दशैंको मुखमा उपभोग्यवस्तुको चर्को मूल्यवृद्धि, ‘विचौलियालाई नेताको संरक्षण भएसम्म यस्तै हो’

Advertisement

काठमाडौं । चाडपर्व नजिकिएको मौका छोपेर जनताका दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि गरिएको छ । खाने तेलसहित खाद्यान्न र तरकारीको मूल्य बढेको भन्दै उपभोक्ताले गुनासो गर्न थालेका हुन् । 

चाडपर्वको मौकामा धेरै नाफा कमाउन उपभोग्य वस्तुको चर्को मूल्य वृद्धि गर्ने, कृतिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने प्रवृत्ति विगतका बर्षमा पनि रहँदै आएकोमा यस बर्ष पनि देखिन थालेको छ । गएको बर्षको यही अवधिको तुलनामा अहिले बजार भाउ सरदर ४० प्रतिशत बढेको उपभोक्ताकर्मीहरूको हिसाव छ । 

Advertisement

खाने तेल उत्पादकहरू कच्चा पदार्थ आयातमै मूल्य बढेकाले तेलको मूल्य बढाउनु परेको तर्क गरेका छन् भने खाद्यान्न तथा तरकारी बिक्री गर्ने व्यापारीहरूले इन्धनको मूल्यवृद्धि, बैंकको ब्याजदर वृद्धि, कोरोना महामारी, कर वृद्धि जस्ता कुराका कारण केही मूल्य बढेको तर्क गर्ने गरेका छन् । 

सम्वन्धित सरकारी निकायले मूल्यवृद्धि रोक्न र बजारमा विकृति बढ्न नदिन अनुगमन र कारवाहीलाई थप प्रभावकारी बनाउने काम भइरहेको दावी गर्दै आएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो विवरणअनुसार अधिकांश तरकारी तथा फलफूलको भाउ बढेको छ । कतिपयको भाउ दोब्बरसम्म बढेको देखिन्छ । उक्त बजारबाट किनेर धेरै खुद्रा बिक्रेताले नाफा खाएर बिक्री गर्ने भएकाले धेरै उपभोक्ताले अझ बढी मूल्य तिर्नुपर्ने बाध्यता छ । 

कालीमाटी तरकारी बजारमा करिव ३० प्रकारका वस्तुमा मूल्य बढेको देखिन्छ । विशेषगरी हरियो तरकारी, प्याज, लसुन, केही फलफूलको भाउ दोब्बरसम्म बढेको छ । खाने तलेको मूल्य पनि झण्डै दोब्बरले बढेको छ भने चामल, दाल, गेडाडुडीको मूल्य पनि बढाइएको छ । 

चाडपर्व नजिकिएसँगै विशेषगरी बिचौलिया ब्यापारीहरूले चलखेल गर्दै मूल्य बढाउने गरेको देखिन्छ । किसानबाट सस्तोमा यस्ता वस्तु खरीद गरी चर्को मूल्यमा बजारका थोक तथा खुद्रा व्यापारीलाई बिक्री गर्न पल्किएका बिचौलियालाई सरकारले अहिलेसम्म नियन्त्रण गर्न सकेको देखिन्न । 

उपभोक्ता अधिकारकर्मीले भने चाडपर्व मूल्य बढाउने प्रवृत्ति पूरानै भएको भन्दै यसमा प्रहरी प्रशासनको कमजोरी मूल्य रहेको औंल्याउँछन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले एउटा बाणिज्य विभाग वा जिल्ला प्रशासनले अनुगमन गरेको भरमा बजार भाउ नियन्त्रणदेखि अन्य समस्या समाधान नहुने बताउँछन् । 

उनका अनुसार जबसम्म कालोबजारी गर्ने, कृतिम अभाव सिर्जना गर्ने, अखाद्य वस्तु विकृति गर्ने, मौका छोपी मूल्य वृद्धि गरेर नाफा लिने व्यापारीदेखि विचौलियासम्मलाई राजनीतिक संरक्षण भइरहन्छ, तबसम्म यो समस्या कायम रहन्छ । यस्ता धेरै व्यापारी र विचौलिया दल तथा नेताको संरक्षणमा रहेको महर्जनको भनाई छ । 

नेता र ठूला व्यवसायीलाई बजार मूल्य बढेर कुनै असर नपर्ने र आम जनताको जीवनमा यसले गम्भीर समस्या पार्ने भन्दै उनले उपभोक्ता अधिकारकर्मी, नागरिक समाजका अगुवाले जति कराए पनि राजनीतिक नेतृत्व इमान्दार नभएसम्म बजार स्वच्छ नहुने बताए । 

Advertisement

Advertisement