लम्बियो माओवादी महाधिवेशनः नेतृत्व चयन आज

Advertisement

काठमाडौँ । केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र)को बन्दसत्रको कार्यक्रम आइतबार मध्याह्न एक बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः एक दिन लम्बिएको हो ।

अघिल्लो आइतबार उद्घाटन गरिएको महाधिवेशन सात दिनसम्म पनि जारी रहेको छ । हिजो साँझ निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिका आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै पुनः स्थगन गरिएको छ । हिजो साँझ मात्रै माओवादीको निर्वाचन आयोगले उम्मेदवारको मनोनयनलगायत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

Advertisement

महाधिवेशनस्थल कमलादीमा हिजो साँझको बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिका आधारमा केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबारसम्मका लागि स्थगन गर्ने प्रस्ताव गरे । 

त्यसअघि हिजोको बन्दसत्र अपराह्न १ बजेदेखि सुरु भएको थियो । बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएका थिए । उनले सुझाव समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने जानकारी गराएपछि सर्वसहमतिले पारित गरेको थियो । नयाँ विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ ।

गत आइतबार उद्घाटन गरिएको माओवादीको आठौँ महाधिवेशनमा सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता गुरुङले विधान प्रस्तुत गरेका थिए । मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल चलाइएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह बनाइएको थियो । बुधबार र बिहीबार समूहगत छलफलका क्रममा उठेका विषयवस्तुमाथि टोली नेताले धारणा राखेका थिए । एक जनाका लागि १५ मिनेटको समय निर्धारण गरिएको थियो । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलका क्रममा उठेका जिज्ञासालाई सम्बोधन गरेका थिए ।

नेकपा(माओवादी केन्द्र)को निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आइतबार २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ । आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ । माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था गरिएको आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

Advertisement

Advertisement