ईशावास्य उपनिषद्ः सफल जीवन ज्युने सुत्र– त्यागपूर्वक भोग्दै जाउ

Advertisement

शिरीषवल्लभ प्रधान

ईशावास्य उपनिषद् केवल १८ श्लोकमात्र भएको अत्यन्त छोटो तर महत्वपूर्ण श्रुति ग्रन्थ हो । यस उपनिषद्मा आत्माको यथार्थ स्वरुपबारे स्पष्ट वर्णन गरिएको छ । विद्याको उपासना गर्ने र अविद्या अर्थात् कर्मको उपासना गर्नेको बेग्ला, बेग्लै फल हुन्छ भन्ने दर्शाउँदै यसले विद्या र कर्म दुबैलाई साथसाथै अपनाउनुपर्ने कुरामा जोड दिन्छ । उपनिषद्को पहिलो मन्त्र आत्मज्ञानको दृष्टिले अति महत्वपूर्ण मानिन्छ, जसमा भनिएको छः

Advertisement

ईशावास्यमिद्ँ सर्वं यत्किन्च जगत्यां जगत् ।
तेनत्यक्तेन भुन्जीथा मा गृधः कस्यस्विध्दनम् ।। १ ।।

यो सारा चराचर जगत ईश्वरव्दारा आच्छादित अर्थात् व्याप्त छ । तसर्थ जीवनमा त्यागपूर्वक भोग गर्दै जाऊँ, किनकि ईश्वरव्दारा उपलब्ध ती भोग्यपदार्थ कसैको निजी पेवा हैन् । पहिलो श्लोकमा नै यस उपनिषद्को सार लुकेको छ । यो श्लोकको आशय प्रकृतिले दिएका भोग्यपदार्थको उपभोग नै नगर्नु भन्ने हैन्, केवल आशक्तिलाई त्याग्नु र बढी चीजको लोभ नगर्नु भन्ने हो । 

पहिलो, यो सारा जड, चेतनशील जगत ईश्वरव्दारा आच्छादित अर्थात् परिपूर्ण छ । ईश्वर सर्वव्यापी र कणकणमा छ अर्थात् ईश्वर नभएको कुनै वस्तु छैन् । जीवजन्तु, वनस्पति, जडपदार्थ सर्वत्र ईश्वरले व्याप्त छ । दोश्रो, हामीले उपभोग गर्ने जे जति धन वा भोग्यपदार्थ छन्, ती सबै ईश्वरकै उपहार हुन्, त्यसमा कसैको एकलौटी अधिकार छैन् । यस्तो सम्झेर मनमा त्यागको भावना राखेर ती भोग्य पदार्थहरु भोग्दै जाऊ । फजुल खर्च नगरी आफ्नो न्यूनतम आवश्यकता मात्र पूर्ति गर्ने हिसाबले भोग गर र आफूलाई चाहिनेभन्दा बढी वस्तु संग्रह नगर । तेश्रो, आफूले उपभोग गरेपछि जे जतिबचेको छ, त्यसमा आशक्ति नलेउ । अरु प्राणि वा मानिसको पनि त्यसमा त्यत्तिकै अधिकार छ भन्ने बुझ । उपनिषद्को दोश्रो श्लोकमा भनिएको छ,

कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छत्ँ समाः ।
एवं त्वयिनान्यथेतो ऽस्ति न कर्म लिप्यते नरे ।। २ ।।

यस लोकमा कर्म गर्दै पूर्ण आयु बांच्ने इच्छा गर । यसरी मनुष्यत्वको अभिमान राख्नेहरुको निम्ति कर्ममा लिप्त नभई बांच्ने योभन्दा अरु मार्ग छैन् ।

यस मन्त्रमा कर्मका अधिकारीहरुको निम्ति शास्त्रअनुसार आफनो कर्तव्य पालन गर्दै पूर्ण आयु बांच्ने इच्छा गर भनी उपदेश दिइएको छ । त्यसप्रकारले कर्म गर ताकि कर्मले नबांधियुन् अर्थात् गीतामा भनिए जस्तै निष्कामकर्म गर्ने आदेश यहां दिइएको छ । कर्म विना जीवनको गुजारा पनि नचल्ने हुंदा शुभकर्ममा ध्यान देऊ ताकि अशुभकर्मको लेप नलागोस् भनेर आशय यसको हो ।

त्यसैगरी, अर्को श्लोकमा भनिएको छ,
असुर्या नाम ते लोका अन्धेन तमसा वृताः

अर्थात्, आत्मादर्शन नगर्नेहरु, जो आत्मघाती कहलिन्छन्, तिनीहरुले असुर्या नामक लोक प्राप्त गर्छन् अर्थात् जन्म, मृत्युको चक्रमा फसिरहन्छन् । यसरी यस श्लोकले मानिसको कल्याणको निम्ति आत्मज्ञानमा नै जोड दिएको छ । आत्मा सर्वव्यापी हुन्छ, र जसले आत्मालाई तिरस्कार गरी शरीरलाई नै सत्य भन्ठान्छ, त्यस्ता व्यक्ति संसार चक्रबाट कहिल्यै छुट्न सक्दैन तर आत्मालाई जान्ने व्यक्ति मुक्त र अमर हुन्छ । त्यो आत्मतत्व कस्तो हुन्छ भन्ने कुरा निम्न श्लोकबाट ज्ञात हुन्छः

तदेजति तन्नैजति तद्दूरे तव्दन्तिके ।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्यबाह्यतः ।। ५ ।।

अर्थात्, त्यो आत्मतत्व स्थिर देखिए तापनि चलायमान् छ, लाखौं माइल टाढा रहेर पनि अत्यन्त नजीक छ र सबै बस्तुको भित्र रहेर पनि बाहिर पनि छ । त्यो आत्मतत्व सर्वत्र विद्यमान् हुनाले स्थीर रहेर पनि चलायमान जस्तो लाग्छ । त्यो ज्ञानीहरुको निम्ति अत्यन्त नजीक हृदयमा नै हुन्छ भने अज्ञानीहरुको निम्ति कोसौं टाढा हुन्छ । त्यस्तै आत्मा सर्वव्यापी हुनाले भित्रबाहिर सर्वत्र भएको मानिन्छ । त्यसगरी चौथो श्लोकमा भनिएको छः

अनेजदेकं मनसो जवीयो
नैनद्देवा आप्नुवन्पूर्वमर्षत् ।। ४ ।।

अर्थात्, त्यो आत्मतत्व आफ्नो स्वरुपमा विचलित नहुने स्वभावको छ, एकमात्र छ एवं मनभन्दा पनि तीब्र गति त्यसको छ । त्यो इन्द्रियहरुभन्दा पनि तीब्र गतिले गमन गर्ने हुनाले त्यसलाई इन्द्रियव्दारा ग्रहण गर्न सकिंदैन । त्यो आकाश समान व्यापक हुनाले इन्द्रियहरु जहां पुग्छन् त्यो पहिल्यै त्यहां विद्यमान् हुन्छ । त्यो स्थीर भएर पनि सबै गतिहरुको अतिक्रमण गर्न समर्थ छ । त्यसको उपस्थितिमा नै वायुले समस्त प्राणिहरुको प्रवृत्तिरुप कर्महरुको विभाग गर्छ । 

ज्ञानी पुरुषले सर्वत्र आत्मा अर्थात् ईश्वर दर्शन गर्दछ र त्यसैले उसलाई घृणा, शोक वा मोह केही हुंदैन भन्ने दर्शाउंदै उपनिषद्ले भन्छः

यस्तु सर्वाणि भूतानिआत्मनि अनुुपश्यति ।
सर्वभूतेषु च आत्मानं ततो न विजुगुप्सते ।। ६ ।।

जसले आत्मामै समग्र भौतिक विश्वलाई देख्दछ, र सम्पूर्ण भौतिक पदार्थमा आत्मालाई नै देख्दछ, त्यो व्यक्ति सर्वात्म्यदर्शनका कारण कसैसंग घृणा गर्दैन अर्थात् सबैलाई प्रेम गर्छ । अर्थात् जसले सम्पूर्ण चराचर जगतलाई आत्माभन्दा भिन्न देख्दैन र सम्पूर्ण भौतिक पदार्थहरुमा आफ्नो निर्विशेष आत्मस्वरुपलाई नै देख्छ, ऊ आत्मदर्शनका कारण कसैप्रति वैरभाव राख्दैन । त्यसैगरी अर्को श्लोकमाभनिएको छः

यस्मिन्सर्वाणि भूतानि आत्मैवभूव्दिजानतः ।
तत्र को मोहःकःशोक एकत्वमनुपश्यतः ।। ७ ।।

जुनबखत ज्ञानी पुरुषले सबै भौतिक पदार्थलाई आत्मस्वरुप देख्छ, त्यसरी एकत्वदर्शन गर्ने विव्दान् पुरुषलाई के मोह र के शोक हुनसक्ला? किनभने अज्ञानका कारण नै मानिसमा शोक, भय, मोह आदि हुने गर्छ र आत्मज्ञानी पुरुषलाई शोक वा मोह हुनै सक्दैन ।

(यो लेखको अंग्रेजी संस्करण द नेपाल विक्लीमा हेर्न सकिन्छ)

Advertisement

Advertisement