काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले वित्तीय विवरणमा उल्लेखित असमाप्त जोखिममा समस्या सिर्जना भएको गुनासो गरेका छन् ।
कम्पनीहरूले उक्त शीर्षकमा एक्चुरीले गरेको हिसाबलाई समितिले आधिकारिक नमान्दा समस्या हुने गरेको बताएका हुन् । एक्चुरीले बीमा कम्पनीहरूको जोखिमांकन गर्छन् । उक्त मूल्यांकनले कम्पनीको आफ्नो वर्तमान अवस्थादेखि भविष्यको अध्ययन गर्न सहयोग पुर्याउछ ।
अरूको जोखिम बहन गर्ने कम्पनीको क्षमता कति छ ? र कम्पनी आफै कति जोखिमा छ ? भन्ने एक्चुरीकै सहायताले मात्रै पत्ता लगाउन सकिन्छ । तर, असमाप्त जोखिममा एक्चुरीले तयार पारेको रिपोर्टलाई समितिले स्वीकृत नगरी उल्टै विभिन्न बहाना बनाउने र अल्झाउँदै आएको कम्पनीहरूको भनाई छ ।
निर्जीवन बीमा कम्पनीहरूले यस समस्याले आफूहरूलाई प्रत्येक आर्थिक वर्षको अन्तिममा सताउने गरेको गुनासो गरे ।
यस्तो छ समस्या
अहिले बीमा कम्पनीहरूले जोखिमांकनगर्दा आफ्नो दायित्व (लायबलिटी) कम भए पनि सही रकम वित्तीय विवरणमा उल्लेख गर्न पाउँदैनन् । बीमा समितिले कम्पनीको दायित्व कम आएमा त्यसलाई बढाउन लगाउने गरेको छ ।
बीमा ऐनमा नै त्यस्तो व्यवस्था भएकाले बढाउनुपर्छ भन्ने समितिको तर्क छ । त्यस्तै, आफूले नचाहिँदो रूपमा (ओभर प्रोभिजनिङ) बढि राख्नुपर्ने प्रावधान गलत मात्र नभई यसले आफूहरूलाई नचाहिँदो घाटामा लगेको निर्जीवन बीमा कम्पनीका सीईओहरुले बताएका छन् ।
यता, बीमा समितिले अहिले पूरानो बीमा ऐनअनुसार नै चल्नुपर्ने केही बाध्यता रहेकाले यस्तो समस्या आउने गरेको स्वीकार गरेको छ । त्यस्ता समस्या समाधान गर्न मिलेसम्म आफूहरूले निर्देशन जारी गर्ने तथा केही ऐनले नै बाँधेले नयाँ ऐनसम्म पर्खनुपर्ने समितिको तर्क छ । नयाँ बीमा ऐन जारी गर्ने कुरा चलेको बर्षौं भइसके पनि जारी हुन सकेको छैन् ।
आफ्नो चासोको विषय आयो भने तुरून्तै निर्देशन जारी गर्ने समिति कम्पनीहरुको समस्या परेको कुरामा भने मौन बस्ने गरेको सीईओहरु बताउँछन् । तर, बीमा समितिका अधिकारीहरुले भने खासै प्रतिक्रिया दिन चाहेनन् ।