प्रभु लाइफमा नारायण पौडेललाई हटाएर सन्तोष प्रसाईंलाई सीईओ नियुक्तिको तयारी

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा हालका सीईओ नारायण पौडेललाई हटाएर चार्टर्ड एकाउन्टेन्ट (सीए) सन्तोष प्रसाईंलाई सीईओ नियुक्तिको तयारी गरिएको छ । 

चार बर्षका लागि नियुक्त भएका पौडेललाई साढे दुई बर्षमै हटाउनु अर्थपूर्ण देखिन्छ । पौडेल र कम्पनीका सञ्चालकहरुबीच कुरा नमिल्ने गरेबाट उनलाई बीचैमा राजीनामा गराएर प्रसाईंलाई सीईओ नियुक्तिको तयारी गरिएको छ । 

Advertisement

पौडेललाई हटाएर प्रसाईंलाई सीईओ नियुक्ति गर्न लागिएको तथ्यलाई बीमा समिति स्रोतले पनि स्वीकार गर्यो । अर्को एक बीमा कम्पनीका सीईओले पनि प्रभु लाइफबाट पौडेल हट्न लागेको र प्रसाईं सीईओ नियुक्त हुन लागेको कर्पोरेट नेपाललाई जानकारी दिए । 

सीए प्रसाईंले आफू बीमा क्षेत्रमा फर्किन लागेको स्वीकार गरे पनि कुन कम्पनीमा फर्किन लागेको हो ? त्यो भने खुलाउन चाहेनन् । उनले भने, ‘दुई–चार वटा कम्पनीमा कुरा भइरहेको छ । थाहा छैन्, कुनमा हुन्छ । तर म फर्किने तयारीमा हो । अहिले कुलिङ पिरियडमा छु । 

प्रसाईं यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओ थिए । उक्त कम्पनीका सञ्चालकहरुसँग खटपट भएपछि उनले राजीनामा दिएर बसेका हुन् । कुलिङ अवधि सक्किनासाथ प्रभु लाइफमा सीईओ नियुक्त हुन लागेका प्रसाईंले संभवतः बैशाखपछि जिम्मेवारी सम्हाल्नेछन् । 

सीईओ पौडेल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा प्रवक्ता भइसकेका व्यक्ति हुन् । राष्ट्र बैंकबाट अवकाश पाएको तीन बर्ष नपुग्दै निजी बीमा कम्पनीको सीईओ नियुक्त भएपछि उनी केही समय विवादमा पनि परेका थिए । पछिल्लो समयमा बीमा कम्पनीका उच्च व्यवस्थापकहरु एकबाट अर्कोमा जाने क्रम निकै बढेको देखिन्छ । 

Advertisement

Advertisement