काठमाडौं । बीमा कम्पनीले बीमितलाई भुक्तानी गर्न बाँकी रहेका पेण्डिङ फाइलहरू दैनिक रूपमा चाङ लाग्दै आएका छन् । समितिले पेन्डिङ फाइल नराख्नु भने पनि यसमा केही आन्तरिक समस्या रहेको कम्पनीहरूको तर्क गरेका छन् ।
अहिले एउटै कम्पनीको २५ सयसम्म फाइल पेन्डिङ रहेको स्वयम कम्पनीहरुले स्वीकार गर्दै आएका छन् । जीवन बीमक संघका उपाध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले कर्पोरेट नेपालसँग भने, ‘कुनै पनि कम्पनीले फाइल पेण्डिङ राख्छु भनेर त काम गर्ने होइन । तर, यसमा कम्पनीभन्दा बाहिरको कारणबाट पनि भुक्तानी गर्न केही समस्या हुने गरेको छ ।’
उनले कम्पनीले समयमा भुक्तानी गर्न चाहे पनि आवश्यक कागजात दिन बीमितले ढिलाई गर्दा त्यसले पनि लामो समय लाग्ने बताए । पौडेल भन्छन्, ‘मैले बीमितलाई दोष दिन खोजेको होइन । तर, कानुनीरूपमा सबै प्रक्रिया पूरा नभई कम्पनीले पनि पैसा दिन मिल्दैन । सोही प्रक्रिया पूरा गर्दा पनि कतिपय अवस्थामा ढिलाई हुन पुग्छ ।’
उनले मृत्यु दाबीको हकमा त्यति धेरै फाइल नरोकिने तर, पोलिसी म्याचुअर्ड भएको अवस्थामा बीमित नै कम्पनीको सम्पर्कबाट बाहिर बसेका केसहरू धेरै रहेको बताए । पोलिसी म्याचुअर्ड भएर बीमांक र बोसन लिन बीमित कम्पनीमा जाँदा सबै कागजाज मिलाउनैपर्ने भएकाले समस्या आएको उनको भनाई छ । अहिले बीमा कम्पनीमा मृत्यु दाबीको भन्दा पनि बीमांक लिनुपर्ने पोलिसीको हकमा बीमितका धेरै फाइल पेन्डिङ रहेका छन् ।
त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ रमेशकुमार भट्टराई भन्छन्, ‘बीमितले पाउनुपर्ने रकम भनेको बैंकबाट लिने मुद्दती निक्षेपको पैसा जस्तै हो । पहिले पहिले यस्तो निक्षेपको पैसा लिन ग्राहकले रसिद पनि साथमा लानुपथ्र्यो । तर, अहिले त्यस्तै छैन । अब बीमा कम्पनीले बीमितले पाउनुपर्ने भुक्तानी तुरून्तै दिएमा बीमितलाई सहज हुन्छ ।’
बीमा समितिले पनि फाइल पेन्डिङको समस्या ठूलो समस्या रहेको बताएको छ । समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलल भने, ‘हामीले फाइल पेन्डिङ धेरै भयो भनेर बीमा कम्पनीका सीईओ र सञ्चालकहरुलाई जानकारी गराईसकेका छौं । रोकिएका फाइलहरुको कारण पनि माग गरेका छौं । सकेसम्म फाइल पेन्डिङ नराख्नु भनेर लिखित निर्देशन पनि दिइसकेका छौं ।’
उनले समितिले हर प्रयास गर्दा पनि फाइल पेन्डिङ बस्ने समस्यामा सुधार नआएको तथा पुरानो ऐनअनुसार जाँदा बीमित र कम्पनीलाई दावी भुक्तानीमा केही झन्झट रहेको बताए ।
बीमा समितिका अध्यक्ष सूर्य सिलवालले पनि गत साता एक कार्यक्रममा फाइल पेण्डिङ समस्या बन्दै गएको स्वीकार गरेका थिए । उनले भनेका थिए, ‘बीमा कम्पनीले पैसा लान्छ भन्ने सुनिन्छ । तर पैसा दिन्छ भन्ने त्यति सुनिदैन । अब कुनै पनि फाइल पेन्डिङ नराखौं । फाइल रोकिदा बीमितको पैसा पनि रोकिन्छ ।’