जीवनतर्फ २६ हजार, निर्जीवनतर्फ ९५ हजार दावी भुक्तानी अलपत्र, समिति ‘दाबी भुक्तानी बर्ष’ मनाउँदै

Advertisement

काठमाडौं । बीमा कम्पनीहरुमा दावी भुक्तानीको हजारौं फाइल अलपत्र रहेको समयमा बीमा समितिले चालु आर्थिक वर्षलाई दाबी भुक्तानी वर्षको रूपमा मनाउने तयारी गरेको छ । 

जीवन बीमा कम्पनीहरूतर्फ २६ हजार ५८० फाइलको दावी भुक्तानी गर्न बाँकी छ । उक्त दाबीको दायित्व चार अर्ब ७४ करोड ३६ लाख रूपियाँ बराबरको छ ।

Advertisement

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुतर्फ बीमितको ९५ हजार ३५० फाइल भुक्तानी गर्न बाँकी छ । उक्त कम्पनीहरूले दायित्व छ अर्ब २१ करोड ५२ लाख रूपियाँ बराबर छ । 

दावी भुक्तानीको दायित्व बढ्दै गएको बेला समितिले दावी भुक्तानी बर्ष मनाउन लागेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘यस वर्षलाई हामीले दाबी भुक्तानी वर्षको रूपमा मनाउँदैछौं । विगतदेखिका दायित्वहरू  बीमा कम्पनीले भुक्तानी गर्न बाँकी रहेकोले हामीले यस वर्षलाई दाबी भुक्तानी वर्षका रूपमा मनाउन लागेको हो ।’  

निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीमा दाबी भुक्तानीको समस्या केही कम रहेको पाइएको छ । जीवन बीमाको भुक्तानी गर्दा मृत्यु दावी वा बीमांकको मात्रै भुक्तानी गर्नुपर्छ । उक्त भुक्तानी मध्येमा मृत्यु दाबीको भन्दा म्याचुरीटी पूरा भएका फाइलको भुक्तानी बाँकी हुने बीमा कम्पनीहरूले जनाएका छन् ।

तर, निर्जीवन बीमा कम्पनीको हकमा भने बीमा गरिएका सामान र घरका कागजातको पुस्टि गर्न समय लाग्ने भएकाले भुक्तानीमा केही ढिलाई हुने गरेको पाइन्छ ।

एक बीमा कम्पनीका सीईओले भने, ‘अधिकांश यातायतात र स्वास्थ बीमाको भुक्तानीमा समस्या हुँदै आएको छ । विगतको तुलनामा यसमा केही सुधार भएको छ । तर, यातायात बीमामा र स्वास्थ्य बीमामा सुधार गर्न जरुरी देखिएको छ । निर्जीवन बीमाका अन्य दाबी भुक्तानीको अवस्था भने सहजै छ ।’

एलआईसी नेपालका कम्पनी सचिव सुदर्शन गिरीले दाबी भुक्तानीलाई जति सुधार गर्न सक्यो त्यति नै बीमाप्रति नागरिकको आकर्षण बढ्ने स्वीकार गरे । उनले आफूहरुले दावी भुक्तानी बाँकी रहन नदिन अधिकतम् प्रयास गर्दै आएको बताए । 
 

Advertisement

Advertisement