काठमाडौं । बीमा समितिले आफूले आधिकारिक जानकारी पाएमा अभिकर्ता नेटवर्किङ रोक्न निर्देशन दिने बताएको छ । समितिले अभिकर्ताहरूले नेटवर्किङ गरेर पूरानाले नयाँबाट कमिशन खाने गरेको पाइएको भन्दै यो गलत भएको बताएको छ ।
समितिका अध्यक्ष सूर्य सिलवालले भने, ‘काम गर्ने एउटा छ । कामै नगरी खाने अभिकर्ताको गिरोह हुँदो रहेछ । हामीले नेटवर्किङ व्यवसाय गैरकानुनी भन्दै आयौं । यहाँ बीमामै यस्तो प्रवृत्ति रहेछ । नेटवर्किङ बनाएर एकथरी अभिकर्ताले दुःख गरेर काम गर्ने अर्कोले बसिबसि कमिशन खाने कुरा गर्न मिल्दैन् ।’
बीमामा नेटवर्किङ गरेर माथिका अभिकर्ताले बसिबसि खाने प्रवृत्ति आफूले बल्ल चाल पाएकोले यस्तो विकृतिलाई रोक्ने उनले बताए । सिलवालले भने, ‘उहाँहरूको इजाजत हामीले नै दिने हो । बदमासी गर्दा कारबाही गर्ने पनि हामी हो । विराटनगरमा एउटा अभिकर्ताले उठाएको पैसा अर्काले खाएको घटना पनि हामीले पाएका छौं । त्यस्ता कुरा अनियमित, अनैतिक र गैरकानुनी हो । हामीले त्यस्ता सुधार ल्याउँछौं ।’
उनले कुनै पनि अभिकर्ता कम्पनीकै सिफारिसमा बन्ने भएकाले समितिले कम्पनीलाई नै यस्ता विषयमा सचेत रहन सुझाव दिँदै आएको बताए । अभिकर्ताले आफूले पाउने कुरा नियममा नै उल्लेख भएकोले नेटवर्किङ गरेर एउटा अभिकर्ताले दुःख गर्ने, अर्कोले कमिशन खाने कुरा मिल्दैन् भने ।
अभिकर्ता नेटवर्किङ बन्द गर्न आवश्यक परेमा बीमा समितले निर्देशन दिने बताएको छ । तर तत्कालका लागि नेटवर्किङ चलिरहेको र त्यसमा बीमा समितिमा गुनासा आउनुपर्ने समितिको तर्क छ ।
पूराना अभिकर्ताले कमिशन खाएर नयाँ अभिकर्तालाई मर्का परेको भए सिधै बीमा समिति आउन अध्यक्ष सिलवालले आह्वान गरे । उनले लिखित रूपमा नै जानकारी आएमा त्यही अनुसार काम कारबाही गर्न सहज हुने बताए ।
पहिलो अभिकर्ताको पनि कमिशन खाने उसको पनि पहिलो अभिकर्ता को हो ? त्यो ठ्याक्कै थाहा पाएमा हामीले काम गर्छौं । तर अहिले अनौपचारिकतामा मात्रै यो विषय सिमित छ । भोलि आवश्यक पर्यो भने त हामीले अवश्य पनि छानविन गर्छौं ।
त्यस्तै, बीमा कम्पनीहरूले अभिकर्ता नेटवर्किङले बीमा क्षेत्रमा ठूलो समस्या पारेको जानकारी दिएका छन् । एउटा कम्पनीमा काम गरिरहेका अभिकर्ता अर्को कम्पनीमा काम गर्न जाँदा त्यसले समेत समस्या सिर्जना गरेको गुनासो युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमारलाल कर्णले बताए ।
अभिकर्ताले एउटा कम्पनीमा मात्रै बीमा गर्न मिल्ने कानुनी व्यवस्था छ । बीमा अभिकर्ताको इजाजत पाएका जिम्मेजार व्यक्तिले नै कमिसनको लागि एउटाभन्दा बढि कम्पनीमा काम गर्ने गरेको देखिन्छ ।
अर्का एक जीवन बीमा कम्पनीका सीईओले कर्पोरेट नेपालसँग भने, ‘अभिकर्ताहले त अहिले वार्गेनिङ गर्न थालेका छन् । धेरै वटा कम्पनीसँग सल्लाह गर्ने अनि जता कमिशन धेरै हुन्छ, उतैतिर व्यवसाय लाने गरेका छन् । यो त विकृति हो । अब पेशागत अभिकर्ता हामीलाई चाहिएको छ । यस्ता कुरामा बीमा समितिले पनि ध्यान दिन जरूरी छ ।’
राष्ट्रिय बीमा संस्थानका अभिकर्ता गोपाल उपाध्यायकाअनुसार अभिकर्ता नेटवर्किङ बीमा क्षेत्रको विकृतिको रूपमा रहँदै आएको छ । विगत २० बर्षदेखि अभिकर्ता पेशामा संलग्न उनले भने, ‘नेटवर्किङ सिस्टम लोभले लाभ लाभले विलाप जस्तै हो । अनुभवबिहीन, अध्ययन नभएका व्यक्ति बजारमा जाँदा बीमितले सत्य कुरा थाहा पाउँदैनन् । नेटवर्किङ सिस्टमले साँचो अर्थमा नागरिकमा एकदमै नकारात्मक प्रभाव पारेको छ ।’
उनले नेटवर्किङ गरेर सव–एजेन्ट बनाउँदा त्यसको दण्ड वा पुरस्कार कसले व्यहोर्ने भन्ने व्यवस्था हुनुपर्ने बताए । उपाध्यायले थपे, अभिकर्ता नेटवर्किङ एकदमै मज्जाले रोक्न सम्भव छ । सव–एजेन्ट खारेज गर्नुपर्छ । यो सम्भव पनि छ । बीमा समिति यसको सम्बन्धित निकाय भएकाले समितिले यो खारेज गर्नुपर्छ ।’
अल्पज्ञानी, बिना तालिम, बिना अध्ययनका मान्छे बजारमा अभिकर्ता भनेर डुल्दा त्यसको निगरानी बीमा समितिले नै गर्नुपर्ने उनको धारणा छ । तोकेर निश्चित गरिएअनुसार अभिकर्ताले वार्षिक व्यवसाय गर्नुपर्ने हुन्छ । त्यस्तो टार्गेट पूरा गरेका अभिकर्ता वरिष्ठ अभिकर्ता हुन्छन् । त्यस्ता अभिकर्ताले अन्य अभिकर्ता आफ्नो मातहतमा नियुक्त गर्न पाउँछन् ।
त्यसरी नयाँ नियुक्त भएका अभिकर्ताले व्यवसाय भित्र्याउँदा पूराना अभिकर्ताले समेत कमिशन खाने चलन छ । एउटाले व्यवसाय गर्ने अर्कोले कमिशन खाने कुरा विकृतिको रूपमा रहेको भन्दै बीमा कम्पनीहरूले यसलाई अन्त्य गर्दा बीमा उद्योगलाई राम्रो गर्ने बताउँछन् ।