राष्ट्रिय बीमा कम्पनीले ‘इन्साइडर ट्रेडिङ’ गरेको प्रमाण बीमा समितिले नदिए चुप बसिन्नः अर्याल

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. डिल्लीराज अर्यालले आफ्नो कम्पनीका कर्मचारीकै संलग्नतामा कम्पनीको सेयरको ‘इन्साइडर ट्रेडिङ’ भइरहेको बीमा समितिको आरोपप्रति आपत्ति जनाएका छन् । उनले उक्त आरोप पुष्टि गर्न चुनौति दिँदै पुष्टि नगरे चुप लागेर नबस्ने चेतावनी दिएका छन् । 

कसैले ‘इन्साइडर ट्रेडिङ’ भएको विषय उठाउँछ भने उ प्रमाणसहित आउनुपर्छ भन्दै अर्यालले आफ्ना कर्मचारी त्यस्तो कार्यमा संलग्न रहेको प्रमाण देखाए आफूले कारवाही गर्ने देखाउन नसके चुप लागेर नबस्ने बताए । 

Advertisement

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य अस्वाभाविकरुपमा वृद्धि गरेर २२ हजार रुपियाँ पुर्याइएको र यसमा कम्पनीकै कर्मचारीको समेत संलग्नता रहेको समितिकै उच्च अधिकारीले बताएका थिए । समितिको सो दावीको खण्डन गर्दै अर्यालले कम्पनीका हजारौं लगानीकर्ताको मनोबल गिराउने किसिमले अभिव्यक्ति नदिन चुनौति पनि दिए । यस्ता संवेदनशील आरोप सजिलै लगाउन नमिल्ने उनको तर्क छ ।

बजारको मनोविज्ञानलाई असरपार्ने मात्रभन्दा पनि वास्तविकता के हो ? भन्ने तिर जान अर्यालले सुझाव दिए । समितिले भने राष्ट्रिय बीमा कम्पनीकै कर्मचारीसमेतको संलग्नतामा कम्पनीको सेयरमा ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको सत्य भएको भन्दै यस कुरालाई आफूहरूले पनि सुक्ष्म निगरानी गरिरहेको बताएको थियो । 

अर्यालले भने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले नै अहिलेसम्म कुनै पनि बीमा कम्पनीको ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको तथ्य पत्ता लाउन नसकेको अवस्थामा समितिले कसरी देख्यो ? भन्दै प्रश्न गरे । उनले यस्ता समाचार लेख्ने हिम्मत समेत नगर्न कर्पोरेट नेपाललाई चेतावनी दिए । 

अर्यालले भने, ‘‘इन्साइडर’ भयो भनेर कस्ले भनेको हो ? त्यो स्रोत त मैले पनि थाहा पाउनुपर्यो नि ।’ उनले बीमा समितिको कुन कर्मचारीले ‘इन्साइडर ट्रेडिङ’को विषयमा बोल्ने हिम्मत गरेको हो ? उनैसँग सिधा बहस गर्न आफू तयार रहेको बताए । राष्ट्रिय बीमा कम्पनी डुबाउनभन्दा पनि सबैले यसमा रहेका समस्या समाधान गरेर अघि बढ्नुपर्ने अर्यालको तर्क छ । 

नेपालको सेयर बजार अनिश्चित खालको रहेको र यसको फाइदा केही मानिसहरूले उठाउने गरेको भन्दै बीमा समितिबाटै तथ्यहिन कुरा गरिएबाट सेयर बजारका त्यस्ता मानिसहरूले फाइदा उठाउने बताए । 

सम्बन्धित निकायले ध्यानाकर्षण गर्नु राम्रो कुरा भए पनि समस्याको मूल जड समातेर त्यसको समाधानतर्फ लाग्नु पर्नेमा समस्या सिर्जना गर्ने काम गर्न नहुने भन्दै सीईओ अर्यालले रिस फेर्न मात्रै आरोप लगाउने काम राम्रो नहुने बताए । 

बीमा समितिका उच्च अधिकारीलाई पुनः सोध्दा पनि राष्ट्रिय बीमा कम्पनीको सेयरमा कम्पनीकै कर्मचारीबाट ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको तथ्य सही भएको दोहोर्याए । उनलै भने, ‘यो कुरा सही हो । सही समाचार लेख्ने कार्य नछोड्नुस ।’

  

 
 
 

Advertisement

Advertisement