केनोपनिषद्ः त्यो के हो जसलाई जान्नेहरु जान्दैनन्, नजान्नेहरु जान्छन् ?

Advertisement

शिरीषवल्लभ प्रधान

आधुनिक मनोविज्ञानको विकास हुनुभन्दा हजारौं वर्षअघि पनि मानिसले मन, इन्द्रीय र चेतना जस्ता सूक्ष्म तत्वहरुको अन्वेषण र अनुसन्धान गरेका थिए भन्ने उपनिषदको अध्ययनबाट थाहा हुन्छ । हामीले जे बोलिरहेका छौं, किन बोलिरहेका छौं ? जे गरिरहेका छौं, कसको प्रेरणाले गरिरहेका छौं ? मनले जे सोचिरहेका छौं, कसव्दारा प्रयुक्त भई सोचिरहेका छौं ? भन्ने चिन्तन गर्न केनोपनिषद्बाट प्रेरणा मिल्छ । वेदान्तअनुसार हाम्रा इन्द्रीयहरु स्वतः क्रियाशील हुँदैनन् । मनलगायत इन्द्रीयहरु अचेतन पदार्थ हुन् भने आत्मा एकमात्र चेतनशील तत्व हो । उदाहरणको लागि चन्द्रमाले प्रकाश दिन्छ । तर चन्द्रमा आफै प्रकाशवान् छैन् । सूर्यको प्रकाशले गर्दा चन्द्रमा प्रकाशित भएको हो । त्यसैगरी इन्द्रीयहरु पनि शुध्द आत्माव्दारा प्रकाशित हुनाले चेतनशील भएका हुन् । यो कुरा केनोपनिषद्को निम्नश्लोकबाट बुझिन्छः

Advertisement

केनेषितं पतति प्रेषितं मनः । केन प्राणः प्रथमः प्रैतियुक्तः ।
केनेषितां वाचमिमां वदन्तिचक्षुः श्रोत्रं क उ देवो युनक्ति ।। १.१ ।।

यो मन कसव्दारा प्रेरित भई आ–आफ्ना विषयहरुमा जान्छ ? कसव्दारा प्रयुक्त भई मुख्य प्राण (श्वास) चलायमान् हुन्छ ? प्राणि कसव्दारा इच्छित भई यो वाणि बोल्छ ? कुन देवले चक्षु र श्रोत्रलाई अभिप्रेरित गर्छ ?

वास्तवमा इन्द्रीयहरु विषयहरुमा स्वतः प्रवृत्त हुँदैनन् । प्राणीहरुको नेत्र र श्रोत्र अर्थात् आँखा र कानलाई प्रेरित गर्ने देव कुन हो ? अर्थात् जुन चेतनतत्व इन्द्रीयहरुका अधिष्ठाता हुन् त्यो कुन विशेषणले युक्त छ ? उपनिषद्मा गुरु र शिष्यबीच वार्तालापको माध्यमव्दारा आत्मज्ञानलाई प्रकाशित गरिन्छ । माथि उल्लिखित शिष्यको जिज्ञासालाई शान्त पार्दै गुरु भन्छन् ः

श्रोत्रस्य श्रोत्रं मनसो मनो यद्वाचो ह वाचं स उ प्राणस्य प्राण
श्चक्षुषश्चक्षुरतिमुच्य धीराःप्रेत्यास्माल्लोकादमृताभवन्ति ।। १.२ ।।

जो श्रोत्रको पनि श्रोत्र, मनको मन र वाणिको पनि वाणि हो, त्यही प्राणको प्राण र चक्षुको पनि चक्षु हो । यस्तो जानेर धीर पुरुष यस संसारमा मुक्त भई अमर हुन्छ । शंकरभाष्यमा यसको व्याख्या गर्दै भनिएको छ, श्रोत्रको पनि श्रोत्र भन्नुको अर्थ चेतनशील निर्गुण आत्माको नै मन आदिको प्रवृत्तिमा कारणत्व छ भन्ने हो । शास्त्रमा आत्मालाई शुध्द चेतना भनिएको पनि छ । यस श्लोकमा अमरत्व प्राप्त गर्छ भन्नुको तात्पर्य शंकराचार्यकाअनुसार आत्मज्ञान भएपछि सम्पूर्ण प्रारब्ध कर्म ज्ञानाग्निव्दारा भष्म हुनाले ज्ञानी जन्म, मृत्युको चक्रबाट मुक्त हुन्छ भन्ने हो । आत्मा अत्यन्त सूक्ष्म तथा सर्वव्यापी हुनाले भनिन्छ, त्यसलाई वाक्, चक्षु, श्रोत्र तथा मनले पनि भेट्टाउन सक्दैन । त्यस्तो सूक्ष्म आत्मालाई वर्णन गर्ने र बुझाउने प्रयास यस उपनिषदले गरेको छ । उपनिषद्मा अगाडि भनिएको छ,

यन्मनसा न मनुते येनाहुर्मनो मतम् ।
तदेव ब्रह्म त्व ंविध्दि नेदं यदिदमुपासते ।। १.५ ।।

जसलाई मनले मनन गर्न सक्दैन, बरु जसव्दारा मनले मनन गर्छ, त्यसलाई तिमी ब्रह्म जान, जुन अन्य देवताहरुलाई मानिसहरु मूर्तिमा उपासना गर्छन्, त्यो ब्रह्म हैन् भनी आत्माबाहेक अन्य वस्तुमा ब्रह्मलाई निषेध गरिएको हो । आत्मा वा ब्रह्म अत्यन्त सूक्ष्म हुने हुनाले त्यसलाई मनले चिन्तन गर्न सक्दैन, किन्तु त्यो आत्मतत्वको प्रकाशव्दारा नै मनले चिन्तन, मनन गर्छ भनिएको हो ।

त्यस्तै, उपनिषद्ले भन्छ, जसलाई वाणिले प्रकाशित गर्न सक्दैन तर जसव्दारा वाणि प्रकाशित हुन्छ, त्यो ब्रह्म हो । यसरी मन सहित श्रोत्र, वाक् चक्षु आदि कसैले पनि आत्मालाई प्रकाशित गर्न सक्दैन तर आत्माले नै तिनीहरुलाई प्रकाशित गर्छ । केनोपनिषद्अनुसार आत्मा त्यस्ता व्यक्तिले जान्दैनन्, जसले जान्छु भनी दावी गर्छ । अर्थात् यो मन, इन्द्रीयहरुव्दारा प्रत्यक्षगोचर नहुने विषय हो । उपनिषद्को अर्को श्लोकमा भनिएको छः

यदि मन्यसे सुवेदेति दहरमेवापि नूनम् । त्वं वेत्थ ब्रह्मणा
रुपं यदस्य त्वं यदस्य देवेष्वथ नु मीमा ँ्स्यमेव ते मन्ये विदितम् ।। २.१ ।।

यदि तिमी मान्छौ कि ब्रह्मलाई मैले राम्ररी जानेको छु, तब निश्चय पनि तिमीले ब्रह्मको सानो अंशलाई जानेको हुनपर्छ । तसर्थ तिम्रो निम्ति ब्रह्म विचारणीय छ ।

त्यस्तै अर्को एक श्लोकमा भनिएको छ,

नाहं मन्ये सुवेदेति नो न वेदेति वेद च ।
यो नस्तव्देद तव्देद नो न वेदेति वेद च ।। २.२ ।।

म न त यो मान्दछु कि मैले ब्रह्मलाई राम्ररी जानिसकें, न यो सम्झन्छु कि त्यसलाई जानेको छैन् । तसर्थ म त्यसलाई जान्दछु । हामी शिष्यहरुमध्ये जसले ब्रह्मलाई न त जान्दिन, न त जान्दछु भनी यसप्रकार जान्दछ, वास्तवमा उसैले जान्दछ । यहाँ कुरा विरोधाभाषपूर्ण झैं लाग्छ । तर जसलाई शब्दव्दारा व्यक्त गर्न नसकिने ब्रह्मलाई शब्दमा बाँधिदा यस्तो हन गएको हो । सोही उपनिषद्को अर्को श्लोकमा भनिएको छ,

ब्रह्मबारे शिष्यलाई कसरीे उपदेश दिने भन्ने हामीलाई थाहा छैन् । त्यो, ब्रह्म, विदितभन्दा अन्य हो तथा अविदितभन्दा पर छ । ब्रह्म अव्यक्त हुनाले त्यसलाई विदित भन्दा अन्य भनिएको हो भने त्यो अज्ञातभन्दा पनि भिन्न हुनाले त्यसलाई अविदितभन्दा बेग्लै भनिएको हो । (केन १.३)

त्यस्तै अर्को श्लोकमा भनिएको छ,
त्यो ब्रह्म जसलाई ज्ञात छैन, उसैले जान्दछ र जसलाई ज्ञात छ, उसले जान्दैन । किनकि त्यो जान्नेहरुको निम्ति नजानिएको विषय हो भने नजान्नेहरुको निम्ति जानिएको विषय हो ।

त्यो अन्य बस्तु जस्तै दृष्य छैन र इन्द्रीयको विषय पनि हैन्, त्यसैले त्यसलाई जान्न सकिन्न भन्ने आशय हो । जसको निम्ति सबै कुरा ब्रह्म भइसकेको छ, त्यहाँ कसले कसलाई सुन्न, कसले कसलाई देख्न सक्छ र कसले कसको चिन्तन गर्न सक्छ, भनी बुहदारण्यकोपनिषद्मा भनिएको पनि छ । अन्यले अन्यलाई देख्न सक्छ, अन्यले अन्यलाई सुन्न सक्छ  र अन्यले अन्यलाई चिन्तन गर्न सक्छ । तर आफैले आफैलाई देख्न, सुन्न वा चिन्तन गर्न संभव नहुने हुनाले पनि आत्मा जान्नेहरुको निम्ति नजानिएको विषय हो भनिएको हो । (केन २.३)

जुन ब्रह्मज्ञानी यस्तो निश्चय गर्छन् कि ब्रह्म अविज्ञात वा जान्न नसकिने छ, उसैले ब्रह्मलाई जानेको छ । तर जसले ब्रह्म विज्ञात वा जान्न सकिन्छ भनी ठान्दछ वास्तवमा उसले जानेको छैन् । जसले ब्रह्मलाई अविज्ञातरुपले आत्मभावले जानेको छ, उसैले जानेको छ । तर अज्ञानीलाई मन, इन्द्रीयहरुको अविषय भएको आत्मालाई मैले जाने भन्ने भ्रम हुन्छ । साथै  अज्ञानीहरु मन, बुध्दि र इन्द्रियलाई आत्मा ठान्छन् भन्ने यसको आशय हो । उनीहरुको त्यो ज्ञान सीपीमा चाँदीको भ्रम जस्तै मात्र हो ।

(यो लेखको अंग्रेजी संस्करण द नेपाल विक्लीमा हेर्न सकिन्छ)

Advertisement

Advertisement