काठमाडौं । होटल संघ नेपाल (हान)का अध्यक्ष सिर्जना राणाले हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई भेटी होटलहरुलाई सञ्चालनमा बाधा सिर्जना नगर्न आग्रह गरेकी छन् ।
क्यासिनो सञ्चालनबापतको करोडौं रुपियाँ रोयल्टी नबुझाएको भन्दै दुई ठूला तारे होटलहरु बन्द गर्ने मन्त्रीको निर्णयपछि राणाले आलेलाई मंगलबार भेट गरेकी हुन् । कोभिड महामारीबाट सिर्जित अप्ठ्यारो परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणको लागि आग्रह गरेकी थिइन् ।
उनले नेपालको पर्यटन उद्योगको प्रर्वद्धन, विकास तथा संरक्षणमा हानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आफ्ना सदस्यहरुको पक्ष तथा हक अधिकारको पक्षमा वकालत गर्दै आएको बताएकी थिइन् । राणाले कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर तथा शुल्कहरु राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने बताउँदै तर राज्यले तोकेको राजस्व तथा शुल्क नियमसंगत हुनुपर्ने बताएकी थिइन् ।
नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको पाँचतारे होटल याक एण्ड यतिको इजाजत खारेजीबारे उनले प्रश्न उठाएकी थिइन् । होटल बन्द गर्दा श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएका सेवा सुविधा उपलब्ध गराउनलाई समस्या रहेको उनले जानकारी दिएकी थिइन् ।
राणाले एकातिर कोभिडको महामारीले पर्यटन व्यवसाय धरासायी भएको अवस्थामा पर्यटन व्यवसायमा देखिएका यस्ता खालका समस्याले नेपालमा पर्यटन क्षेत्रमा लगानीको वातावरण समेतमा सकारात्मकताको सञ्चार हुन नसकेको बताएकी थिइन् । उनले मुलुकको कानुनबमोजिम हुने राजस्व तथा अन्य राज्यले प्राप्त गर्ने शुल्कहरु नियमबमोजिम हुने नै हुँदा होटल सञ्चालनको निरन्तरताका लागि जोड दिइन् ।
नियम पालना गराउने मामलामा संघको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु¥याएको योगदान कदर गर्दै होटल जस्ता ठूलो लगानी भएका प्रतिष्ठानहरुले अर्थतन्त्रलाई पु¥याएको गहकिलो योगदानको कदर गर्न मन्त्री आलेलाई राणाले सल्लाह दिएकी थिइन् ।