अभिकर्ता नेटवर्किङ दुई तहमा गर्न बीमा समितिसँग लबिङ गर्दै नेपाल लाइफ

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरन्स कम्पनीले अभिकर्ताको नेटवर्किङ दुई तह (लेयर)मा सीमित गर्न बीमा समितिसँग लविङ् गरेको खुलासा भएको छ । नेपाल लाइफलाई अभिकर्ताको समस्याले भित्रीरूपमा असर परेपछि दुई तह गर्न लबिङ गरेको खुलासा भएको हो ।

बीमा समितिले भने अभिकर्ता नेटवर्किङ रोक्न सहज नहुने तर्क गरेको छ । अभिकर्ताले थाहै नदिई नेटवर्क बनाउने र त्यसबाट बजार प्रभावित हुने भए पनि त्यसलाई सहज किसिमले रोक्न नसकिने समितिको तर्क छ ।

Advertisement

समितिका अध्यक्ष सिलवालले कर्पोरेट नेपालसँग भने, ‘अहिले हामीले अभिकर्ता नेटवर्किङ रोक्न कुनै योजना बनाएका छैनौ ।’ उनले यसअघि अभिकर्ता नेटवर्किङले कसलाई मर्का पारेको हो ? वास्तविक पीडित समितिमा आउनुपर्ने बताएका थिए । 

अध्यक्ष सिलवालले बीमितलाई मर्का परेको भन्ने सुनिए पनि त्यसको तथ्य यकिन नभएसँम्म आफूहरूले कारबाही गर्न नमिल्ने बताए । 

तर यता नेपाल लाइफमा आवद्ध कर्मचारी भने बीमा समितिको यस तर्कमा असन्तुष्ट देखिएका छन् । उनी भन्छन्, ‘सरेण्डरको विषय अघि बढाउन कसैले उजूरी गर्नुनपर्ने, फ्यूचर बोनस प्रोभिजनिङ लागू गर्न कसैले भन्नु नपर्ने । तर, अभिकर्ताको नेटवर्किङ रोक्न किन अरूले उजुरी गर्नुपर्यो ? यो बुझ्न सकिएको छैन् ।’

बीमा समितिले हालसम्म अभिकर्ताको नेटवर्किङ छ भन्ने कुराको आधिकारीक प्रमाण नरहेको बताएको छ । तर समितिले नेटवर्किङ व्यवसाय नेपालमा भित्रीरुपमा रहेको र यो गैरकानुनी रहेको स्वीकार गरेको छ । बीमा समितिका अधिकारीहरूले समाचारहरूमा आएजस्तै एक जना अभिकर्ताले आफू मातहत धेरैजना अभिकर्ता बनाउने र त्यसबाट फाइदा लिने गरेको जानकारी पाएको बताएको छ । अभिकर्ता नेटवर्किङ समस्या बनेकोले यसलाई रोक्न आफूहरू हर प्रयास गर्ने समितिको भनाई छ । 

अभिकर्ता नेटवर्किङमा अधिकांश कम्पनी मुछिने भएकाले पनि जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र उच्च अधिकारीहरू यस विषयमा खुल्न चाहदैनन् । व्यवसाय वृद्धि गर्ने दौडमा लाग्दा अभिकर्ताहरूले पनि सकेसम्म धेरै सञ्जाल फैलाउने प्रयासमा लाग्नु स्वाभाविक भएकाले नेटवर्किङ पनि मौलाउँदै गएको छ । 

यता, पेशागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीकाअनुसार अभिकर्ताले टार्गेटको लागि दौडधुप गर्ने गरेको भए पनि उनीहरूले नेटवर्किङको लागि मरिहत्ते गर्न नहुने बताउँछन् । उनले भने, ‘अभिकर्ता नेटवर्किङको सन्दर्भमा बेला बेलामा केही समस्याहरू देखा पर्ने गरेका छन् । यो कुरा सत्य हो । तर अभिकर्तासँग सम्बन्धित समस्या के होे ? भनेर बीमा समिति र कम्पनी दुवै गम्भीर हुनु जरुरी छ ।

तिवारीले आगामी दिनमा अभिकर्ताको विषयमा कुनै पनि निर्णय गर्दा अभिकर्ताको जानकारी बेगर गर्न नहुने भन्दै यदि त्यस्तो गरिए समस्या सिर्जना हुने बताए । अभिकर्ता नेटवर्किङ गलत भएको उनले पनि स्वीकार गरे । 

Advertisement

Advertisement