आफूले कहाँ कति लगानी गरेको हो ? राष्ट्रिय बीमा कम्पनीलाई नै थाहा छैन्, हामी खोज्दैछौंः पौडेल

Advertisement

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको लगानी शंकास्पद रहेको भन्दै आफै खोजीमा लागेको छ ।  कम्पनीले आफूले गरेको लगानीमा आफै स्पष्ट नरहेको र शंकास्पद देखिएकाले समितिले खोज्न थालेको हो । 

राष्ट्रिय बीमा कम्पनीको क्षेत्रगतरूपमा गरेको लगानी शंकास्पद देखिएको भन्दै समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जनताको पैसा कहाँ कति लगानी छ ? सुरक्षित छ छैन ? त्यो खोज्नुपर्ने मुख्य दायित्व र जिम्मेवारी समितिको भएको बताएका छन् । 

Advertisement

बीमा कम्पनीले बैंकको मुद्दती निक्षेपलगायत अन्य क्षेत्रमा लगानी गर्न मिल्छ । तर राष्ट्रिय बीमा कम्पनीको हकमा भने लगानी पारदर्शी हुन नसकेको समितिको ठहर छ । 

केही महिनाअघि समितिले लगानी स्पष्ट पार्न कम्पनीलाई पत्राचार समेत गरेको थियो । तर, कम्पनीले लामो समयसम्म समितिको पत्र बेवास्ता गरिरह्यो । बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवि चापागाईं र कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. डिल्लीराज अर्यालबीच यही लगानीको विषयलाई लिएर लामो समय विवाद र मनमुटाव समेत सिर्जना भएको थियो । 

चापागाईं र अर्याल अहिले उक्त पदहरुमा नभए पनि पूरानो समस्या भने यथावत नै छ । पछिल्लो समय कम्पनीले आफ्नो लगानी सुनिश्चित नगरेको र शंकास्पद ढंगले काम गरेकाले त्यसको आधार आफूहरूले खोज्दै आएको पौडेलको भनाई छ । 

उनले कर्पोरेट नेपालसँग भने, ‘आफूले पैसा कहाँ लगानी गरेको छु भन्ने कुरा त थाहा हुनैपर्ने कुरा हो नि । तरराष्ट्रिय बीमा कम्पनीलाई अहिले आफ्नो लगानीको बारेमा केही पनि पत्तो छैन् । यस्तो किसिमले कम्पनी स्वस्थ हुँदैन । जनताको पैसा लगानी भएको ठाउँमा उनीहरुको लगानी सुरक्षित गराउने प्रमुख दायित्व त समितिको हो ।’ 

समितिलाई बीमा कम्पनीको क्षेत्रगत लगानीको चासो रहने बताउँदै पौडेलले कम्पनीको वास्तविकता पत्ता लगाई सही समयमा सही ठाउँमा लगानी गर्न समितिले सहयोग गर्ने बताए । उनले भने, ‘तोकिएको ठाउँमा सुरक्षित र पारदर्शी ढंगले लगानी हुनुपर्यो भन्ने हाम्रो कुरा हो ।’

राष्ट्रिय बीमा कम्पनीले पछिल्लो समय सरकारी कर्मचारीलगायत सरकारी क्षेत्रबाट प्राप्त गर्ने व्यवसाय धमाधम गुमाईरहेको छ । आफ्नो करोडौंको व्यवसाय गुमाउनुको पछाडी लामो समयदेखिको लेखा परीक्षण र साधारण सभा गर्न नसक्नु हो । 

कम्पनीले सुशासन कायम गर्दै व्यवसायिक र प्रतिस्पर्धी ढंगले काम गर्न नसक्दा कर्मचारी सञ्चय कोषको ठूलो व्यवसाय गुमाएको छ । यता निजी क्षेत्रका कम्पनीहरुले आफूलाई चुस्त र प्रतिस्पर्धी हुँदै सेवा प्रवाह सरल बनाउँदै लगेका छन् । तर राष्ट्रिय बीमा कम्पनी भने अझै पनि आफूलाई परिस्कृत गर्न असफल हुँदै आएको छ । 

Advertisement

Advertisement