपछि कम्पनीहरूले असन्तुष्टि जनाएका हुन् ।
हालसम्म जीवन बीमाको न्यूनतम् चुक्तापूँजी दुई अर्ब रूपियाँ र निर्जीवन बीमा कम्पनीको एक अर्ब रूपियाँ हुनुपर्ने व्यवस्था छ । समितिका अध्यक्ष सूर्य सिलवालले उक्त सीमा धेरै अघि कायम गरिएकाले अब दायरा बढाउनुपर्ने बताए ।
उनले कर्पोरेट नेपालसँग भने, ‘अहिलेको चुक्तापूँजीको व्यवस्था पुरानो भइसक्यो । अब हामीले नयाँ व्यवस्थाअनुुसार पूँजीको दायरा निर्धारण गर्नुपर्छ ।’ यता कम्पनीहरूले भने पूँजी बढाउने कुरा सामान्य नभएको भन्दै भन्ने बित्तिकै पूँजी सहजै बढाउन नसकिने बताएका छन् ।
प्रिमिययर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाका अनुसार अहिले बीमा कम्पनीहरू पूँजी वृद्धि गर्ने अवस्थामा छैनन् । उनले भने, ‘अहिले नै पूँजी वृद्धि गर्नु भनेको त बीमा कम्पनीलाई सिधै मर्जरमा जाउँ भने जस्तै हो । यो अवस्थामा ५० प्रतिशत कम्पनीले पनि पूँजी बढाउन सक्ने अवस्था छैन ।’
अहिलेकै चुक्तापूँजी कम्पनीहरूले मुस्किलले पुर्याएकाले तत्कालै बढाउने कुरा उपयुक्त नहुने तिमिलाको भनाई छ ।
बीमा कम्पनीको पूँजीको अवस्था
बीमा समितिले उपलब्ध गराएको जेठ महिनासम्मको तथ्यांकमा केही जीवन तथा तथा निर्जीवन बीमा कम्पनीले आफ्नो चुक्तापूँजी उपब्ध गराएका छैनन् । साथै, कतिपय कम्पनीले वेभसाइटमा सार्वजनिक गरेको वित्तिय विवरणमा समेत चुक्तापूँजी उल्लेख गरिएको छैन् ।