कोरोना महामारीमै पनि निर्जीवन बीमा व्यवसाय झण्डै छ अर्बले बढ्यो, कस्को कति बढ्यो ?

Advertisement

काठमाडौं । कोरोना महामारीकै समयमा पनि निर्जीवन बीमा व्यवसाय पाँच अर्ब ८३ करोड रूपियाँले बढ्न पुगेको छ । कोरोनाले बीमाका सूचकमा नकारात्मक प्रभाव पर्ने आँकलन रहँदै आए पनि सकारात्मक नतिजा देखिएको हो । 

गत असार मसान्त (आर्थिक वर्ष २०७७–७८)को अन्त्यमा निर्जीवन बीमा कम्पनीले ३१ अर्ब ७० करोड रूपियाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन् । उक्त रकम अघिल्लो आर्थिक वर्ष (२०७६–७७) मा २५ अर्ब २७ करोड रूपियाँमा सीमित थियो ।

Advertisement

बीमा समितिको तथ्यांकअनुसार अघिल्लो आर्थिक २०७६–७७ मा तीन अर्ब ५२ करोड रूपियाँ बीमाशुल्क संकलन गर्दै पहिलो नम्बरमा रहेको शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ मा पनि तीन अर्ब ९७ करोड रूपियाँ बीमाशुल्क संकलन गरेर अग्रता कायम राखेको छ ।

त्यस्तै, आर्थिक २०७६–७७ मा दुई अर्ब १९ करोड रूपियाँ बीमाशुल्क गरेको सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ मा दुई अर्ब ६५ करोड बीमाशुल्क संकलन गर्दै दोस्रो स्थानमा छ । 

आर्थिक २०७६–७७ मा दुई अर्ब ७ करोड रूपियाँ बीमाशुल्क आर्जन गर्दै नेको इन्स्योरेन्स तेस्रो स्थानमा रहेको थियो भने आर्थिक वर्ष २०७७–७८ मा पनि दुई अर्ब ४१ करोड बीमाशुल्क संकलन गर्दै तेस्रो स्थानमा कायम रहन सफल भएको छ । 

साथै, आर्थिक वर्ष २०७६–७७ मा एक अर्ब ९६ करोड रूपियाँ बीमाशुल्क आर्जन गरेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा दुई अर्ब ३२ करोड रूपियाँ बीमाशुल्क संकलन गरेर नेको इन्स्योरेन्सलाई टक्कर दिन खोजेको देखिन्छ । त्यस्तै, पछिल्लो समय आएका नयाँ बीमा कम्पनीहरूको व्यवसाय बिस्तार पनि आक्रामक ढंगले वृद्धि भएको देखिन्छ ।

यसकारण बढ्यो बीमाशुल्कः
अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले कर्पोरेट नेपालसँग भने, ‘धेरैजसो जनरल बीमाहरू गर्नेपर्ने (अनिवार्य) किसिमका छन् । यस्तो बीमा ग्राहक आफैले रोकेर राख्ने कुरा भएन । जोखिम आफूले बोक्नेभन्दा सकेसम्म कम्पनीलाई दिँदा ग्राहकलाई राम्रो हुन्छ । त्यसमा पनि बैंक, वित्तीय संस्थाका बीमा पनि रोकिँदैनन्, गराउनै पर्ने खालका हुन्छन् ।’ 

सार्वजनिक सवारी नचल्दा मोटर बीमाको हकमा भने बीमाशुल्कमा केही कमी आएको उनको भनाई छ । सीईओ खत्रीले कोरोना महामारीले नसताएको भए निर्जीवन बीमा व्यवसाय अझै माथि उक्लिने थियो भने । 

यता कोरोना महामारीको समयमा पनि सरकारले बीमालाई अत्यावश्यक सेवा भन्दै सञ्चालन अनुमति दियो । लकडाउनको समयमा पनि बीमा कम्पनीहरूले ‘फ्रन्टलाइन’मा  बसेर सेवा प्रवाह गरिरहे । कोरोनाको प्रभावले सबै क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष असर पर्दा बीमा व्यवसाय पनि त्यसबाट अछुतो थिएन् । बीमा कम्पनीले सोही कारण आफ्नो व्यवसायमा ठूलै असर पर्ने आँकलन गरेका थिए । तर असार मसान्तको बीमा कम्पनीहरूको सूचक भने सकारात्मक नै देखिएको छ ।

सीईओ खत्रीले महामारीको समयमा पनि जोखिम कायम हुने र घट्ना घट्ने सम्भावना पनि कायम नै रहने भएकाले बीमाको आकर्षण यथावत रहेको बताए ।  

यस्तो छ निर्जीवन बीमा कम्पनीहरूको आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ को व्यवसायीक अवस्थाः


 
 

Advertisement

Advertisement