स्पेनिस ला लिगामा रियल म्याड्रिड र बार्सिलोना विजयी

Advertisement

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिड र बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले ग्रानाडामाथि १-० गोलको कठिन जित निकालेको हो । अर्को खेलमा १० खेलाडीमा सीमित बार्सिलोनाले साविक विजेता एट्लेटिको म्याड्रिडलाई ४–२ गोलले स्तब्ध बनायो ।

रियलको जितमा मार्काे असेन्सियोको निर्णायक गोल गरे । मार्कोले ७४औं मिनेटमा इडर मिलिटाओको पासमा गोल गरेका थिए । ६६ प्रतिशत बल पोसेसन राखेको रियललाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । रियलको लगातार प्रयासमा ग्रानाडाका गोलरक्षक लुइस म्याक्सिमियानो बाधक बनेका थिए । निर्णायक गोल गरेका रियलका मार्काे असेन्सियो ‘म्यान अफ दि म्याच’ भए ।

Advertisement

जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ । रियको २३ खेलबाट ५३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ४७ अंक छ । पराजित ग्रानाडा २४ अंक सहित १६औं स्थानमा छ ।

यसैगरी घरेलु मैदानमा बार्सिलोनालाई जिताउन जोडी आल्बा, गाभी, रोनाल्ड अरुजो र डानी आल्भेसले गोल गरे । एट्लेटिकोका यानिक कारास्को र लुईस स्वारेजले गोल गरे । खेलमा सुरुवाती अग्रता एट्लेटिकोले लिएको थियो । आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । तर एट्लेटिकोको अग्रता दुई मिनेट पनि टिकेन । १०औं मिनेटमा जोर्डी आल्बाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

२१औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए । ४३औं मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई थप बलियो बनाए । ४९औं मिनेटमा आल्भेसले गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अग्रसर बनेको थियो । ५८औं मिनेटमा स्वारेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे । ६९औं मिनेटमा आल्भेस रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । तर एट्लेटिकोले त्यसको फाइदा उठाउन सकेन ।

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ । पराजित एट्लेटिको ३६ अंक सहित पाँचौँ स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० अंक छ । आइतबार रातिनै घरेलु मैदानमा भएको खेलमा बेटिस भिल्लरियलसँग २–० गोलले पराजित भएको छ । जितसँगै ३५ अंक बनाएको भिल्लारियल छैटौँ स्थानमा उक्लिएको छ । अर्को खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement