ढुक्कसँग नेपालमै पुनर्बीमा गर्दा हुन्छ, सबै किसिमको जोखिम बहन गर्न तयार छौंः रायमाझी

Advertisement

काठमाडौं । नेपालका बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीको क्षमतामाथि प्रश्न उठाइरहेको बेला उसले जोखिम बहन गर्न सक्षम रहेको स्पष्ट पारेको छ । 

बीमा कम्पनीहरुले ठूलठूला जोखिमहरुको जोखिम बहन गर्नसक्ने क्षमता नेपाल पुनर्बीमाको नरहेको भन्दै विदेशी कम्पनीसँग पनि पुनर्बीमा गर्ने बाटो बन्द गर्न नहुने बताउँदै आएका थिए । तर नेपाल पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले भने आफूहरु रहेक जोखिम बहन गर्न सक्षम रहेकोले शंका गर्नु जरुरी नरहेको बताए । 

Advertisement

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘क्लेम पर्यो भने त जस्ले पनि तिर्नैपर्छ । हामी हरेक क्लेम बहन गर्न सक्षम छौं ।’ एकै पटक ठूलो जोखिम आयो भने नेपाल पुनर्बीमा कम्पनीलाई धान्न गाह्रो हुने बीमा कम्पनीका सीईओहरुले बताउँदै आएका छन् । नेपाल पुनर्बीमा सरकारी स्वामित्वको कम्पनी हो । अहिले निजी क्षेत्रबाट हिमालयन पुनर्बीमा कम्पनी पनि सञ्चालनमा आइसकेको छ । 

हालसम्म छानीछानी बिना रेटिङका पुनर्बीमा कम्पनीमा नै बीमा गराउँदै आएका बीमा कम्पनीहरूलाई रेटिङका आधारमा मात्रै सबल पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्न बीमा समितिले निर्देशन दिएको छ । साथै, नेपाल पुनर्बीमामा कम्तिमा २० प्रतिशत व्यवसाय अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको समितिले हिमालयन पुनर्बीमा आएपछि सकेसम्म नेपालकै कम्पनीमा पुनर्बीमा गर्नुपर्ने र उनीहरुले गर्न नसक्ने जानकारी दिएमा मात्रै विदेशी कम्पनीमा पुनर्बीमा गर्न परिपत्र गरेको छ । 

मुख्यतया निर्जीवन बीमा कम्पनीहरुले जलविद्युतको बीमामा समस्या देखिरहने र त्यसको शुल्क समेत महङ्गो हुने भन्दै पुनर्बीमा कम्पनीको समेत जोखिम धारण क्षमता बलियो हुनुपर्ने बताउँदै आएका छन् । 

यता समितिका अध्यक्ष सूर्य सिलवालले भने सुरूमा आफूहरूले पुनर्बीमा निर्देशिका जारी गर्दा केही समस्या भए पनि अहिले भने कुनै समस्या नरहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामीले सुरूमा पुनर्बीमा निर्देशिका जारी गर्दा बीमा कम्पनीहरूले केही आपत्ति जनाउनु भएको कुरा सत्य हो । तर, अहिले हामीले उनीहरुलाई जोखिमको अध्ययन गर्न र पुनर्बीमाका विषयमा छलफल गर्न केही स्वतन्त्र छोडेको अवस्था छ ।’

अध्यक्ष सिलवालले पछिल्लो सयम लाइसेन्स पाएको निजी क्षेत्रको हिमालयन रि (पुनर्बीमा) कम्पनीलाई मात्रै पोस्न बीमा समिति लागिपरेको भन्ने तर्कको समेत खण्डन गरेका छन् । उनले भने, ‘अहिले हामीले पुनर्बीमाको बारेमा अध्ययन गर्न बीमा कम्पनीका सीईओहरूलाई समेत मौका दिएका छौं । त्यसैले कम्पनीहरूको कुरा पनि हामीले नसुन्ने भन्ने हुँदैन । त्यस्तै, हिमालन रि र नेपाल रि दुबैको प्रतिनिधित्व समितिमा हुने भएकाले पनि हामीले हिमालयन रि को पक्ष लिएका छौं भन्ने कुरा सत्य होइन ।’

Advertisement

Advertisement