स्थानीय निर्वाचन नगराउने र २०५९ मा जस्तै कर्मचारीलाई जिम्मा लगाउने तयारी हुँदैछः ओली

Advertisement

संखुवासभा । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा सोमबार ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागिरहेको बताएका हुन् । 

ओलीले सरकार निर्वाचनबाट डराइरहेको र लुटमारमा लागि परेको दावी समेत गरे । उनले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु¥याउने खोजेको तर्क गरे । 

Advertisement

उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गरे । ओलीले भने, ‘प्रतिक्रियावादीहरु चुनावमा जान डराइरहेका छन् । म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु– स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो । स्थानीय निर्वाचन सम्बन्धी ऐनमा के व्यवस्था छ ? फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन् । किनभने यो सरकार लुटमारमा लागेको छ अहिले । चुनावतिर होईन । यस सरकारले स्थानीय तहहरुलाई प्रतिनिधिविहीन बनाउने, कर्मचारीमार्फत् चलाउने, त्यो षडयन्त्र गर्दैछ, जुन ५९ सालमा पनि गरेको थियो । ५९ सालमा चुनाव गराइएन । चुनाव नगराएर जनप्रतिनिधिको म्याद थपिएन । कर्मचारीलाई जिम्मा लगाइयो जसले गर्दा स्थानीय तहहरु जनप्रतिनिधिविहीन र पंगु भए । त्यसपछि बल्ल ७४ सालमा हामीले चुनाव गरेर ५४ सालपछि २० वर्षमा स्थानीय तहको चुनाव भयो र स्थानीय जनप्रतिनिधिमार्फत् हामीले हाँक्ने मौका पायौं । किनभने हाम्रो हातमा सरकारमा जाने मौका मिलेन । जब हाम्रो हातमा प¥यो । अघि नै हाम्रा उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री अर्थमन्त्रीजीले भनिसक्नु भो । हाम्रो हातमा पर्दा हामीले कसरी गरेका छौं ? हाम्रो हातमा पर्दा हामीले संविधान बनाउन सक्दो भूमिका खेल्यौं ।’

देश बनाउन आफूहरुसँग समय थोरै रहेको बताउँदै ओलीले एमालेलाई साथ दिन आग्रह गरे । उनले भने, ‘हामीसँग समय थोरै छ । देश बनाउनका लागि, देश बिग्रन नदिनका लागि, देशलाई स्वाभिमानपूर्वक उभिन सक्ने बनाउनका लागि, देशको अर्थतन्त्र अगाडि बढाउनका लागि, देशबाट गरिवी हटाउनका लागि, पछौटेपन हटाउनका लागि अर्थात् संक्षिप्तमा भन्ने हो भने सुशासन र विकासको बाटोमा समृद्ध नेपालः सुःखी नेपाली बनाउनका लागि । नेकपा एमालेलाई संखुवाबासी भाजुभाई दिदीबहिनीहरुले साथ दिँदै आउनु भएको छ । अब हिजोभन्दा बढि जोडदार ढंगले नेकपा एमालेलाई साथ दिनुहोस । म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु किनभने जनताको साथबाट मात्रै देश बनाउन सकिन्छ । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गरे । दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअलमलिईकन एमालेमा आउन उनले आग्रह गरे । ओलीले एमाले मात्रै मुलुकको परिवर्तन चाहने बामपन्थी पार्टी भएको पनि दोहो¥याए । 

उनले भने, ‘अन्य पार्टीमा अझै पनि साथीहरु अलमलिईरहनु भएको छ । ती साथीहरुलाई र खास गरेर बामपन्थी खोल ओडेर, कम्युनिष्टको खोल ओडेर, प्रतिक्रियावादी काम गर्ने, दक्षिणपन्थीहरुको सेवा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने र आफूलाई लगेर प्रतिक्रियावादी खेमामा समाहित गर्ने नक्कली बामपन्थी, आडम्बरी बामपन्थी, बामपन्थीको खोल ओडेका त्यस्ता तत्वहरु र तीनका पार्टीहरुमा अक नअल्मलिनका लागि म दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु । नेकपा एमालेका आउनुस् । नेकपा एमाले मात्रै बामपन्थी अर्थात परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, जनतालाई अधिकार सम्पन्न बनाउने, सामाजिक न्याय र समानता दिने यो पार्टी हो ।’ अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार ढालेको पनि बताए । 

एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दावी गरे । अन्य दलहरुले गठबन्धन गरेर आए पनि आगामी निर्वाचनमा एमालेलाई हराउन नसक्ने उनको दावी थियो । 

पौडेलले भने, ‘अहिले जुन प्रकारको गठबन्धन सरकार छ गठबन्धन सरकार कुन हदसम्म नालायक छ ? अति अर्कमण्य छ ? कति विकास विरोधी छ ? भन्ने कुरा यहाँहरुले देखिसक्नु भएको छ । त्यस अर्थमा विकासका अभियानहरुलाई अगाडि बढाउनका निमित्त, सामाजिक न्यायको अभियानलाई अगाडि बढाउनका निमित्त, समृद्धितर्फ देशलाई अघि लैजानका निमित्त, सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्नका निम्ति फेरि पनि एमाले नेतृत्वको सरकार अपरिहार्य छ । यस अर्थमा म संखुवासभाका साथीहरुलाई आग्रह गर्न चाहन्छु– तपाईंहरुले आउने निर्वाचनमा सबै पालिका विजयी हुनुहोस् । प्रतिनिधिसभामा धेरै मतअन्तरले विजयी गराउनुहोस् । हामी जनादेशको आधारमा फेरि कमरेड केपी ओलीलाई प्रधानमन्त्रीको पदमा पुनस्थापित गर्न चाहन्छौं । र विकास, निर्माण र समृद्धिका रोकिएको अभियानहरुलाई गतिशील ढंगले अघि बढाउन चाहन्छौं । आउने निर्वाचनमा नेकपा एमालेको नसिवमा विजय लेखेको छ । आउने निर्वाचनमा एमाले बहुमत ल्याउनेछ । विकास, निर्माणको कामलाई तीव्रता दिनेछ ।’

Advertisement

Advertisement