काठमाडौं । मनकामना केवलकार सेवा प्रदायक कम्पनी मनकामना दर्शन प्रा.लि.ले आफ्ना कर्मचारीलाई हरेक महिना कोभिड १९ को परीक्षणको व्यवस्था मिलाएको छ ।
कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँग सहकार्य गरेर कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए ।
उनले भने, ‘हामीले कम्पनीका कर्मचारीहरुले महिनामा एक पटक स्क्रिनिङ गर्ने गरेका छौं । हाम्रा सबै कर्मचारीहरु कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन् । कम्पनीले आफ्नो तर्फबाट गर्नुपर्ने हेरचाह गर्न र जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध छ ।’
चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालित यस केवलकार सेवा दैनिक हजारौंले उपयोग गर्ने गर्छन् । तर पछिल्लो समयमा कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण यो सेवा लामो समयसम्म बन्द हुन पुगेको थियो । अहिले भने सेवा सुचारु छ ।