काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफूहरू कुनै किसिमको जालसाझी वा ठगीजन्य क्रियाकलापमा संलग्न नरहेको बताएको छ । पछिल्लो समय प्राइम लाइफले आर्थिक हिनामिना गरेको कुरा सामाजिक सञ्जालमा आउन थालेपछि कम्पनीले यस्तो प्रतिक्रिया दिएको हो ।
प्राइम लाइफका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) चिरायु भण्डारीले कर्पोेरेट नेपालसँग भने, ‘अहिले विभिन्न किसिमले प्राइम लाइफले आर्थिक हिनामिना गरेको हो भन्ने कुरा बाहिर प्रचार गरिएको छ । त्यसमा कुनै सत्यता छैन् । हामीले सबै काम कानुनलाई नै आधार मानेर गर्दै आएका छौं । त्यसैले त्यस्ता नचाहिँदा हल्लालाई धेरै प्राथमिकता दिनु जरूरी छैन् ।’
प्राइम लाइफले बीमितको पैसा हिनामिना गरेको प्रचारमा कुनै आधार र प्रमाण नरहेको उनको भनाई छ । भण्डारीले बीमा बजारको हित लागि आफूहहरूले काम गर्दै आएको र लामो समयदेखि बीमा क्षेत्रको सुधारमा लागिपरेकाले यस्ता नचाहिने हल्लाको पछाडि नलाग्न सबैलाई उनले आग्रह पनि गरे ।
सत्य के हो ? छानविन गर्दैछौंः बीमा समिति
प्राइम लाइफले आर्थिक हिनामिना गरेको भन्ने हल्ला चल्दा नियामक बीमा समितिले यस विषयमा सत्य के हो ? भनेर छानविन पनि गरिरहेको जनाएको छ ।
कहिले काहीं गलत हल्ला पनि चल्ने र कहिले काहीं यस्ता कुरा सत्य पनि हुनसक्ने भन्दै समितिले प्राइम लाइफका बारेमा आएका कुरामा सत्य हो वा होइन ? प्रमाणित हुन बाँकी नै रहेको जनाएको छ । समिति स्रोतले भन्यो, ‘प्राइम लाइफमा हामीले एक चरण सुपरिवेक्षण गरिसकेका छौं । त्यस विषयमा पूर्णरूपमा छानविन सक्किएको भने छैन् ।
डीसीईओ भण्डारीले नचाहिदो कुरा ल्याएर सामाजिक सञ्जालमा हालेर कम्पनीलाई बदनाम गर्न खोजिएको गुनासो गरे । कम्पनीले कुनै पनि गल्ती नगरेकाले यसमा बीमा समितिले छानबिन गरेपछि आफूहरु थप बलियो हुने उनको तर्क छ । भण्डारीले नियामक निकायले सत्य तथ्यको खोजी गर्दा आफूहरूलाई राहत महशुस भएको पनि बताए ।
यस्तो थियो घट्ना
सामाजिक सञ्जालमा आएअनुसार प्राइम लाइफले विगतमा गरेको एउटा कारोबारमा कम्पनीले बीमितको पैसा खायो भन्ने अर्थमा प्रस्तुत गरिएको छ । आजभन्दा चार वर्ष अगाडी वैदेशिक रोगजारीमा जाने बीमितको बीमा गर्दा लाग्ने इन्सेन्टिभ र बोनस कम्पनीले दुरुपयोग गरेको सामाजिक सञ्जालमा आएको भिडियोमा प्रस्तुत गरिएको छ ।
कम्पनीले भिडियोमा आएको कुरा हुँदै नभएको घट्ना भएको जिकिर गरेको छ । उक्त कुरा आफूहरुलाई बदनाम गर्न खोजिएको भन्दै यसबाट आफ्नो व्यवसायमा कुनै प्रभाव नपर्ने स्पष्ट पारेको छ ।
त्यस्तै, कम्पनीले मनोमानीरूपमा कमिसनमा चलखेल गरेको भन्ने आरोप लगाइएको भन्दै आफूहरूले बकाईदा बैंकबाटै कारोबार गरेको प्रमाण रहेको बताएको छ । सो बेलामा आफूहरुको कारोबार सिद्धार्थ बैंकबाट भएकाले त्यसको प्रमाण चाहिएमा कम्पनी मात्रै नभएर बैंक पनि रहेको भण्डारीले बताए ।
प्राइम लाइफमाथि १७ लाख बीमितको दुर्घटना बीमा गराउँदा चार करोड रूपियाँ ठगी गरेको आरोप लागेको छ । सो आरोपको खण्डन गर्दै उनले भने, ‘हामीले १७ लाख जनाको बीमा गरेको कुरा सत्य हो । करिब चार करोड रूपियाँ त्यसबेला उठेको पनि होला । तर, यसमा सबैले बुझ्नै पर्ने कुरा के हो ? भने हामीले बैंकमार्फत गरेको कारोबारलाई प्राइम लाइफले ठग्यो, व्यक्तिलाई दियो भन्ने हल्ला फैलाइएको रहेछ । यो सरासर झुटो कुरा हो ।’