काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूको जगेडा कोष बढाउन जोड दिएको छ । जगेडा कोषले नै बीमा कम्पनीहरुको जोखिम बहन गर्ने क्षमता निर्धारण गर्ने भन्दै समितिले उक्त कोष बढाउने नीति लिएको हो ।
समितिले केही दिनअघि नगद लाभांश वितरण नगर्न भन्दै कम्पनीहरुलाई परिपत्र जारी गरेको थियो । समितिले बीमा कम्पनीहरूलाई थप बलियो बनाउन आवश्यक रहेको भन्दै जगेडा कोषको रकम बढाउन नगद लाभांश वितरणमा रोक लगाई बोनस शेयर मात्रै दिन निर्देशन दिएको बताएको छ ।
तरलताको बढ्दो समस्याका कारण बीमा क्षेत्र थप प्रभावित नहोस भनेर पनि यो निर्णय गर्नुपरेको समितिका उच्च अधिकारीहरुको तर्क छ । विशेषगरी निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न जोड दिएको हो । यो बर्ष निर्जीवनतर्फका अधिकांश कम्पनीले नगद लाभांश दिने घोषणा गरेका छैनन् । प्रिमियर इन्स्योरेन्सले मात्रै नगद लाभांश दिने प्रस्ताव बीमा समितिमा लगेको छ ।
प्रिमियर इन्स्योेन्सले गत बर्षको मुनाफाबाट शेयरधनीलाई साढे सात प्रतिशत नगद र साढे सात प्रतिशत बोनस शेयर दिन लागेको जानकारी दिएको थियो । समितिको पछिल्लो परिपत्रपछि कम्पनी आफ्नो निर्णयलाई परिमार्जन गर्न बाध्य हुने अनुमान गरिएको छ ।
बीमा समितिले कोरोना महामारीको नयाँ लहर बढेकाले बीमा क्षेत्रबाट पैसा बाहिरिन दिने अवस्था नरहेको बताउँदै आगामी वर्षमा कम्पनीहरूले आफूले चाहेअनुरूप नगद लाभांश दिन सक्ने जनाएको छ ।
शेयर बजारमा इन्साइडर ट्रेडिङ रोकिने समितिको तर्क
बीमा समितिले कम्पनीहरुलाई नगद लाभांशको सट्टा बोनस शेयर मात्रै वितरण गर्न गरिएको परिपत्रले शेयर बजारमा बेला बेलामा हुने इन्साइडर ट्रेडिङ रोक्न मद्दत पुग्ने तर्क गरेको छ ।
बीमा कम्पनीले अग्रिम रूपमा नै नगद लाभांश वितरण गर्ने निर्णय गर्दा त्यसको असर शेयर बजारमा समेत पर्ने भन्दै बीमा समितिका एक कर्मचारीले भने, ‘अहिले बीमा कम्पनीले दिने नगद लाभांश रोक्नुमा धेरै कारणहरू छन् । त्यसमध्ये कम्पनीहरूमा हुने इन्साइडर ट्रेडिङ रोक्न पनि नियामकले केही कडा कदम चालेको हो ।’ उनले बीमा समितिले नगद लाभांश वितरण रोक्नुको पछाडी शेयर बजारमा स्वस्थता सिर्जना गर्नु र बीमा कम्पनीहरुको शेयरमा हुने इस्साइडर ट्रेडिङ रोक्न मद्दत गर्नु पनि रहेको तर्क गरे ।
यसअघि बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेले निर्देशन जारी भएकै दिन भनेका थिए, ‘अहिले बीमा कम्पनीको चुक्ता पूँजी बढाउने कुरा पनि छ । हामीले रिक्स बेस्ड क्यापिटल (जोखिममा आधारित पूँजी)मा समेत जाने लक्ष्य लिएका छौं । सोहीकारण बीमा कम्पनीको नगद लाभांशमा रोक लगाएका हौं ।’ तर, यता प्रिमियर इन्स्योरेन्ससँग थप कुराकानी गर्न खोज्दा कम्पनीले सम्पर्कमा आउन चाहेन ।