काठमाडौं । अहिले जीवन बीमा कम्पनीहरूले धमाधम आर्थिक वर्ष २०७६–७७ को वित्तीय विवरण स्वीकृत गराईरहेका छन् । आर्थिक वर्ष २०७६–७७ मा जीवन बीमातर्फ ६ कम्पनीको वित्तिय विवरण स्वीकृत भइसकेको छ भने अन्य १३ कम्पनीको बाँकी छ ।
स्वीकृत पाउनेमा महालक्ष्मी लाइफ, रिलायन्स लाइफ, प्राईम लाइफ, मेट लाइफ, एशियन र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी छन् । त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले पनि वित्तीय विवरण बीमा समितिमा पेस गरेको छ । तर समितिले स्वीकृत गरिसकेको छैन् । अरु कम्पनीले पनि वित्तिय विवरण समितिमा पठाउने तयारी गरेका छन् ।
वित्तीय विवरण स्वीकृत भएपछि मात्रै कम्पनीहरूले साधारण सभा गर्न पाउँछन् । तर समितिले साधारण सभाका लागि बीमा कम्पनीहरूलाई ताकेता नगर्ने जनाएको छ । सभा यति नै समयमा अनिवार्य गर्नुपर्छ भन्ने बाध्यकारी व्यवस्था नरहेको भए पनि कम्पनीहरूले साधारणतया समयमा गर्नुपर्ने समितिका कर्मचारीहरूको भनाई छ ।
समितिले वित्तीय विवरण स्वीकृत गरेपछि मात्रै कम्पनीहरूले साधारण सभा गर्न पाउँछन् । विवरण स्वीकृत गर्ने क्रममा ६० दिनभित्र साधारण सभा गर्न आफूहरुले मौखिक निर्देशन दिने गरेको समितिले जानकारी दिएको छ । समितिले साधारण सभा भयो भएनभन्दा पनि कम्पनीहरूले समयमा नै वित्तीय विवरण पेश गरे नगरेको हेर्ने बताए ।
यता, निर्जीवन बीमातर्फ भने ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीबाहेक बाँकीको स्वीकृत भइसकेको छ । अन्य कम्पनीको हकमा आर्थिक वर्ष सकिएको मितिले पुस मसान्तसम्म साधारण सभा गर्नुपर्ने प्रावधान छ । तर बीमा कम्पनीहरूका लागि भने बीमा समितिले चैत मसान्तसम्म समय दिने गरेको छ ।
बीमाको हिसाब किताबका लागि बीमांकीको ठूलो महत्व हुने र नेपाल बीमांकी अभावका कारण साधारण सभाका लागि समितिले धेरै ताकेता गर्दैन । तर, साधारण सभाकै हकमा चरम लापरवाही गरेमा कम्पनी ऐनलेअनुसार जरीवनादेखि नवीकरण रोक्का हुनेसक्ने व्यवस्था रहेको छ ।
बीमा समितिले पछिल्लो समय कोरोना महामारीका कारण पनि साधारण सभा प्रभावित हुन पुगेको जानकारी दिएको छ । तर धेरै ढिलाई भएमा कम्पनी आफै समस्यामा पर्ने भन्दै समितिले यसमा कम्पनीहरू सक्रिय हुनपर्ने बताएको छ ।