काठमाडौं । अहिलेको प्रतिस्पर्धी समयमा व्यवसाय खोज्दै अन्तर्राष्ट्रिय बजारमा दौडिनुपर्ने नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले स्वतःस्फुर्तरुपमा आएको व्यवसाय पनि फिर्ता गर्न थालेको छ ।
सरकारले नेपाली पुनर्बीमा कम्पनीहरुलाई नीतिगत संरक्षण गर्दै नेपाली पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्दा कम्तिमा २० प्रतिशत नेपालकै पुनर्बीमा कम्पनीमा गराउनुपर्ने व्यवस्था गरेअनुसार आएको व्यवसाय नेपाल रिले फिर्ता गरेको हो ।
आफू हुँदाहुँदै निजी लगानीमा अर्को बीमा कम्पनीलाई लाइसेन्स दिएको भनेर रुष्ट हुँदै आएको नेपाल रि उसँग प्रतिस्पर्धा गर्न तयार हुनुपर्नेमा आएको व्यवसाय विभिन्न बहानामा फिर्ता गर्न थालेको हो ।
बीमा कम्पनीहरूले प्रमाण देखाउँदै भन्छन, ‘नेपाल पुनर्बीमाले अरू व्यवसायको त कुरै छोडौं, अनिवार्य व्यवस्थाका आधारमा आएको २० प्रतिशत व्यवसाय पनि फिर्ता गरिरहेको छ । बीमा समिति नेपालकै पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्ने भन्ने, नेपाल रि चाहिं आएको व्यवसाय फिर्ता गर्ने, हामी के गर्ने ?’
के होला कारण ?
नेपाल पुनर्बीमा कम्पनीको जोखिम धारण गर्ने क्षमता निकै कमजोर छ । त्यसैले पनि कम्पनीले व्यवसाय फिर्ता गर्नु बाध्यता बनेको छ । एकातिर उसको विगतको भन्दा फ्याकल्टेटिभ तथा अन्य व्यवसाय गुमिरहेको अवस्था छ भने अर्कोतिर नेपाल रि व्यवसाय थप्न सक्ने हालतमा देखिन्न । निजी क्षेत्रको हिमालयन पुनर्बीमा कम्पनी (हिमालयन रि) थप्पिएपछि त झन उसमा झन निराशा थप्पिएको छ ।
एकातिर विगतको भन्दा व्यवसाय घट्दै जाने अर्कोतिर नेपाली बीमा कम्पनीसँग सम्झौता गर्न आनाकानी गर्ने परिस्थितिले नेपाल रिलाई थप संकटतिर धकेल्ने संकेत देखिएको छ ।
बास्केटको सिद्धान्त
बीमामा बास्केटको सिद्धान्त निकै महत्वपूर्ण मानिन्छ । सोही सिद्धान्तले पनि जोखिम बाँड्नुपर्छ । एउटै बास्केटमा वा एउटै ठाउँमा जोखिम केन्द्रित गर्नु हुन्न भन्ने सिद्धान्तको आधारमा नेपाल पुनर्बीमा कम्पनीले पाएको व्यवसाय फिर्ता गरेको हुनसक्छ ।
तर, पछिल्लो समय बीमा समितिले पुनर्बीमा निर्देशिका जारी गरेर जोखिमलाई नेपालमै केन्द्रित गर्न जोड बल गरिरहेको छ । झट्ट हेर्दा निजी क्षेत्रको लगानी रहेको हिमालयन रिलाई समितिले सघाउन खोजको जस्तो देखिए पनि यसको भित्री रहस्य केही फरक छ ।
बैंक र बीमाले गर्ने काम फरक छन्् । बैंकले ग्राहकको पैसा जम्मा गरेबापत उनीहरूलाई केही व्याज दिने तथा ऋण धन दिने काम गर्छ । तर, बीमाको काम भनेको बीमाशुल्क आर्जन गर्ने मात्र होइन । बीमाले जोखिम पनि किन्नुपर्छ । ग्राहकले भवितव्य कै लागि बीमा गर्ने भएकाले बीमाले सोही कुरालाई बहाना बनाएर भाग्न मिल्दैन ।
नेपालमा रहेका संरचनाको नेपालमा नै जोखिम बहन गर्ने हो भने एउटै जलविद्युतमा हुनसक्ने क्षतिले नेपालका पुनर्बीमा कम्पनीलाई धरापमा पार्नसक्ने कतिपय विश्लेषकको भनाई छ । बीमा कम्पनीहरूले अहिले कोरोना बीमाको पुनर्बीमा नभएकाले मात्रै समस्या आएको हो भनिरहेका छन् ।
तर, वास्तविकता त्यस्तो मात्रै होइन । एउटै ठाउँको जोखिम एक वा दुई पुनर्बीमा कम्पनीमाथि रहँदा पनि भोलि त्यसले अर्को खतरा निम्त्याउनसक्ने विश्लेषकहरुको तर्क छ । बीमा गर्ने बेलामा पुनर्बीमाले पैसा दिन्छ भन्दै फकाउन जति सजिलो छ, त्यसरी नै साच्चै ठूलो दाबी परेको बेलामा सम्झौताअनुसारको पैसा फिर्ता गर्न सहज नहुने बीमा कम्पनीहरू बताउँछन् ।
नेपाल रिले अहिलेसम्म पनि एलआईसी नेपालको साढे सात करोड रूपियाँ फिर्ता गरेको छैन । दाबी परिसकेपछि पुनर्बीमाबाट पैसा आउँछ अनि हामी दिउँदा भनेर बीमा कम्पनीहरू पछिहट्न पाउँदैनन् । यता नेपाल पुनर्बीमा कम्प्नीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकुर रायमाझी भने प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन् ।