काठमाडौं । वैदेशिक रोजगार म्यादी बीमाको दाबी भुक्तानी छिटोछरितोरुपमा गर्न सकिने भए पनि ढिलासुस्ती गरिँदै आएको छ । यस्तो बीमाको दाबी भुक्तानी फरफारक गर्न तीन घण्टाको समय पर्याप्त रहे पनि बीमितले लामो समय पर्खनुपर्ने बाध्यता रहँदै आएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमामा समस्या आएको भन्दै त्यसको समाधानका लागि म्यादी बीमा पुलको स्थापना भएको छ । यसले विगतको तुलनामा म्यादी बीमाका समस्या कम भएको जिकिर बीमा समितिको छ ।
समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्कीले कर्पोरेट नेपालसँग भने, ‘हामीले छोटो समयमा नै बीमितले दाबी भुक्तानी पाउनुपर्छ भनेर म्यादी बीमा पुल ल्याएका हौंं । तर त्यसमा अझै पनि समस्या ज्यूँका त्यूँ नै छ । बीमा कम्पनीले बीमितको दाबी भुक्तानी दिने कुरामा आनाकानी गर्नु हुँदैन ।’
उनले लामो समय आफू बीमा समितिमा रहँदा पनि विभिन्न किसिमका समस्या बोकेर बीमितहरू समिति धाउने गरेको स्मरण गरे । कार्कीले बीमा गर्ने भनेकै समस्या परेको बेलामा दाबी भुक्तानी पाउनका लागि हो भन्दै कागजमा मात्र भुक्तानी सहज बनाउछौं भन्ने आश्वासन दिनुभन्दा पनि व्यवहारमा देखाउनु महत्वपूर्ण हुने बताएका छन् ।
अघिल्लो आर्थिक वर्षको मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने बीमितको नाममा ७८ लाख २३ हजार पोलिसी बिक्री भएका थिए । त्यस्तै, चालु आर्थिक वर्षको मंसिर महिनामा सो संख्या ९६ लाख १९ हजार पुगेको छ ।
यो संख्या २२ दशमलब ९६ प्रतिशतले बढेको छ । तर, बीमा समितिले वैदेशिक रोजगार बीमाको भुक्तानी हुन बाँकी रकमको बारेमा भने खुलासा गर्न रूची देखाएन । समितिले अन्य सुचांकसँगै यो पनि एकै ठाउँमा राखिएकाले एउटा मात्रै शीर्षकअनुसार कति भुक्तानी बाँकी छ ? भनेर तत्काल छुट्याउन नसकिने तर्क गरेको छ ।
अन्तर्राष्ट्रिय बीमा बजारमा छिन छिनमा नयाँ नयाँ अपडेट आउने गरी विकसित हुँदै गए पनि नेपालमा भने अझै पूरानै शैलीबाट काम हुँदै आएको छ । समितिमा अझै पनि तथ्यांकका लागि भरपर्दो सफ्टवयेर प्रयोगमा आउन सकेको छैन् । गत आर्थिक वर्षको मंसिरको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १ दशमलब १९ प्रतिशतले जीवन बीमा गर्ने बीमितको संख्या बढेको छ ।
गत आर्थिक वर्षमा ७८ लाख २३ हजार कूल जीवन बीमालेख बिक्री भएका थिए भने यसपटक ९६ लाख १९ हजार बीमालेख बिक्री भएका छन् । सो संख्या २२ दशमलब ९६ प्रतिशतले बढेको बीमा समितिले जनाएको छ ।