एमसीसी पास गर्न दबाबमा रहेका देउवा आरजुलाई लिएर ओलीलाई भेट्न बालकोट पुगे

Advertisement

काठमाडौँ । अमेरिकी संस्था एमसीसीसँगको सम्झौता पास गर्न निकै दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बेलुकी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न भक्तपुर बालकोट पुगेका छन् । देउवासँग उनकी पत्नी आरजु राणा पनि सँगै गएकी थिइन् । 

आफ्नो सत्ता गठबन्धनमा सहमति नजुटेपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका छन् । महाकाली सन्धी पास गर्ने बेलामा पनि देउवालाई ओलीले साथ दिएका थिए । अहिले पनि एमसीसी पास गर्न ठूलो दबाब र निकै संकटमा रहेका देउवा ओलीले साथ दिने आशामा छन् । 

Advertisement

ओलीलाई भेट्न राति ८ बजे बालकोट पुगेका देउवाले एमसीसी पास गर्न सहयोगका लागि आग्रह गरेका थिए । आज बसेको गठबन्धनको बैठकको सुरुमै देउवाले एमसीसी टेबल गरेर संसद्‍मै छलफल गर्न प्रस्ताव गरेका थिए । तर, नेताहरूले त्यसलाई अस्वीकार गरेका थिए । 

उनले संसद्‍मा टेबल गर्दैमा पास गर्ने वा फेल गर्नेबारे निर्णयमा पुग्नु नपर्ने बताउँदै पहिले संसद्‍मा पेस गरौँ । त्यसपछि यसमाथि छलफल गरेर पास फेलबारे निर्णयमा पुगौँला भनेका थिए । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले भने अहिलेकै अवस्थामा एमसीसी संसद्‍मा टेबल गर्नै नमिल्ने अडानमा छन् । 

Advertisement

Advertisement