काठमाडौं । बिगत एक दशकदेखि लेखापरीक्षण सम्पन्न गर्न नसकेका सरकारी स्वामित्वका दुई कम्पनीहरू राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई अर्थ मन्त्रालयले समय तोकेर लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।
तोकिएको मितिमा लेखापरीक्षण सम्पन्न नगरे दुवै कम्पनीका व्यवस्थापकहरूको तलब सुविधा नै रोक्का गरिने मन्त्रालयले चेतावनी दिएको हो । लेखापरीक्षण चाँडै सकेर साधारणसभा गर्न दुवै कम्पनीलाई बीमा समिति, महालेखापरीक्षकको कार्यालय र अर्थ मन्त्रालयले पटक पटक निर्देशन दिए पनि अटेर गरेपछि मन्त्रालयले तलब सुविधा नै रोक्नेसम्मको चेतावनी दिएको हो ।
अर्थ मन्त्रालय संस्थान महाशाखाका प्रमुखसमेत रहेका सहसचिव दीर्घराज मैनालीले बारम्बार सचेत गराउँदा पनि दुवै संस्थानले लेखापरीक्षण गर्न ढिलाई गरेकाले व्यवस्थापकहरूको तलब सुविधा रोक्ने चेतावनी दिनुपरेको बताए । उनले दुवै संस्थाले तोकिएको समयसीमाभित्र लेखापरीक्षण सक्ने प्रतिवद्धता जनाएको बताउँदै नसके नसके बाध्य भएर तलब सुविधा रोक्ने बताए ।
अर्थ मन्त्रालयले आउँदो असोजभित्र आर्थिक बर्ष २०७५–७६ सम्मको लेखापरीक्षण सक्न र पुसम्म २०७६–७७ को सक्ने दुवै कम्पनीलाई लिखितरुपमै निर्देशन दिएको छ । त्यस्तै निर्देशन महालेखाले पनि दिएको छ भने बीमा समितिले पनि दिएको छ । समितिले लेखापरीक्षण छिटो सकेर साधारणसभा चाँडै सक्न सबै किसिमका सहजीकरणको लागि आफू तयार रहेको बताउँदै आएको छ ।
बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले भने विभाजनका क्रममा पूरानो हिसावकिताव मिल्न नसकेको र पूरानो कारोबार गन्जागोल भएकाले लेखापरीक्षण सक्न कठिनाई भएको गुनासो गर्दै आएका छन् ।
सहसचिव मैनालीले अहिलेको प्रतिस्पर्धी समयमा बर्षौंसम्मको लेखापरीक्षण नगरी बस्दा कसरी ती संस्थानहरू अघि बढ्नसक्छन् ? भन्दै सरकारी संस्थानले सधैं सरकारको मुख ताकेर मात्रै नहुने र प्रतिस्पर्धी एवं व्यवसायिक हिसावले काम गर्न सक्नुपर्ने बताए ।
बीमा समितिले कर्पोरेट नेपाललाई दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७१–७२ र २०७२–७३ को व्यासेन्स सिट राष्ट्रिय बीमा कम्पनीले पठाइसकेको छ । स्वीकृति दिएका वर्षको साधारण सभा गर्नसक्ने भए पनि समितिले बीमा संस्थान र कम्पनीलाई सबै वर्षको साधारण सभा एकै पटक गर्न सुझाव दिएको छ । तर कम्पनीले भने एकै पटकभन्दा पनि स्वीकृति पाएका वर्षका साधारण सभा सक्दै जाने इच्छा प्रकट गरेको छ ।
कम्पनीको आर्थिक वर्ष २०६९–७० देखिको साधारण सभा गर्न बाँकी छ । त्यस्तै संस्थानको त्योभन्दा अघिदेखिको साधारणसभा गर्न बाँकी छ । संस्थानका प्रशासक कविप्रसाद पाठकका अनुसार बाँकी रहेका साधारणसभामध्ये तीन वर्षको साधारणसभा गर्न समितिले स्वीकृति दिइसकेका छ । उनले कर्पोरेट नेपालसँग भने, ‘हामी पनि साधारण सभा समयमै गर्नुपर्छ भन्ने किसिमले लागिरहेका छौं । यही असारभित्रै गर्न त भ्याइँदैन । तर अर्थ मन्त्रालयले दिएको पत्रको मितिसम्म चाहीं भ्याइने सम्भावना पनि छ ।’
उनले साधारण सभा गर्न समस्या नरहेको तर त्यो भन्दा पहिला लेखापरीक्षणको काम सक्न भने केही समय लाग्ने बताए । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. डिल्लीराज अधिकारीले भने यस विषयमा कुरा गर्न मानेनन् ।