काठमाडौं । अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल ४,८९२ (मिटर)को सफल आरोहणपछि विश्व कीर्तिमानी मिङ्मा शेर्पाले अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा (६,९६१ मिटर) को सफल आरोहण गरेका छन् ।
जनवरी २४ अर्जेन्टिनाको समयअनुसार बिहान १०ः१० बजे कीर्तिमानी आरोहीसमेत रहेका मिङमाले अकोनकागुवा हिमालको सफल आरोहण गरेका हुन् ।
यसअघि कीर्तिमानी आरोहीसमेत रहेका तीन नेपाली दाजुभाइले जनवरी १३ मा अन्टार्कटिकाको द लास्ट डिग्री–द साउथ पोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमालको एकैपटक सफलतापूर्वक आरोहण गरेका थिए ।
संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासी लाक्पा शेर्पा डिसेम्बर १३ मा काठमाडौबाट अन्टार्कटिकाकातर्फ प्रस्थान गरेका थिए ।
सेभेन समिट ट्रेक्सका सञ्चालकसमेत रहेका तीन दाजुभाइले पहिलोपटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।
प्रस्थान गर्नु अघि १३ डिसेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दाजुभाइलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफल प्रयासका लागि शुभकामना दिएका थिए। भिन्सन (४,८९२ मिटर) अन्टार्कटिका र दक्षिण ध्रुवको सबैभन्दा अग्लो चुचुरो हो, जसलाई भौगोलिक दक्षिण ध्रुव वा स्थलीय दक्षिण ध्रुुव पनि मानिन्छ।अन्टार्कटिकाको सबैभन्दा अग्लो हिमाल (द लास्ट डिग्री–द साउथ पोल एण्ड माउन्ट भिन्सन) दक्षिण ध्रुवबाट ७०० समुद्री माइलको दूरीमा एल्सवर्थ पर्वतमा पर्छ।