रियलले जित्दा बार्सिलोना बराबरीमा रोकियो

Advertisement

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडले फराकिलो जित निकाल्दा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४–१ गोलले हरायो । अर्को खेलबा १० खेलाडीमा समेटिएको बार्सिलोनाले ग्रानाडासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । भ्यालेन्सियाका गोन्कालो गुइडेसले सान्त्वना गोल फर्काए । बेन्जेमाले ४३औं मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए । डिबक्स भित्र विपक्षी डियाखावीले क्यासमिरोलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो ।

Advertisement

त्यसपछि ५२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ६१औं मिनेटमा भिनिसियसले मार्काे असेन्सियोको पासमा हेडगोल गर्दै रियलको अग्रता थप बलियो बनाए । जारी लिगमा भिनिसियसको यो १२औं गोल हो । उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छन्् ।

७६औं मिनेटमा गोन्कालो गुइडेसले रिवाउन्डमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे । गुइडेसको पेनाल्टी प्रहार गोलरक्षक थिवाउट कोर्टुवाले फर्काएपछि सोही बलमा उनले सोझै गोल गरेका थिए ।

८८औं मिनेटमा बेन्जेमाले फर्लान्ड मेन्डीको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सानदार जित दिलाए । जारी लिगमा बेन्जेमाको यो १७औं गोल हो । सात असिस्ट समेत दिएका उनी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षस्थानमा छन् । रियलका भिनिसियस ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै शीर्षस्थानमा रहेको रियलले २१ खेलबाट ४९ अंक बनाएको छ । रियल दोस्रो स्थानमा रहेको सेभियाभन्दा आठ अंकले अगाडि छ । पराजित भ्यालेन्सिया २८ अंक सहित नवौं स्थानमा छ ।

यसैगरी अर्को खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि लुक डे जोङले ५७औं मिनेटमा गोल गरे । ७९औं मिनेटमा गाभी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । जसको फाइदा ग्रानाडाले ८९औं मिनेटमा बराबरी गोल गर्दै उठायो ।

ग्रानाडाका एन्टोनिओ पुयर्तासले बराबरी गोल गरेका थिए । बार्सिलोनाका डानी अल्भेस ‘म्यान अफ दि म्याच’ भए । बराबरीसँगै २० खेलबाट ३२ अंक बनाएको बार्सिलोना छैटौं स्थानमा छ । २४ अंक बनाएको ग्रानाडा १२औं स्थानमा छ ।

अर्को खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १–० र लिभान्तेले मालोर्कालाई २–० गोलले हराएको छ । जितसँगै ३३ अंक बनाएको सोसिडाड चौथो स्थानमा छ । पराजित सेल्टा भिगो २३ अंक सहित १३औं स्थानमा छ । जितेपनि ११ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ । पराजित मालोर्का २० अंक सहित १५औं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement