बोनस दर घटाउन पाइन्न भन्दै नेपाल लाइफका अभिकर्ताले समिति घेरे, घटाए आगो बाल्ने चेतावनी

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले कुनै पनि हालतमा बोनस दर घटन पाइन्न भन्दै बीमा समिति घेर्न पुगेका छन् । कम्पनीले बोनस दर घटाउने तयारी गरेपछि त्यसलाई रोक्न दबाब दिन उनीहरु समिति पुगेका हुन् । 

हाल नेपाल लाइफले अभिकर्तालाई ६५ रूपियाँ बोनस दिइरहेको छ । उक्त दर घटदा बीमा बजारीकरणमा प्रत्यक्ष असर पर्ने अभिकर्ताहरुको तर्क छ । बोनस घटाउनेभन्दा बढाउनेतिर जोड लिनुपर्ने उनीहरुले समितिलाई सुझाव दिए । 

Advertisement

नेपाल लाइफका अभिकर्ता गणेश अधिकारीले कर्पोरेट नेपालसँग भने, ‘बोनस कुनै पनि हालतमा घटनु हुन्न । घट्यो भने हामी देशैभर आगो बाल्छौं । आन्दोलन गर्छौ । बोनस भनेको अभिकर्ताको लागि होइन् । बीमितको हितका लागि हो । आज हामी बीमा समितिमा बीमितको लागि आवाज उठाउन आएका हौं ।’ 

उनी पेशागत बीमा अभिकर्ता संघका समेत सदस्य हुन् । अहिले दुई सय ५५ जना अभिकर्ताहरूले संघर्ष समितिसमेत बनाएका छन् । सोही समितिका ५० जनाभन्दा बढी सदस्यहरु बुधबार समितिमा पुगेका हुन् । 

उनीहरूले बीमा समिति सकारात्मक हुँदा पनि नेपाल लाइफको सञ्चालक समिति नै बोनस घटाउने दाउमा रहेको दावी गरे । अभिकर्ता अधिकारीले थपे, ‘यहाँ बोनस घटाउन बीमा समितिलेभन्दा पनि सञ्चालक समितिको हस्तक्षेप बढी हुँदो रहेछ ।’ उनले बीमा क्षेत्रमा अभिकर्ताको रूपमा दुई दशक बिताइसकेको बताए । 

जति बोनस बढ्यो त्यति नै बीमितको संख्या बढ्ने र जति बीमित बढ्छन् त्यति नै बीमा व्यवसाय राम्रो हुने आफ्नो अनुभव रहेको अधिकारीले सुनाए । बोनस दरकै विषयमा लामो समयदेखि नेपाल लाइफ अभिकर्ता आन्दोलनको समस्याबाट गुज्रिरहेको छ । 

कम्पनीका सूचकहरु बलियो रहेकाले बोनस पनि अरू कम्पनीको तुलनामा राम्रो बनाउनुपर्ने अभिकर्ताहरूको माग छ । उनीहरुले अब्बल कम्पनीको बोनस दर पनि अब्बल नै हुनुपर्ने भन्दै घटाउने कुरा स्वीकार्य नरहेको बताए । 

समितिले भने अभिकर्ताको माग जायज रहेको र यसलाई सकेसम्म कार्यान्वयन गर्ने बताएको समिति घेर्न गएका अभिकर्ताहरुले बताए । बीमा समितिले आफूहरुलाई बोलाएको नभई आफै आएको उनीहरुको भनाई छ । उनीहरुले समितिका अध्यक्ष सूर्य सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेललाई भेटेका थिए ।

Advertisement

Advertisement