बाढी पहिरोमा परेका १७ हजारभन्दा बढीको सकुशल उद्दार, राजमार्गहरु खुलाउने प्रयास जारी

Advertisement

काठमाडौं । पछिल्लो बाढी, पहिरो र डुवानमा १७ हजार १२० जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले दावी गरेको छ ।

खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजारभन्दा बढीको उद्दार गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए । 

Advertisement

उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजीकार्य जारी रहेको जानकारी दिँदै विपद्का घटनामा परी मुलुकभर घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताए । 

तिवारीले भने, ‘घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसक्नु पनि भएको छ । विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको थियो ।’ हालसम्म काठमाडौं उपत्यकाबाट मात्रै दुई हजार १५८ जना उद्दार गरिएको छ ।

मन्त्रालयले खोज, उद्दार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालयबीच समन्वय गरिरहेको बताउँदै प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उद्दार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन निर्देशन दिइएको बताएको छ । 

Advertisement

Advertisement