काठमाडौं । बीमा कम्पनीहरूले भिन्न भिन्न किसिमका प्रोडक्ट बेच्न संभव नरहेको दाबी गरेका छन् । अहिले नाम फरक भए पनि एकै प्रकृतिको प्रोडक्टहरू बेच्दै आएका कम्पनीहरूले हरेक कम्पनीपिच्छे फरक फरक प्रोडक्ट तयार गर्न नसकिने बताएका हुन् ।
बीमा कम्पनीका एक अधिकारी भन्छन्, ‘प्रोडक्ट उस्तै हुनु पनि आफैमा नराम्रो होइन् । अहिले सबै बैंकले एकै किसिमको सेवा दिइरहेको जस्तै बीमामा पनि एउटै प्रोडक्ट सबैले बेच्न पाउनुपर्छ ।’
बीमा समितिले भने गाइडलाइन नै तयार गरेर बीमा कम्पनीहरूको प्रोडक्टमा भिन्नता ल्याउनु जरुरी रहेको बताएको छ । कम्पनीहरूले एकै किसिमका प्रोडक्ट ल्याएमा अब स्वीकृति नदिने समितिले बताएको छ । बजारमा बीमितिले नयाँ किसिमका बीमा प्रोडक्टको अपेक्षा गरिरहेको भन्दै समितिका अध्यक्ष सूर्य सिलवालले उनीहरूको चाहनाअनुसारको प्रोडक्ट तयार गर्नुपर्ने बताए ।
यता कम्पनीहरूले भने नयाँ प्रोडक्ट ल्याउन समितिले अनावश्यक दबाब दिनु जरूरी नरहेको बताएका छन् । जीवन बीमक संघका एक पदाधिकारीले बैंकले व्यवसाय पनि गरिरहेको र आफ्ना ग्राहक पनि सन्तुष्ट पारिरहेको तर्क दिँदै भने ‘राष्ट्र बैंकले जसरी बैंकहरूलाई सहजीकरण गरिरहेको छ, त्यसैगरी बीमा समितिले पनि बीमा कम्पनीको व्यापार व्यवसायमा सहजीकरण गर्नुपर्छ । दुःख दिन हुन्न ।’
नयाँ प्रोडक्ट नल्याए दायरा बढ्र्दैन्ः समिति
समितिका अध्यक्ष सिलवालले कम्पनीहरूले नयाँ किसिमका बीमा प्रोडक्ट ल्याउन पहल गर्नुपर्ने बताए । उनले भने,‘ जति फरक किसिमका प्रोडक्ट ल्यायो, त्यति नै बीमा कम्पनी आफैं लाभान्वित हुन्छन् । नयाँ प्रोडक्टले फरक फरक आयस्तर भएका जनताका लागि काम गर्छ र बीमितको संख्या बढ्छ ।’
नयाँ प्रोडक्ट खोजी गर्ने काम कम्पनीहरूको हो भन्दै सिलवालले जति नयाँ किसिमका प्रोडक्ट बजारमा आउँछ, त्यति नै नयाँ ग्राहक बीमामा जोडिने बताए । सकेसम्म सबै कम्पनीले बेग्लाबेग्लै किसिमका प्रोडक्ट ल्याउन पनि उनले सुझाव दिए ।
नेपालमा नविन बीमा प्रोडक्ट ल्याउन कम्पनीले त्यति धेरै मेहनत नगर्ने गरेको समितिको ठहर छ । कुनै एउटा कम्पनीले प्रोडक्ट ल्यायो भने त्यस्तै नक्कल गरेर अर्कोले नयाँ नाममा प्रोडक्ट जारी गर्ने प्रवृत्ति रहेको बताउँदै समितिले कम्पनीहरू सबैले पूराना प्रोडक्ट बेच्ने गरेकाले बीमामा मानिसहरूको आकर्षण कम हुने गरेको बताएको छ ।
सिलवाल थप्छन्, ‘एउटै प्रोडक्ट बेच्नका लागि धेरै कम्पनी खोलिएको होइन् ।’ उस्तै प्रोडक्ट बेच्न धेरैवटा कम्पनी किन चाहियो ? सिलवालले प्रश्न गरे । सबै कम्पनीको एउटैले र उस्तै खालको प्रोडक्ट बेच्नुभन्दा पनि कम्पनी अनुसार नविन र आकर्षक प्रोडक्ट बेच्नतर्फ लाग्नुपर्छ ।’
बसी–बसी खाने खालका सीईओले कुनै खोज अनुसन्धान नगर्ने गरेको पनि उनको आरोप छ । सिलवालले भने, ‘बसेर मोटो रकम तलब सुविधा खाने नविन प्रोडक्ट ल्याउन पनि मेहनत गर्नुपर्यो नि । आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो आय ह्वात्तै बढेको देखाउने कुराले अब चल्दैन् ।’ अहिले बेचिरहेको प्रोडक्ट रोक्ने नभई अबका प्रोडक्ट नयाँ खालको हुनुपर्ने उनको तर्क छ ।
बीमा क्षेत्रले सबै खालका क्षेत्रलाई नसमेटेसम्म यसको बजार विसतार गर्न नसकिने सिलवालको विश्लेषण रहेको छ । कम्पनीले ल्याउने प्रोडक्टको कस्तो हुनुपर्छ ? भन्नेबारे समितिले गाइडलाइन तयार गरिरहेको जानकारी दिँदै उनले सोही अनुसार उनीहरू प्रोडक्ट विकास गरी ल्याउनुपर्ने बताए । नयाँ खालका प्रोडक्ट आउँदा कम्पनीहरूकै व्यवसाय बढ्ने सिलवालले बताए ।