सकेसम्म बीमितको हात हातमै सेवा पुर्याउने पक्षमा बीमा कम्पनीहरू, तर गति सुस्त

Advertisement

काठमाडौं । बीमा कम्पनीहरूले अब टिकट टाँस्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । बीमा गर्दा अनिवार्य रूपमा टिकट टाँस्नुपर्ने तथा भुक्तानी लिन बीमित स्वयम् उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्थाले बीमित र कम्पनीलाई झन्झट सिर्जना गरेको थियो । 

अर्कोतर्फ बीमा समिति पनि प्रविधिमैत्री बन्दै गएको छ । चालु आर्थिक वर्षको सुरूवातसँगै समितिले एकीकृत सफ्टवेयरको सुरूवात गरेको छ । त्यस्तै, विगत लामो समयदेखि डिजिटलरुपमा बीमालेखा जारी गर्ने भन्दै प्रतिक्षामा रहेका बीमा कम्पनीहरू धेरै अहिले डिजिटलरुपमा नै बीमा लेखा जारी गर्ने अवस्थामा पुगेका छन् ।  

Advertisement

पछिल्लो समय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रविधिमैत्री पोलिसी जारी गरेको छ भने बीमा समितिले पनि डिजिटल पोलिसी बिक्री वितरणलाई केही फुकुवा गरेको छ ।  सोही विषयमा राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुवाश कोइरालाले अहिले हात हातमा नै सेवा पाइने अवस्था आइसकेको भन्दै सकेसम्म बीमितलाई कम्पनीमै धाउनुपर्ने वातावरणको अन्य गर्नुपर्ने बताउँछन् । 

कोइराला भन्छन्, ‘प्रविधिको पहुँच बढ्दो छ । हामीले हरेक क्षेत्र डिजिटल रूपमा नै अघि बढिरहेको पाउँछौं । बैंकका ग्राहकले उनीहरूका सेवा सुविधाहरू हात हातमै पाउन थालेका छन् । अत्यावश्यक क्षेत्रभित्र पर्ने भएकाले अब बीमा सेवा बीमितका हात हातमा पुर्याउनु पर्छ ।’ कोइरालाले हात हातमा नै बीमा सेवा पाइने भएकाले ग्राहकले कम्पनीसम्म धाउने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । 

हुलाक टिकट  
बीमा ऐनले नै हुलाक टिकटलाई प्राथमिकतामा राखेको छ । अहिले बीमा कम्पनीले २० रूपियाँ मूल्य पर्ने टिकट टाँसेपछि मात्रै बीमा हुने व्यवस्था गरेको छ । जीवन बीमा कम्पनीले बीमा पोलिसीअुनसार १० रूपियाँ र २० रूपियाँको टिकट टाँस्नुपर्छ भने निर्जीवन बीमा कम्पनीले जम्मा २० रूपियाँको टिकट एकपटक टाँस्नुपर्ने अवस्था छ । 

अहिले बीमा ऐन २०४९ पूरानो भइसकेको र बजारको आवश्यकता अनुसारका नयाँ प्रावधानमा चल्नुपर्ने आवाज उठेको छ । समितिका अध्यक्ष सूर्य सिलवालले गरिब जनतासामू बीमा पुग्नुपर्ने र नयाँ प्रविधिमा पनि बीमालाई जोड्न जरूरी रहेको बताउँदै आएका छन् । बीमा गर्ने भनेकै क्षति भएमा क्षतिपूर्ति हुने आशामा भएकाले बीमितले भुक्तानी सकेसम्म छिटो पाउने वातावरण बन्नुपर्ने जोड उनको रहँदै आएको छ । 

डिजिटलरुपमा बीमालेखाको रकम भुक्तानी गर्ने र दावी भुक्तानी पाउने भएमा बीमाप्रति मानिसको आकर्षण बढ्न मद्दत गर्ने भए पनि बैकिङ क्षेत्रमा भन्दा बीमा क्षेत्रमा प्रविधिको प्रयोग सुस्त रहँदै आएको छ । 
अर्कोतर्फ बीमामा अभिकर्ताको प्रयोग र कमिशनको खेल बढि हुने भएकाले पनि जिडिटल कारोबारलाई खासै प्राथमिकता नदिने गरेको देखिन्छ । यद्यपि पछिल्लो समयमा बढ्दो जनदबाब र प्रतिस्पर्धाका कारण यस्ता कुरामा केही सुधार आएको छ । 

Advertisement

Advertisement